-रेडक्रसको तदर्थ समिति:रेडक्रस कानुन उच्च प्राथमिकता

रेडक्रसको तदर्थ समितिले द्रुत गतिमा कार्य गर्दै:रेडक्रस कानुन उच्च प्राथमिकता

Hollywood Khabar May 26,2019 Comments

डा. विश्व केशर मास्केको अध्यक्षतामा गठित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ कार्यसमितिले रेडक्रस कानुन निर्माणलाई उच्च प्राथमिकता दिएको छ।

नेपाल सरकारले नेपाल रेडक्रसको पुरानो समिति विघटन गरी गत जेठ ६ गते १७ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो ।

गठनको एक हप्ता भित्रै कार्यसमितिको पहिलो वैठक मे २६, २०१९ आइतबार अवेरसम्म बसेको छ। बैठकले आगामी ३ महिनाभित्र रेडक्रस कानुनको मस्यौदा तयार गर्न नागरिक समाजका अगुवा डा गौरीशंकर लालदासको नेतृत्वमा ९ सदस्यीय समिति बनाउने निर्णय गरेको हो। समितिमा अरुण खनाल, लोकराज ढकाल, अशोक श्रेष्ठ, कृष्णहरि वाग्ले, कृष्णगोपाल लागेजू, जीवन राना, तीर्थराज वन्त र विष्णुहरि देवकोटा रहनुभएको छ।

नेपाल सरकार र सवै पक्षको विश्वास जिती नेपाल सरकारको तर्फबाट प्राप्त कार्य विवरण अनुसारका काम नै हाम्रा प्राथमिकता हुन् महामन्त्री कमल प्रसाद निरौलाले बताउनुभयो।

रिट निवेदन फिर्ता

तदर्थ समितिको पहिलो वैठकले विघठित पुरानो कार्यसमितिको समयमा नेपाल रेडक्रस सोसाइटीको तर्फबाट २०७६ वैशाख २४ सवोच्च अदालतमा दायर गरेको रिट निवेदनको औचित्य समाप्त भएको सन्देश दिएको छ । कल्याणकारी मानवीय तथा विपद् व्यवस्थापन समेतका क्षेत्रमा अग्रस्थानमा रही कामगर्नुपर्ने संस्थाको महाधिवेशन र निर्वाचन समयमा हुन नसकेको परिस्थितिमा संस्थाको छवि धुमिल हुन नदिन जिल्ला प्रशासन कार्यालय काठमाडौँले नयाँ तदर्थ समिति गठन गरेसँगै सर्वोच्च अदालतमा मुद्या फिर्ता गर्न महामन्त्रीलाई अख्तियार दिने निर्णय पश्चात आजै मुद्या फिर्ताको निवेदन दिइसकिएको छ ।

नयाँ समितिलाई ८ वटा मूल कार्यविवरण

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले नेपाल रेडक्रसको विधान, प्रचलितत कानुन र संस्थाको मर्यादा भित्र रही एक बर्ष भित्र ८ वटा मूल जिम्मेवारी दिएको छ । कार्यविवरणमा नवीकरण भएका सदस्यहरुको छानवीन तथा सदस्यता नविकरण, नेपाल रेडक्रसको केन्द्रीय कार्यसमिति लगायत विभिन्न तहको निर्वाचन, नेपाल रेडक्रसको सञ्चालन सम्बन्धी कानुनको मस्यौदाको ३ महिना भित्र तयारी, दैनिक कार्यसञ्चालन र नेपाल सरकार लगायत दातृ निकायहरुसँगको सम्बन्ध सुमधुर बनाउने कुराहरु उल्लेख भएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो ।

नयाँ तदर्थ कार्यसमितिको उपाध्यक्षमा बर्दियाका कृष्ण गौतम, महामन्त्रीमा झापाका कमलप्रसाद निरौला र कोषाध्यक्षमा धादिङका सीताराम कोइराला रहनुभएको छ । यसैगरी सदस्यहरूमा जाजरकोटका वीरबहादुर बस्नेत, झापाका लोकराज ढकाल, सिन्धुलीका अशोक श्रेष्ठ, पर्साका श्याम पोख्रेल, महोत्तरीका दीपक मिश्र, बाँकेका गोवद्र्धन सम्झना, उदयपुरका महेश्वरी राई, दैलेखका खेमराज केसी, तेहथुमका श्रीकृष्ण दाहाल, कास्कीका दीपेन्द्र ढकाल, तनहुँका अरूण खनाल, चितवनका तीर्थराज घिमिरे र कैलालीका जीवन राना रहनुभएको छ ।

पहिलो वैठकबाट रणनीति तय

नेपाल सरकारको तर्फबाट प्राप्त कार्यविवरण अनुसार गरिने कार्यलाई मुख्य प्राथमिकतामा राख्दै आगामी एक वर्ष भित्र बनेपामा रहेको राष्ट्रिय प्रशिक्षण केन्द्र, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, जानकी आँखा अस्पताल, सुर्खेत आँखा अस्पताल, जुनियर तथा युवा र लैँगिक विकासका क्षेत्रका कामहरुको स्तरोन्नती गर्ने पहिलो वैठकले निर्णय गरेको छ ।

सवैको मुहारमा मुस्कान छ : नवनियुक्त अध्यक्ष मास्के

नबनियुक्त नेरेसोका अध्यक्ष प्रा डा विश्वकेशर मास्केले संस्थाको केन्द्रीय तदर्थ कार्यसमिति गठन भएपश्चात नयाँ आशा र उमँग देखिएको बताउनु भएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) र अन्तर्राष्ट्रिय महासँघ (आइएफआरसी) का प्रतिनिधिहरु तथा उच्च पदस्थ कर्मचारीहरुलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो- रेडक्रसको छविलाई अझ उचाइमा पुर्याउन सवैपक्षको सहयोग पाउने कुरामा म विश्वस्त छु । रेडक्रसले अब अझ राम्रो काम गर्ने आशा सवै क्षेत्रमा आएकोले नै मुस्कान छाएको हो ।

दोस्रो वैठक तत्कालै वस्ने

केन्द्रीय समितिको दोस्रो वैठक आज सोमबार अपरान्ह देखि नै बोलाइएको छ । यस वैठकले कार्यविवरण अनुसारको काम गर्न सघाउने ठोस निर्णयहरु गर्नेछ ।