राजनीति र कुटनीतिका कुरा:अध्ययन, शुक्रनीति र फेसबुक कमेन्ट समेत

0
shares

by Krishna KC | Updated: 29 Aug 2019

426 views
-Krishna KC

कृष्ण के सी/अमेरिका/८/२९/१९

राजनीति भनेको के हो भनेर अगष्ट २८, २०१९ मा मैले आफ्नो फेसबुकमा एक वाक्यमा जवाफ दिन सबैलाई खुल्ला अनुरोध गरे। धेरै राम्रा बिचार पनि आए, कति त सोच्दै नसोचेका तर राम्रो ब्याख्या गर्ने शब्दहरु पनि आए। कतिले निरासा पोख्नु भयो। कतिले भने हाँसी-मजामा जवाफ दिनुभयो। कतिले सुने र जानेको कुरा पनि कस्तो अड्केर जवाफ दिन नै सोच्नु पर्यो, कस्तो अचम्मको कुरा राजनीति भनेको सधैं प्रयोग गरिने शब्द अनि कहिल्यै ब्याख्या र अर्थ सोचिएन, अब त पढ्नै पर्नेभयो भनेर कल र इनबक्स समेत गरे।

मोटामोटी रुपमा मेरो फेसबुकवालको कमेन्टमा पाइएको जवाफ- राजनीति भनेको, झुक्याउने, चातुर्याई, जालझेल, सेवा, पैसा, गुम्राहामा राख्नु, खुराफात, बेरोजगारले रोजगारी पाउने उध्योग, प्रधान नीति, जिम्मेवार नेतृत्वको लागि अभ्यास, भ्रष्ट्राचारको कम्पनि, गफ, झुट बोल्नु, हुनुपर्ने सेवा भएको ब्यापार, राज गर्न बनाइएको नीति, नीतिहरुको नियन्त्रक, नीतिबिहिन राज, अहं ब्रह्म स्वामी, सत्ता प्राप्तिको संघर्ष, सड्यन्त्र, नेपाली सन्दर्भमा जनताको ज्यान लिने, अर्थोपार्जन गर्ने समुह, दलाली, राज्यको लागि बनाएको नीति, जनतालाई शुसाशन दिन गरिने राज्यको आधार, राज्यका लागि नीति लागु गर्ने, राज्य चलाउने नीति, एक फोहोरी खेल, आफ्नो गल्ति लुकाएर अरुलाई दोष दिनु आदि इत्यादि जवाफ पाइयो।

पश्चिमी दर्शनका केहि लेखकले यसलाई फोहोरी खेल भनेका छन्। तर पूर्वीय दर्शनमा सबैभन्दा उत्तम नीति नै राजनीति भनिएको छ।

नेपालमा रहंदा संस्कृतका प्राध्यापक रहेका हाल न्यूयोर्क बस्ने आचार्य पिपल मणि सिग्देलले नीतिहरुमा पनि प्रधान नीतिलाइ राजनीति भनेका छन्।

भारतीय एक लेखकले जनताको सामाजिक र आर्थिक स्तर उकास्नुलाई राजनीति भनेका छन्।

अब प्रश्न उठ्छ, उसो भए आफूलाई राजनैतिक नेता भन्ने नेपालका राजनैतिक पार्टीका नेताहरुले जनताको सामाजिक र आर्थिक स्तर उकासेका छन् त ? राजनीतिकै कुरा गर्दा पूर्वीय दर्शनमा फर्कनुपर्छ। प्रबिधिमा पश्चिमी दर्शन अगाडी छ भने नीतिहरुमा पुर्बिय दर्शन अगाडी छ।

सृष्टिमा राम जस्तो नीतिवान र कृष्ण जस्तो कुटनीतिज्ञ कोहि पनि भएनन, हुन पनि सक्दैनन। किन कि राम र कृष्ण दुवै विष्णु भगवानका अवतार थिए। दुवैको अवतार धर्मको रक्षाको लागि भएको हो। रामले धर्मको सहारा लिए र कृष्णले कुटनीतिको। अनि यी दुवै तरिका चाहिँ दैन्त्य गुरु शुक्राचार्यको नीतिमा पाइन्छ। शुक्रनीति भन्ने पुस्तकका नेपाली अनुवादक तुलसी आचार्यले शुक्रनीति पुस्तकमा यस्तो बिचार दिएका छन्।

