-सोनी शर्मा

राधामाथि जघन्य अपराध गर्नेलाई कारवाही गर्ने हिम्मत छ सरकार ?

Hollywood Khabar March 09,2018 Comments

मार्च आठमा अन्तराष्ट्रिय महिला दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश  दिंदै पछौटेपन,अन्धविश्वास, कुरिती र त्यसबाट सामाजिक वा कानुनी रुपबाट महिलाले भोग्नु परेका पिडा र भेदभाव हटाउन संविधान, विभिन्न अन्तराष्ट्रिय महासन्धिहरुको सरकारले पालना र कार्यन्वयन गर्ने बताएका थिए।त्यहि दिन बोक्सीको आरोपमा कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा १८ वर्षकी राधा चौधरी मरणासन्न हुने गरि कुटिइन्।राधा कुटिएको भिडियो सामाजिक संजाल र विभिन्न समाचार माध्यममा भाइरल भएको छ।घोडाघडी नगरपालिका, वडा ५, देउकलियामा सानो छाप्रोमा सुस्त मनस्थितिका दाइ एक बहिनी र भाइ एक भाइको साथमा बाबाआमा संगै बस्दै आएकी राधा चौधरी गाउँकै राष्ट्रिय उमाविमा कक्षा ११ मा राजनीतिशास्त्र पढ्ने छात्रा हुन्।

बिहीबार नारी दिवसका दिन बिहान गोठमा गोबर फालेर घर फर्कन खोग्दा आफ्नै स्कुलमा पढ्ने साथीहरुले राधालाई बोक्सी होस् भन्दै लछारपछार गरि चुल्ठोमा तानेर घिसार्दै झाक्री रामबहादुर चौधरीको घरमा पुर्याए।राधाका साथिहरुले साथीको नाता भुलेर गाउँको अपराधी झाँक्रीलाइ सुम्पेर साथीलाई घात मात्र होइन जघन्य अपराधमा सामेल भए।शिवभक्तको नाममा कलङ्क धामीले बोक्सी ठीक पार्छु भन्दै राधालाई आगनमा मरणासन्न हुनेगरि कुटपिटगर्न थालेपछि रामबहादुरबाट धामी विद्या सिकिरहेकि पार्वती पनि राधामाथि जाइ लागिन्।करिव तिन घण्टा राधालाई बोक्सी,अरुका बच्चा खाएको,अरुका बाआमा खाएको भन्दै कुटेर धामी तथा धामिकी शिष्य पार्वातिले पनी जघन्य अपराध गरिन्। राधा मरणासन्न हुनेगरि कुटी रहंदा वरीपरि घेरो हालेर तमासा हेर्ने रमिते हाँसीहाँसी राधा कुटिएको मजा लिनेको संख्या उल्लेख्य थियो।यौटी किशोरीले आफु निर्दोष छु भन्दै जीवनको भिख मागेको हेरर जनप्रतिनिधि संगै गाउले पनि बेस्सरी रमाए।अरुको त कुरै छोडौं जनप्रतिनिधिले समेत तमासेको भिडमा रमाइलो मानिमानि राधा कुटिएको दृश्य आनन्दले हेरिरहे।राधाले आफु बोक्सी नभएको,कुनै पाप नगरेको र गरिबकी विद्यार्थी हुँ मलाई बचाउनुहोस् भनेर प्राणको भिख माग्दा दर्शक बनेको भिडले ताली पिटेर खुसीले हुटिङ गरिरहेको दृश्यले हरेक मानिसको मन छोएको छ तर ति दर्शक बनेका सयौंको भिडले राधाको पीडालाई मनोरन्जनको माध्यम बनाए।राधाकै स्कुलका शिक्षक त्यहाका मेयरले समेत राधाले जीवनको भिख माग्दा तालि पिटे। त्यसैले राधा कुटिएको हेर्ने तालि पिट्ने पनि अपराधिनै हुन् ।

