https://www.youtube.com/embed/Z3LgmrlEeek

ढकालको म्युजिक भिडियो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रतियोगितामा

Hollywood Khabar September 05,2018 Comments

लोकप्रिय गायक रामकृष्ण ढकालले गाएको "अचेल पाइलै पिच्छे" भन्ने गीत अमेरिका स्थित न्यूजर्सीमा आयोजना भइराखेको गोल्डेन डोर इन्टर नेसनल फिल्म फेस्टिवल अफ जर्सी सिटि नामक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा  चयन भएको छ ।

यो चयनले हाल अमेरिका क्यानडामा सांगीतिक भ्रमणमा रहेका रामकृष्ण ढकाललाई सांगीतिक यात्रामा अर्को खुशी थपिएको छ । यस प्रतियोगितामा रामकृष्णको उक्त गीतसँगै झन्नै १०० मुलुकका म्युजिक भिडियोहरु छानिएका छन् । नेपालबाट उक्त एकमात्र म्युजिक भिडियो चयनमा परेको हो ।

हालै साझा प्रकाशनबाट "चराको गीत" नामक चर्चित कविता संग्रह प्रकाशन गर्नुभएका चर्चित साहित्यकार कृसु क्षेत्रीको पुरानो गजललाई आधुनिक संगीतको स्वादमा तयार गरिएको यो गीत गायक तथा संगीतकार हिमाल सागरको रचनामा तयार भएको थियो भने उक्त म्युजिक भिडियोको निर्देशन युवा निर्देशक बिक्की पुलामी खडगले गर्नु भएको छ ।

मानवीय जीवनको सफलता असफलता आरोह अवरोहलाई उल्लेख गरिएको यो गीत सुगम संगीतका श्रोताहरुले निकै रुचाएको समेत पाइएको छ । आगामी २० सेप्टेम्बर देखि २३ सेप्टेम्बर सम्म चल्ने यो प्रतियोगितामा रामकृष्ण ढकालको गीत सम्मानित भएमा अन्तर्राष्ट्रिय सम्मान पाउने पहिलो नेपाली म्युजिक भिडियो समेत हुने छ ।

आफ्नो म्युजिक भिडियो चयन भएकोमा युवा निर्देशक बिक्की पुलामी खडगले हर्षित हुँदै आफूलाई अत्यन्त गर्वको अनुभूति भएको र यो भिडियो अन्तर्राष्ट्रिय सम्मानबाट पुरस्कृत हुने आशा समेत रहेको बताउनु भयो ।