तस्बिर वेब

संस्थागत विद्यालय सबै सामुदायिकमा गाभिए

Hollywood Khabar April 17,2019 Comments

 ५ वैशाख काठमाण्डौं।महँगो शुल्क तिरेर संस्थागत विद्यालयमा लैजाने अभिभावकको लहर बढेका बेला पाल्पाको पूर्वखोला गाउँ पालिकामा सञ्चालित सबै संस्थागत विद्यालय सामुदायिकमा गाभिएका छन्।गाउँपालिकामा सञ्चालन हुँदै आएका पाँच संस्थागत विद्यालय यसै शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा गाभिएका हुन्।गाउँपालिकाले गत वर्ष गाउँ शिक्षा सुधार कार्यदल र प्राविधिक कार्यदल बनाएको थियो।उक्त कार्यदलले सरकारी र संस्थागत  विद्यालय अनुगमन गरी प्रतिवेदन तयार गरेर यसै शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा गाभेको हो । 

पूर्वखोला बोर्डिङ स्कूललाई उद्बुद्ध मावि रिङ्नेरहमा, जोनन इङलिस बोर्डिङ स्कूललाई गणपति मावि वीरकोटमा, सरस्वती बोर्डिङ स्कूललाई सरस्वती मावि जल्पामा, माउन्ट भ्यू बोर्डिङ स्कूललाई शम्भु मावि जल्पामा र चिराग बोर्डिङ स्कूललाई  मातृभूमि मावि देवीनगरमा गाभिएको गाउँपालिकाका शिक्षा शाखाप्रमुख मणि खनालले जानकारी दिनुभयो । 

गाउँपालिकाभित्र एकै प्रकारको शिक्षा प्रदान गर्ने उद्देश्यले संस्थागतलाई सामुदायिकमा गाभिएको उहाँले बताउनुभयो।यहाँका अभिभावक र विद्यार्थीलाई पनि नयाँ शैक्षिक सत्र शुरु भएपछि सामुदायिक र संस्थागत कुन विद्यालयमा भर्ना हुने भन्नेमा अन्योल हटेको छ। गाउँपालिका र सरोकारवालाको समन्वयमा संस्थागत विद्यालयलाई सामुदायिकमा गाभिएको हो।शैक्षिक गुणस्तर वृद्धि गरी गाउँपालिकाभित्रका सबै विद्यालयमा एकरुपताका साथ शिक्षा प्रदान गराउन कार्यविधि अगाडि सारिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।

“सामुदायिक विद्यालयमा गाभिएका सबै संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई व्यवस्थापन गर्नेछौँ,संस्थागत विद्यालयका सञ्चालकलाई जग्गा, फर्निचर र भवनको लागत खर्च पनि उपलब्ध गराउँछौँ,” उहाँले भन्नुभयो ।

आगामी पाँच वर्षभित्रमा सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने र शिक्षामा एकरुपता ल्याउने कार्ययोजनालाई गाउँपालिकाले अगाडि बढाएको छ।सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बर्षेनी कम संस्थागतमा धेरैको आकर्षण बढ्दै जान थालेपछि सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा प्रदान गरी संस्थागत विद्यालयलाई गाभिएको हो ।