-कुर्सी पाउने लोभ र कुर्सीबाट हट्ने डरले गुम्रिएको नेपाल देश

कुर्सी पाउने लोभ र कुर्सीबाट हट्ने डरले गुम्रिएको नेपाल देश

Hollywood Khabar July 01,2020 Comments

कृष्ण के सी/७/२/२०

केहि महिना पहिला अमेरिकामा पनि राष्ट्रपति बिरुद्ध महाभियोगको प्रस्ताव चलेको थियो। त्यो बिषय कानुनी प्रक्रिया हुँदै अन्त्य भयो। तर पनि देश नियमित रुपमा चलेको थियो कुनै पनि कुरा कसैले रोकेनन रोक्ने तागत पनि कोहि एक व्यक्तिको शक्तिमा छैन।

एउटा देशमा कसरी कुनै पनि नागरिक सत्ता या सर्वोच्च सत्तामा पुग्न सक्ने भन्ने निर्देशित ब्यबस्था हुन्छन। नेपालमा पनि त्यो ब्यबस्था छ। तर संसारमा नेपाल मात्रै एउटा देश हो जहाँ नियम, बिधान र बिधि एकातिर छन् र हुन्छन अनि नतिजा अर्कोतिरबाट आउँछ।

वर्तमान सरकार करिव दुइ तिहाइ मतका नजिक सत्तामा छ। अनि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले सत्ता संहालेको छ। सत्ता र पार्टीको नेतृत्व खड्ग प्रसाद शर्मा ओलीले गरेका छन्। अर्थतन्त्रको स्थिरता र बिकास, राष्ट्रियताको जगेर्ना, संकट ब्यबस्थापन, नागरिकको सामाजिक र आर्थिक उन्नति, सुरक्षा ब्यबस्था र सबै राज्य संयन्त्रको प्रमुख मापदण्ड जोडेर हेर्दा ओली नेतृत्वको सरकार असफल छ।

नेकपा त भद्रगोल नै भयो भनेर चालु पदाधिकारी बैठकमा दोश्रा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र अरु नेताहरु समेत बहुमतले बोलेका नै छन्। उनलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा मागेका छन्। यसबाट ओलीले आफू नेकपा अध्यक्ष र प्रधानमन्त्री दुवैबाट खुस्किने डर बढेपछि बिषय अन्यत्र मोड्न अर्को पार्टी दर्ताको नाटक रचे। त्यो पनि फेल भयो, बिषय अगाडि बढेको र आफू पार्टी र सरकारबाट बाहिरिने देखेर राष्ट्रियता र अन्य नाटक रचे जुन उनको पुरानो यन्त्र हो। संसदबाट आफू फालिने पक्का नै देखेपछि अतिबादी जस्तै संसद नै अन्त्य गर्न लगाए। यसमा सभामुख अग्नि सापकोटा र राष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको देखियो। भलै पार्टी पधाधिकारीबैठकले संसद चालु राख्ने सहमति गरेको थियो भनिन्छ।

अर्को तिर सत्ता र नेकपाको अध्यक्ष हुनको लागि मात्र प्रचण्डले बलबुता लगाएका छन्। प्रचण्ड आफैमा पनि असफल नेता हुन् त्यो प्रमाणित नै भएको छ। नेकपाको अध्यक्ष हुन यो अवस्थामा प्रचण्ड बाहेक अरु ब्यकित्लाई सजिलो छैन। देखिएका माधव नेपाल, झलनाथ खनाल पनि असफल प्रमाणित व्यक्ति नै हुन्। अनि नयाँ नेता नारायणकानी श्रेष्ठ, वामदेव गौतम, प्रदिप ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई लगायतले मौका पाउने अवस्था पटक्कै छैन।

यी केवल कुर्सी पाउने लोभ र कुर्सीबाट हट्ने डरले गरिएका पपंच र गतिबिधि हुन्। यसका लागि दुइतिहाइको दुहाइले नेकपाले सिंगो देश नै गुम्रहामा राखेको छ। नेता माधव नेपाल पनि आफू कसरी पुन: शक्तिमा पुग्ने भनेर जालो बुन्दै छन्। संचार तताउने र दुनियाँलाइ अब के हुन्छ भन्ने चासो लगाउने तर केहि पनि नहुने कुरा पक्का छ।