फोटो तथा समाचार नेपाल प्रहरी साइटबाट

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार

Hollywood Khabar July 07,2023 Comments

नेपाल प्रहरी काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ। नेपाल प्रहरीको आगामी २ वर्षका लागि ‘नेपाल प्रहरी कार्ययोजना-२०८०’, चालु आर्थिक वर्षको गत ३ महिनाका मुख्य उपलब्धीहरू लगायत विविध विषयमा अन्तरक्रिया सहितको भेटघाट कार्यक्रममा उहाँले विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको हो ।  

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले गृहमन्त्रालयबाट प्राप्त निर्देशन अनुरूप संगठनको सुदृढिकरणका लागि उपयुक्त वातावरण सिर्जना गरी अगाडि बढ्ने चर्चा गर्नुभयो । साथै उहाँले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै प्रहरी संगठनलाई थप सुदृढ बनाउँदै छवि सुधार गर्नका लागि सञ्चारकर्मीसँग समेत समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । संगठनका चुनौतिहरूको सामना गर्न प्रहरी संगठन गम्भीरतापूर्वक योजना बनाई कार्यान्वयन गर्दै जाने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवर, वरिष्ठ प्रहरी अधिकृतहरू र उपस्थित सञ्चारकर्मीहरूबीच उक्त कार्ययोजना कार्यान्वयनका साथै अन्य समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

उक्त अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले चालु आर्थिक वर्षको त्रैमासिक तुलनात्मक अपराध तथ्याङ्क प्रस्तुत गर्दै राष्ट्रिय स्तरमा चर्चित उल्लेख्य अपराध अनुसन्धान, अवैध हातहतियार बरामद, नष्ट तथा मानिस पक्राउ, सवारी दुर्घटना, विपद् व्यवस्थापन, नेपाल प्रहरीबाट भएका नयाँ कार्यहरू, अन्तर्राष्ट्रिय प्रहरी समन्वय लगायतका विषयमा जानकारी दिनुभयो । उक्त विषयहरूमा सञ्चारकर्मीहरूद्वारा राखिएका जिज्ञासाहरूको उहाँले निरूपण  समेत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसीले नेपाल प्रहरी कार्ययोजना-२०८० को संक्षिप्त प्रस्तुतीकरण गर्दै कार्ययोजनाको परिचय, उद्देश्य, मुख्य लक्ष्यहरू, कार्य योजना क्रियाकलापहरूको समष्टिगत विश्‍लेषणात्मक प्रगति विवरण र कार्ययोजनाको बेन्चमार्क गतिविधिहरूका बारेमा जानकारी दिनुभयो । साथै उहाँले नेपाल प्रहरी कार्ययोजना-२०७९ को प्रगति समीक्षा समेत गर्नुभयो ।  

प्रचलित कानुनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति-सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यवसायिक सुदृढिकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने कार्ययोजनाको उद्देश्य रहेको छ । कार्ययोजनामा १३ वटा मुख्य लक्ष्य, ४० वटा लक्ष्य अनुरूपको कार्यगत उद्देश्य र १ सय ८३ वटा क्रियाकलाप सङ्ख्या रहेका छन् । नेपाल प्रहरीको आन्तरिक सुदृढिकरण योजनातर्फ ५ वटा र नागरिक केन्द्रित प्रहरी सेवातर्फ ४ वटा गरी प्राथमिकताको आधारमा जम्मा ९ वटा वेन्चमार्क गतिविधि निर्धारण गरिएको छ ।

प्रहरी कर्मचारीको संघीय संरचना अनुरुप समायोजन गर्ने लगायतका १३ वटा मुख्य लक्ष्यहरू रहेको उक्त कार्ययोजनामा नेपाल सरकारको न्यूनतम साझा कार्यक्रमहरू, आ.व. २०८०/८१ को स्वीकृत नीति कार्यक्रम, गृह प्रशासन सुधार योजना २०७८, गृह मन्त्रालयको वर्तमान प्राथमिकताका क्षेत्रहरू, नेपाल प्रहरीको रणनीतिक योजना, नेपाल प्रहरीद्वारा कार्यान्वयन गरिएका विगतका कार्ययोजनाहरूको अध्ययनको साथै नेपाल प्रहरीको प्राथमिकतागत क्षेत्रहरूको पहिचान, वर्तमान समस्या तथा चुनौतीहरू दृष्टिगत गर्दै कार्ययोजनाका गतिविधिहरू निर्धारण गरिएका छन् ।

नेपाल प्रहरीले गर्दै आईरहेको कार्यलाई योजनावद्ध एवं व्यवस्थित ढङ्गले सम्पादन गर्न आगामी दुई आर्थिक वर्षका लागि तयार गरिएको नेपाल प्रहरी कार्ययोजना-२०८० आगामी साउन १ गतेबाट विधिवत रूपमा कार्यान्वयनको चरणमा जानेछ । छलफल तथा प्रस्तुतीकरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको साथै विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।