नेपाल वितरक संघको साधारणसभा सम्पन्न

सरकारको ध्यानाकर्षण गर्दै नेपाल वितरक संघको साधारणसभा सम्पन्न

Hollywood Khabar November 30,2018 Comments

सन्तोष प्रणामी/काठमाडौँ

नेपाल वितरक संघले आफ्नो १८ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ। राजधानीमा प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले राज्यको तीन खम्बे अर्थनीतिलाई कार्यान्वयन गर्दै समृद्ध नेपाल निर्माण गर्न प्रतिबद्ध रहेको बताए। नीजि क्षेत्र संवृद्धिको मार्गमा जाने धावनमार्ग भएकाले यसलाई पन्छाएर, पेलेर, होच्याएर वा दबाएर संवृद्धि आउँछ भन्नु संविधानको बर्खिलाप मात्र हुने बताए। सरकारले गरिरहेका कामको विरोध गर्नुको कुनै औचित्य नरहेको प्रष्ट पार्दै मन्त्री ढुंगेलले नीजि क्षेत्रमा एक आर्काबीच एकता हुन नसक्नुले समस्या र चुनौती बढेकोतर्फ ध्यानाकर्षण गराएका हुन् ।

संघका अध्यक्ष दुर्गाराज श्रेष्ठले कार्यक्रममा उपस्थित सम्पूर्णमा स्वागत गर्दै २०५८ सालमा संघको विजारोपण गर्ने संस्थापक समूहका अध्यक्ष गोपाल रिजाल लगायत अन्य अग्रज व्यक्तिहरु कृष्ण घिमिरे, हेमन्तराज प्रसाईं, चांदसिंह शाही, भरतलाल जोशी र अन्य सम्पूर्णको सम्झना गरेका थिए।

आमरूपमा वितरकहरुलाई विचौलियाको संज्ञा दिईने गरेकोप्रति दुख व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले एउटा आयातकर्ता र उद्योगले प्रत्यक्ष रूपमा थोक तथा खुद्राहरुलाई सेवा दिन सम्भव नभएका कारण वितरकहरुको आवश्यकता पर्ने बताए। तसर्थ वितरकहरु विचौलिया भन्दा पनि यथार्थपरक सेवामुखी व्यवसायीहरु भएको उनको प्रश्टोक्ति थियो । हाल देशभरमा विभिन्न उत्पादनका गरी ५००० हाराहारीमा उत्पादकहरू रहेको र रोजगारी सिर्जनामा पनि आफूहरुको उल्लेखनीय योगदान रहेको अध्यक्ष श्रेष्ठले बताए।

त्यस्तै खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले वितरक संघ र खुद्रा व्यापार संघ एकअर्काका परिपुरक भएको बताउँदै हरेक क्रियाकलापमा सहकार्य आवश्यक रहेको मा जोड दिए। मदिराजन्य पदार्थका वितरक रहेका उनले मदिराजन्य वस्तुहरुको विक्रीवितरण गर्नका लागि निश्चित समय मात्र निर्धारण गरिएको हुँदा यसले व्यवसायीहरुलाई मार परेको बताए।

ललितपूर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले आफूहरुले अति संघर्षपूर्ण तवरबाट वितरक संघको स्थापना गरेको सम्झदै हाल वितरक व्यवसायीहरुबीच एकता र समन्वयको कमी हुनु अति चुनौतीपूर्ण रहेको बताए। आफू अहिले वितरक व्यवसायमा नरहे तापनि विगतमा २९ वर्षसम्म विविध उत्पादनहरुको वितरण र व्यवसाय गरेको सम्झना गर्दै उनले वितरकहरुका लागि थुप्रै नीतिगत समस्याहरु रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसैगरी अहिले उद्योग वाणिज्य संघबाट नेपाल चेम्बर्स अफ कमर्स छुट्टिएर गएको पक्ष दुखद रहेको र यो घटनाले व्यवसायिक क्षेत्रमा थप चुनौती देखा परेको उनको भनाई थियो।

नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले भने वितरकहरुबिना आफूहरु अगाडी बढ्न नसक्नेमा जोड दिए। वितरकका क्षेत्रमा रहेका वर्तमान समस्याहरु समाधान गर्नका निमित्त सरकारले विशेष रूपा ध्यान दिनुपर्नेमा जोड दिंदै उहाँले विवाद नगरी सबै क्षेत्र एकदिक्का भएर अघि बढ्नुपर्ने बताए।

यसैगरी उद्योग वाणिज्य संघका प्रदेश ३ अध्यक्ष दिनेश श्रेष्ठले हरेक व्यवसायलाई अगाडी बढाई सफल बनाउनको लागि वितरकहरुले खेलेको सकारात्मक भूमिकाको प्रशंशा गरेका थिए। राज्यले जस्तो नीति तर्जुमा गरे पनि त्यसलाई मान्नका लागि सबै तयार हुनैपर्ने भएकाले वितरकहरुको समस्या समाधान गर्ने सवालमा राज्यले विशेष ध्यान दिएर आवश्यक कानुनको तर्जुमा गर्न श्रेष्ठले सरकारको ध्यानाकर्षण गराए।