-नेपाली सेना

सेनाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गर्यो 

Hollywood Khabar July 08,2019 Comments

२५असार,काठमाडौं।नेपाली सेनाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको छ।अन्य मुलुकहरु सरह नेपालको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति तथा रणनीतिहरु निर्माण गरी सहज कार्यान्वयनको सुनिश्चितता गर्न राज्यलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले  जंगी अड्डामा आवश्यक जनशक्तिसहित "राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय" स्थापना भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।

नेपाल सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक वर्ष २०७६/७७ को बजेटमा समेत राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय स्थापना गर्ने विषय समावेश गरिएको छ ।विश्वका विभिन्न राष्ट्रहरुले आफ्नो राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको सुदृढिकरणका लागि अनुसन्धान र अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय तथा राष्ट्रिय युद्ध महाविश्वविद्यालय जस्ता उच्च प्राज्ञिक संस्थाहरु स्थापना गर्ने गरेका छन्। सोही बमोजिम अमेरिका, चीन, बेलायत लगायत सार्क मुलुकहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश एवं अफ्रिकी मुलुकहरुमा समेत यस प्रकारका उच्च प्राज्ञिक संस्थाहरु स्थापना भई राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बद्ध विषयहरुमा उच्च शिक्षा प्रदान हुदै आईरहेको छ ।