शुक्राचार्यले यी दुवै धर्मनीति र कुटनीतिलाइ पुर्ण रुपमा अवलंवन गरेकाले नै उनि राजनीतिमा सफल भएका हुन्। त्यसैले वारंबार उनका दैत्य शक्तिले स्वर्ग माथि पनि धावा बोल्न सकेका थिए। अनि उनले उदण्ड दैन्त्यहरुलाई पनि नियन्त्रणमा राख्न सके र उनीहरुका पनि गुरु हुन सके।

यसर्थ प्रा आचार्य पिपल मणि सिग्देलको कुराले यहाँनेर सहि अर्थ दिन्छ। राजनीति भनेको नीतिहरुको प्रधान हो। यसले राज्यका सबै नीतिहरुलाई नियन्त्रण गर्छ।

त्यसैले, अबको नयाँ परिवेशमा राजनीतिमा सफल हुनेले कुटनीति र धर्मनीति दुबैको गठजोडको रुपमा लिनु या गर्नुपर्छ। अर्थात, धर्मी व्यक्ति नैतिकवान हुन्छ अनि कुटनीतिले कसैको दुखाइ गर्दैनन् तर काम फत्य गर्छ। कुटनीति भनेको एनसथेसीय दिएर सर्जरी गरे जस्तै हो। पत्तै नपाइ समस्या समाधान गर्ने तर चिरेर ठूलो घाउ पनि पार्ने। नैतिकवान रुपमा, अरुलाई नदुखाइकन, अरुलाई दुख र पिडा नदिएर, कुटनैतिक रुपले दुनियाँलाइ नियन्त्रण गर्ने नीति नै राजनीतिमा सफलता मिल्छ। अनि त्यो दिगो रुपमा कालान्तर सम्म चलेको हुन्छ।

यहि कुरालाई भारतीय राजनेता महात्मा गान्धी र अन्य सफल व्यक्तिले पनि पालना गरेका छन्। त्यहि उदाहरण नेपाली काँग्रेसका नेता प्रदिप गिरीले कुनै टेलिभिजनमा कुराकानीको सन्दर्भमा अलिकति बताएका छन्। उनले राजनीतिमा नैतिकता हुनुपर्छ त भने तर आफै पनि धार्मिक व्यक्ति भएर पनि धार्मिक पाटो भने उठाएनन्।

नेका नेता प्रदिप गिरीका अनुसार, राजनीतिमा नैतिकता नभएकाले नै एकै पटक ह्वात्त आएका पुष्प कमल दाहाल-प्रचण्ड र उनको पार्टी बिलिन जस्तै भए। अर्थात उनले नैतिकताका साथ राजनीति गरेको भए लामो समय सम्म टिक्ने थिए, तर टिकेनन। उनले नेतृत्व गरेको त्यति ठूलो माओबादी पार्टी अन्तत सानो भएपछि लगेर एमालेमा बिलय गर्नपुगे।

अमेरिकी सन्दर्भमा सरकार चलाउन आवश्यक गतिबिधीको केन्द्रिय शक्ति नै राजनीति हो। राष्ट्रपति, कंग्रेस, केन्द्रिय र स्थानिय सरकारमा रहेर या त्यो स्थान पाउनका लागि नागरिकहरुको सेवा गर्नु राजनीति हो। अमेरिकी सन्दर्भमा राज्य र सरकार संचालनका नीतिहरुलाइ कार्यान्वयन गर्नु-गराउनु पनि राजनीति भनिएको छ।

नेपालमा आम नागरिकले बुझेको कुरा सत्ता प्राप्तिको लागि गरिने गतिबिधि हो भन्ने रहेछ। उनीहरुको बुझाइ र गराइमा राजनीतिमा निरन्तरता चाहिन्छ तर पढाइ र अन्य ज्ञान नभए पनि हुन्छ। अझै नेपाली कम्यूनिष्टहरुको भनाइमा बुर्जुवा शिक्षा नपढीकन सत्तामा पुग्नु, बिरोधीलाइ मार्नु या सखाप पार्नु राजनीति हो। आम नेपालीले बुझेको राजनीति भनेको मासु जेसुकैको भएपनि हलाल भने गरेकै हुनुपर्छ भन्ने हो।

अब राजनीतिको अर्थ के होला त ?

