मुख्य मन्त्री महेन्द्र बहादुर शाही

तीन तहका सरकारबीच द्वन्द्व होइन, सहकार्य जरुरी:मुख्यमन्त्री शाही

Hollywood Khabar February 09,2019 Comments

२७  माघ,सुर्खेत।कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन तहका सरकारहरुबीच द्वन्द्व नभई आपसी समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ।गाउँपालिका राष्ट्रिय महासङ्घ, कर्णाली प्रदेशको प्रथम अधिवेशनको शनिबार वीरेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आपसी सहकार्य हुननसके सङ्घीयता संस्थागत हुन नसक्ने बताउनुभएको हो । 

संविधानको मूल ‘स्प्रिड’ नै तीन तहका सरकारहरुबीच समन्वय र सहकारिता रहेको भन्दै उहाँले एक–अर्काको अधिकार खोसेर गन्तव्यमा पुग्न नसकिने बताउनुभयो।सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा भइरहेका केही अन्योल र अस्पष्टतालाई अनावश्यक रुपमा बुझ्न नहुने उहाँको भनाइ थियो।“हामी प्रारम्भिक चरणमा छौँ, वित्तीय र प्रशासनिक पुनः संरचनामा हुन बाँकी नै छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा सिक्दै अघि बढ्ने हो, द्वन्द्वसिर्जना गरेर व्यवस्था मजबुत हुँदैन् ।” 

मुख्यमन्त्री शाहीले तीन तहका सरकारबीच पर्याप्त संवाद र सहकार्यबिना राष्ट्रले सङ्कल्प गरेको ‘सुखी नेपाली समृद्ध नेपाल’को नाराले सार्थकता नपाउने विचार व्यक्त गर्नुभयो।यद्यपि, सहकार्य गर्दा एक–अर्काको सह–अस्तित्वमा ठेस पुर्याउन नहुने बताउनुभयो।उहाँले सङ्घीयता विरोधीले भ्रम सिर्जना गर्ने अनेक प्रयत्न गरिरहेकाले सजग हुन आग्रह गर्नुभयो ।