https://www.youtube.com/embed/Ym1mpKhvs1E

मायालाई बद्नाम नगर-प्रतिक्षा गुरुङको पहिलो एल्बम

Hollywood Khabar April 13,2017 Comments

गायिका प्रतिक्षा गुरुङको स्वरबद्ध दुई गीतको म्युजिक भिडियो बजारमा आएको छ। गायिका गुरुङले आफ्नो एकल एल्बम प्रतिक्षामा समावेश ‛मायालाई बद्नाम नगर’ र ‛यो मन दुखाउन पाईदैन’ बोलको दुई गीतहरु बजारमा ल्याएकी हुन्। 

गायिका गुरुङको उक्त एल्बममा चर्चित गीतकार डा. कृष्णहरि बराल र दीप घतानीको शब्द रहेको छ । गीतकार बरालकै शब्दमा उनले आवाज दिएकी हुन्। उक्त दुवै गीतको म्युजिक भिडियो भने कमल राईले बनाएका हुन्। दुई साताअघि  गायिका गुरुङ्गले आफ्नो पहिलो एल्बम “प्रतिक्षा”को विमोचन गरेकी थिईन्। उनको एल्बममा ६ वटा गीतहरु समावेश गरिएको छ जसमा अहिले दुई वटा गीतहरुको म्युजिक भिडियो बजारमा आएको हो। यस एल्बममा समावेश गीतहरुमा संगीत गैरे सुरेशले दिएका छन्। 

मायालाई बद्नाम नगर बोलको गीतमा सुनिल गुरुङ र रिचा थापाले अभिनय गरेका छन् भने यो मन दुखाउन पाईदैन बोलको गीतमा जान्बी र सुशिलको अभिनय छ । गायन क्षेत्रमा नौ वर्ष देखि साधना गर्दै आउनुभएकी गुरुङको यो पहिलो एल्बम हो। 

गोरखामा जन्मिएकी गुरुङ पेशाले नर्स हुन् । नर्सिङ पेशामा आबद्ध गुरुङको मोह पछिल्लो समय गायनमा समेत देखिएको छ । नर्सिङ र गायन बाहेक उनको अर्को रुचिको क्षेत्र भनेको समाजसेवा पनि हो। कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई सहयोग गर्दै आएकी गायिका गुरुङले नविन सामुदायिक सेवा मार्फत प्रौढ शिक्षा कार्यक्रम समेत सञ्चालन गर्दै आएकी छिन्।