भेरोले डामेका एनआरएनका डाम्नाहरु-भाग १

Hollywood Khabar August 01,2023 Comments

कृष्ण के सी अमेरिका, अगष्ट १, २०२३ 

मेरो बालापनमा गएर सम्झंदा डाम्ना भन्ने शब्द दैनिक जसो सुनेको शब्द हो। ललितपुरको स्थानिय भाषामा पशुहरुले दुख दिए, गाइ-भैंसीले दुध दिएन, गोरु मेलो लागेन, पशुले घाँस, पराल, कुँडो खाएन भने यस्ता बेहोरा देखाउने पशुहरुलाई गाली गर्ने शब्द हो डाम्नो। हाम्रो ललितपुरको काँठे भाषामा डाम्नो भनेको पशुमा पनि निच तहको पशुलाई गाली गर्ने शब्द हो।

त्यसैगरी लेकतिरका नेपालीहरुले गोठ/खर्कमा पशुहरुलाइ बाटो लगाउन बोल्ने भाषा छ। मलाइ ठ्याक्कै त्यो शब्दको उच्चारण थाहा छैन। तर एक-दुइ पटक सुनेको चाहिँ छु। त्यो शब्द मलाइ यहाँ आवश्यक परेको थियो, पाइएन। त्यसैगरी पहाड र तराइ भेगमा गाडा तान्ने र जोत्ने गोरुलाइ बयल भनिदो रहेछ। काठमाण्डौ उपत्यकाका गल्लिमा घर-बिहिन रहेका कुकुरहरुलाइ भुस्याहा कुकुर भनिन्छ। काठमाण्डौ उपत्यकाका नेवार समुदाय, बिशेष गरी ज्यापु समुदायले खेतमा बाली खान आउने चरा, जनावर इत्यादिलाइ तर्साउन राख्ने पुत्लालाइ बुख्याँचा भन्छन।

गैरआवासीय नेपाली संघ-एनआरएनएलाइ एनआरएनहरुको मुख्य मुद्धा सुल्ट्याउने नबनाएर निजि स्वार्थमा रत्यौलीको मैदान बनाउने डा उपेन्द्र महतो, जिबा लामिछानेहरुको गुटले हरेक पटक एक न एक तिक्डम निकाल्छन। रत्यौलीको भजन गाउन भजन मण्डली बनाउँछन्। चलन अनुसार एउटा व्यक्तिलाइ भाले महरा बनाउँछन्। एउटालाइ जोकर बनाउँछन्, अर्कोलाइ हकर बनाउँछन्, बाँकी एनआरएनहरुलाइ नोकर बनाउँछन् अनि अर्को पक्षलाइ दाम्लो लगाएर डाम्छन।

हरेक पटक उनीहरुले निजि स्वार्थको लागि डाम्नाको खोजि गर्छन, खर्कको भेडी जस्तै लाइनमा चराउँछन्, बयललाइ जस्तो जोत्छन। बाँकी केहीलाई भुस्याहा कुकुर जति पनि गन्दैनन। कसैले केहि भने बुख्याँचा देखाएर तर्साउँछन्। कसैलाई भरिया बनाएर नाम्लोले थाप्लो तालु हुनेजेल पुरिदिन्छन। कसैलाई दाम्लोले बाँधेर डाम्नो बनाउँछन्।

यो पटक उनीहरुले स्मार्ट एप र भेरोको नाममा विश्वभरि नै आतंक मच्चाए। कतिलाई अघोरी बनाए त कतिलाई घोरी बनाए। कतिलाई रोगी बनाए अनि कतिलाई भोगी बनाए। फेरी पनि बचेका बिचराहरुलाइ भेरोले डामेर एनआरएनका डाम्ना बनाए। कठै बिचरा भेरोले डामेका एनआरएनका डाम्नाहरु !