अमेरिकी डलर देखाई ठगी गर्ने हस्त बहादुर तामाङ पक्राउ

Hollywood Khabar January 13,2024 Comments

नेपाल प्रहरी काठमाडौं, अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ निगाले घर भई काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङ बस्ने ४३ वर्षीय हस्त बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले कीर्तिपुर नगरपालिका-६ चोभार जलबिनायक मन्दिर परिसरमा पुस ९ गते ललितपुर घर भएका ३६ वर्षीय पुरूषलाई ८ हजार अमेरिकी डलर भेटाएको र नेपाली रूपैयासँग साट्ने भए नगद ५ लाख रूपैयाँ दिनुस् भन्दै ५ लाख रूपैयाँ लिई पीडितलाई ५० दरको अमेरिकी डलर १ थान दिई अन्य डलर रूमालभित्र छ भन्दै नेपाली २० दरको २ सय ४० वटा नोटहरू रातो रूमालमा पोका बनाई दिई ठगी गरी फरार भएको खुल्न आएको छ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले तामाङको खोजी गर्ने क्रममा काठमाडौं दक्षिणकाली नगरपालिका-५ नारायणथानबाट फेला पारी पक्राउ गरेको हो। उनी उपर ठगी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालत बबरमहलबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको छ ।