राधा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म चोट,शारीरिक एवं मानशिक पिडासंग जुधी रहिन्।१बजेतिर गाउँका दुई–तीनजना युवाले बालिकालाई कुटपिट नगर भन्दा झाक्रीले त्रिशूल  घोचेर मारिदिन्छु भनेपछि वादविवाद उत्पन्न हुँदाराधाका भाइले राधालाई अस्पताल लगेपछि राधाले पुनर्जन्म पाइन्।प्रहरीमा जाहेरी दिन जाँदा झाँक्री रामबहादुरले म शिवभक्त हुँ, मैले जे पनि गर्न सक्छु भनेपछि प्रहरीले उल्टै अपराधि धामीको खुट्टा ढोग्दै जाहेरी नलिएर राधालाई प्रहरीकै अगाडि फुकेको चामल खुवाउन लगाउने त्यहाँ ड्युटीमा रहेका बर्दिधारी प्रहरी पनि अपराधिनै हुन्।राधाको पिडामा रमाउँदै धामीको जयजयकार गर्नेक तमासे अपराधीको भिडमा सेतो स्कोरपियो गाडीमा जनप्रतिनिधि मेयर ममताप्रसादचौधरी आएर राधाको पिडामा रमिते बने मेयर हुनु पुर्व राधाकै स्कुलका शिक्षक रहेका मेयर  चौधरीको मनमा ममता नभएर मेयर रुपी आवरणमा एक अपराधी भएको प्रस्ट हुन्छ।घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी र वडाध्यक्ष प्रेम रोकायाको रोहवरमा  रोहवरमा झाँक्रीलाई औषधि खर्च भन्दै ३७ सय रुपैयाँमा छोडेर मानवता र न्यायको खिल्ली उडाएका छन्।राधाको घटना पछिल्लो जस्दोबल्दो ताजा घटना हो। 

नेपालमा कहिले बोक्सीको नाउँमा,कहिले छुवाछुतको नाउँमा त कहिले दाइजोको नाउँमा त कहिले बलात्कार जस्तो जघन्य अपराधको शिकार हुने धेरै नारीहरु छन्।अपराधीलाई सजाय दिन कानून नभएको पनि होइन  कार्यन्वयन पक्ष निक्कै फितलो छ।धेरै जसो जघन्य अपराधका घटनामा राजनीतिक ढाकछोपले अदालत सम्म पुग्न पाउदैन।राधाको संदर्भमा पनि प्रहरी र जनप्रतिनिधिले समेत अपराधलाई ढाक छोप गरेको पाइयो।नेपालको कानूनले स्थानीय तहका जनप्रतिनिधिलाई निलम्बनको कारवाही गर्ने स्पष्ट प्रावधान राखेको छैन तर पनि जघन्य अपराधमा मिलेमतो गर्ने जनाप्रतिनिधि नै भएपनि उन्मुक्ति दिन मिल्दैन कानूनको नजरमा सबै अपराधि समान हुन् कानूनभन्दा माथि कोही पनि छैन र हुँदैन पनि ।

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन् ।एमालेको विधानको धारा ४९ मा कुनै नैतिक पतन देखिने फौजदारी अपराध गरेमा वा छुवाछुत वा जातीय भेदभाद वा लैंगिक हिंसाजन्य क्रियाकलाप गर्ने कार्यकर्तालाई स्पष्टीकरण सोध्ने र निष्काशनसम्मको अनुशासनको कारवाही गरिने उल्लेख छ।अन्तरास्ट्रिय महिला दिवसका दिन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका प्रतिबद्दता पुरा गर्लान् त ?अव ओलीले अपराधको मतियार मेयर ममताप्रसाद चौधरीलाइ ममतापुर्वक एमाले तर्फका जनप्रतिनिधि भनेर उन्मुक्ति देलान कि कानूनको कठाघरामा उभ्याउलान् ?अनि ति दर्शक बनेका राक्षसी प्रवृत्तिका तमासे, पातकी अपाराधि झाक्री,झाक्रिकी शिष्य, झाक्रीको खुट्टामा लम्पसार पर्ने बर्दिधारी प्रहरी,वडाध्यक्ष यी सबैलाई पात़ा कसेर कानूनको कठाघरमा ल्याएर सजायँ दिनु पर्छ।होइन भने खोक्रा भाषण र अपराध लुकाउने जो कोहीलाइ सजायँ दिन जनता जुट्नु पर्छ। 

नेपालले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव उन्मूलन गर्ने महासन्धिमा हस्ताक्षार गरेको छ ।सरकारले हालसम्म आफूले सो महासन्धि कार्यान्वयन गर्न गरेका कामका बारेमा राष्ट्रसंघसमक्ष ६ वटा प्रतिवेदन प्रस्तुत गरिसकेको अवस्थामा राधा जस्ता नारीहरु कुरितिजन्य हिँसाको शिकार हुने क्रमबढ्दै जाँदा राज्यले अन्तराष्ट्रिय सन्धि महासन्धिमा हस्ताक्षर गर्ने तर त्यसलाई कार्यन्वयनको पक्ष फितलो देखिएको छ।प्रधानमन्त्रि ओली लाइ मेरो  एउटै प्रश्न  लगातार ६ घन्टासम्म कुटिएकी राधाको आर्तनादमा रमाउने जघन्य अपराधि र संलग्न मतियारलाइ कारवाही गर्ने हिम्मत छ ?