-प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता छैन, पद कै चिन्ता छ: पूर्व मन्त्री बिना मगर

प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता छैन, पद कै चिन्ता छ: पूर्व मन्त्री बिना मगर

Hollywood Khabar January 03,2021 Comments

कञ्चनपुर (बेलौरी), निवर्तमान खानेपानी मन्त्री बिना मगरले प्रधानमन्त्रीले पद लोलुपताकै कारण संसद विघटन गराएको बताएकी छन्।

नेपाल कम्युनिस्ट पार्टी बेलौरी नगर कमिटीद्वारा आयोजित नगर कमिटी भेलालाई सम्बोधन गर्दै निवर्तमान खानेपानी मन्त्री मगरले प्रधानमन्त्रीले जनताका लागि भन्दा पनि पदकै लागि संसद विघटन गराएको बताइन। प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता छैन। मुलुकको विकासको बारेमा उहाँलाई कत्ति पनि चिन्ता रहेनछ। मात्र उहाँलाई पदको चिन्ता रहेछ।

भेलालाई सम्बोधन गर्दै उनले भनिन; जनतामाथि कुठाराघात गर्दै प्रधानमन्त्रीले असंवैधानिक तवरले संसद विघटन गराउनुभयो। यस्तो तानाशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्नेछन्। प्रधानमन्त्री र उहाँका आसेपासेहरुको भविष्य अब धेरै लामो समय छैन।

मैले सुन्ने गरेको छु प्रधानमन्त्रीका नजिकका मान्छेहरुले संघीयता खारेज गर्नुप-यो भनेर वकालत गरिरहेका छन्। जनताको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिहरुलाई प्रधानमन्त्रीका मान्छेहरुले कुल्चने दुस्साहस गर्दैछन्। यस्तालाई जनताले चाँडै पराजित गर्ने छन्। प्रधानमन्त्रीले जनतालाई भ्रम छर्दै हिंडिरहनु भएको छ। उहाँ देशको प्रधानमन्त्री नभई एउटा कमेडियन पात्र मात्र होकि भन्ने भान दिलाई रहनुभएको छ। उहाँका गतिविधि जनताले हेरिरहेका छन्। अब धेरै दिन उहाँका भ्रम टिक्ने छैन, नेकपाको केन्द्रिय सदस्य समेत रहेकी मगरले भनिन।