-अन्तर्राष्ट्रिय महिला दिवस, २०२१ को शुभकामना सन्देश

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्षमा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष थापाको शुभकामना सन्देश

Hollywood Khabar March 04,2021 Comments

१११ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा मातृभूमि नेपाल सहित विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

महिलाहरूको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानको रूपमा “महिलाको सुरक्षा सम्मान र रोजगार : समृद्ध नेपालको आधार” भन्ने राष्ट्रिय लक्ष्य र “नेतृत्वमा महिलाः कोभिड १९ को दुनियाँमा समान भविष्यको अधिग्रहण” भन्ने अन्तर्राष्ट्रिय लक्ष्यका साथ १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ।

कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेको पछिल्लो सन्दर्भमा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै लैंगिक समानताको स्थापनाका लागि हातेमालो गर्नु हामी सबैको साझा दायित्व हो । अझ, कोभिड १९ को महामारीपछि नेपाल मात्रै नभई विश्वभर बढीरहेका महिला हिंसा तथा उत्पीडनका कारण चुनौती थप बढेको छ र सो चुनौतीलाई सामना गर्न हरेक तह र तप्काबाट हिंसाविरुद्धको आवाज बुलन्द बनाउनु जरुरी देखिएको छ ।

नेपाली समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादती, छाउपडीजस्ता कूरीति, यौन दुव्यर्वहार, बलात्कार र हिंसाका घटनाले महिलाको सम्मान गर्ने हाम्रो संस्कृति नै छायामा परिसकेको छ । अर्कोतर्फ वैदेशिक रोजगारीमा जान बाध्य महिला दिदीबहिनीको अवस्था उत्तिकै चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा विभेद र कूरीतिसहित सबै प्रकारका बाध्यताको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्न सक्नुपर्दछ । हिंसामुक्त, समृद्ध र न्यायपूर्ण समाजको निर्माणका लागि महिलाहरूको समान अग्रसरता र नेतृत्वदायी भूमिकासहित सम्पूर्ण महिलाले आत्मसम्मानको अनुभूति हुने वातावरण निर्माण गरिनु पर्दछ ।

विशेषत; गैरआवासीय नेपाली संघ अन्तर्गतको महिला तथा युवा विभाग तथा महिला फोरमले नेपालसहित विदेशमा रहेका नेपाली दिदीबिहनीको हक हित र उनीहरुको सशक्तिकरणका लागि सदैव पैरवी गर्दै आएको छ। पछिल्लो कोरोना कहरका कारण समस्यामा परेका, रोजगारी गुमाएका र गर्भवती, सुत्केरी अवस्थामा अलपत्र परेका सयौँ नेपाली दिदीबहिनीलाई उद्धार, राहत र सहयोगका लागि फोरमले अहम भूमिका निर्वाह गर्दै आएको छ । हाल प्रस्तावित विधानमा पनि संघको पदाधिकारी तहमा महिलाहरुको संख्यामा बृद्धी गरी महिलाहरुको योग्यतालाई उच्च मुल्यांकन गरिएको छ ।

नेपालको संविधानले नेपाली नागरिकता आमाको नामबाट लिन सकिने प्रावधान राखिएता पनि हाल सम्म पनि त्यो व्यवाहारमा लागु नभएको देखिन्छ। एकल नेपाली महिलाका बच्चाहरु नेपालको नागरिकता लिनबाट बंचीत रहेका छन्। त्यसरी नै पैतृक सम्पत्तिमा पनि महिलाको समान अधिकार हुनु पर्ने हाम्रो जोड रहेको छ। माथीका यी विषयहरु व्यवहारमा लागु गर्न नेपाल सरकारले पहल गर्नु पर्ने आवश्यक देखिन्छ। यसका लागि संघको महिला तथा युवा विभाग तथा महिला फोरमले नेपाल सरकारका साथै सरोकारवाला निकायहरुसंग पैरवी गरिरहेको छ ।

नेपालमा संविधानले लैंगिक समानताको प्रत्याभूति गर्नका निम्ति महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको छ तर समानता कायम गर्ने र न्यायमा पहुँच पुर्याउने जस्ता विषयहरु महिलाको पहुँच कायम गर्न सकिएको छैन।यी विषयमा ठोस् उपलब्धि हासिल गर्न नीति, संरचना र कार्ययोजनाको बृहत परिमार्जन आवश्यक भइसकेको छ। यस विषयमा महिला विभाग तथा फोरमले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

नेपालमा महिलाको कूल साक्षरता दरमा वृद्धि तथा उनीहरुको आर्थिक सशक्तीकरण सहित पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्था र आत्मसम्मान सहितको रोजगार र समान अवसरले मात्रै समृद्ध नेपालको सुन्दर सपना पूरा हुन्छ ।

महिला र पुरुषबीच सारभूत समानता कायम गर्न नीतिगत, संस्थागत तथा कार्यक्रमगत व्यवस्था हँदाहुँदै पनि समाजमा कुनै न कुनै परिमाणमा पितृसतात्मक सोच कायमै रहनु वास्तवमै दुखद् हो। महिलालाई विकासका सबै चरणमा सारभूत सहभागिता गराउन सरकारले ठोस् नीति ल्याउनु जरुरी छ । कागजमा सिमित होइन व्यवहारमा पनि महिलाप्रति समान दृष्टिकोण राख्नु आवश्यक छ ।

लैंगिक हिंसा मात्रै होइन, पछिल्लो समय बढीरहेको यौनजन्य हिंसा, बलात्कार र बलात्कारपछि हत्याका घटना र घटनाका पिडकले पाउने उन्मुक्तिले महिलाको आत्मसम्मानमा मात्रै ठेस लागेको होइन समग्र मुलुकको छवि नै धमिलिँदै गएको छ । यस्तो अवस्थामा परिवर्तन गर्न आधा आकाश र आधा धर्ती ओगट्ने महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध नेपाल परिकल्पना असम्भव छ ।

तसर्थ पनि राज्यका सबै तह तथा संरचनाहरूमा लैङ्गिक मूलप्रवाहीकरण गरी लैङ्गिक उत्तरदायी शासन पद्धतिलाई संस्थागत गर्न आवश्यक छ । महिला दिवस शहर केन्द्रित हुँदा ग्रामिण भेगमा महिला हिंसा बढेको तीतो सत्य रहेकोले पनि अब गाउँ गाँउमा सशक्तिकरण र सचेतनाका कार्यक्रम ल्याउनु जरुरी छ । जसका लागि संघको महिला तथा युवा विभाग तथा महिला फोरम तत्पर छ।

अन्तमा, यो दिवसले लैंगिक समानतालाई आत्मसात गर्दै सबै प्रकारका हिंसाको अन्त्य र सशक्तिकरण सहित महिलालाई मूलधारमा ल्याउन प्रेरित गरोस् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहनुछु ।

धन्यवाद,

रविना थापा

उपाध्यक्ष तथा प्रमुख महिला तथा युवा विभाग

गैरआवासीय नेपाली संघ

मार्च ५, २०२१