हाम्रो पूर्वीय दर्शनले सबैभन्दा उत्तम नीति नै राजनीति भनेको छ। मैले शुक्रनीति पढेपछि बुझेको कुरा चाँहि वर्तमान आम समाजको भन्दा फरक पाएँ। मेरो बुझाइमा राजनीति पूर्वार्धमा थिएन। समाजको बिकास हुने क्रममा मानबिय झुण्ड नियन्त्र र संचालन गर्न धार्मिक नीति बन्यो। बिस्तारै राज्यहरुको बिस्तार हुनथाले। अनि धर्मले ति सबैकुरा संभव भएन। त्यसपछि समाज र राज्य नियन्त्रण गर्न, बाहिरी शक्तिको सामना र सुरक्षाको लागि कुटनितिको प्रवेस भयो। तिनै धर्मनीति र कुटनीतिको योग नै राजनीति हुन पुग्यो।

सबैभन्दा पुरानो धर्म हिन्दुधर्म हो। त्यसैले हिन्दुधर्ममा राज्य संचालनको लागि धर्म, जन प्रशाशन, जन स्वास्थ्य र अर्थतन्त्रको लागि नीति तय गरियो, संबिधान बनाइयो। तिनै कुराहरु नै चारबेद ऋगबेद, सामबेद, यजुर्वेद र अथर्वबेद हुनपुगे। त्यो समय समाजलाइ राजनैतिक रुपमा चार भागमा बिभाजन गरियो। अर्थात चार मन्त्रालयमा विभाजन गरियो।

  • साहित्य, कला संस्कृति र धर्म- ऋगबेदको नीति अनुसार

  • जनप्रशान, समाज नियन्त्रण, दण्ड र पुरस्कार-सामबेदको नीति अनुसार

  • जनस्वास्थ्य यजुर्बेदको नीति अनुसार

  • र अर्थतन्त्र अथर्बबेदको नीति अनुसार तय गरियो।

संसार भरिका देशहरुको संबिधानको श्रोत पनि धर्म नै भएको पाइन्छ। त्यसैले गाइ, मयूर, वर-पिपल, राजा हाँस, स्त्रीबद अर्थात पोथीजातीको बद गर्न नहुने जस्ता कुराहरु नेपाली कानुनमा समेत जोडिएको छ। त्यसैगरी बिधि र धर्मले कारणबस ल्याएका सामाजिक कानुनमा पँधेरो, अग्नि, चुलो, अगेनो, स्त्री या नारिजातिलाइ नागेर-कुल्चेर जान नहुने जस्ता थुप्रै कुराहरू हिन्दुधर्ममा छन्, यिनीहरुको बेग्लै अर्थ र तर्क अनि स्थान छ।

राजनीतिमा निस्वार्थपानाको आवश्यकतापर्छ। अन्यथा यसको फल कि त प्राप्त हुँदैन कि भनेको भन्दा फरक कुरा प्राप्त हुन जान्छ। स्वार्थ राखेर राजनीति गरियो भने कि त संझौतामा पुगेर टुंगिनुपर्छ कि शक्ति बिखण्डन भएर या ज्यान गुमाएर पनि टुंगिन्छ। नेपालको माओबादी आन्दोलन, तराइ आन्दोलन, जातियबादी कुरा, सिके राउतको देश बिखण्डन प्रयास, रेशम चौधरीको काण्ड जस्ता कुराहरु यसका ज्वालंत उदाहरण हुन्।

राजनीतिमा सेवा जोडियो, नैतिकता जोडियो र निस्वार्थपना जोडियो भने त्यहाँ कुटनितिको पनि प्रयोग भएको हुन्छ। त्यस्तो सेवाबाट प्राप्त हुने कुरा दिगो अर्थात लामो समय सम्म राजनैतिक लाभको रुपमा आउँछ। यति मात्र होइन उनीहरुका सन्तानले पनि त्यसको नाफा अर्थात बिरासतको रुपमा भाग खान पाउँछन्।

हुनत अर्को पक्षलाइ स्वार्थ र आकांक्षाको प्रलोभन देखाएर उसलाई नियन्त्रमा लिनुलाइ कुटनीति भनिएको छ। कुटनीतिमा कसैको पनि नोक्सान हुँदैन, यसलाई विनविनको स्थितिमा ब्याख्या गरिन्छ। कुटनीतिमा सपोर्ट, सहयोग, लोभ, लालच, सुविधा, आफ्नो प्रभुत्व, करुणा, प्रेम इत्यादि देखाएर अर्को पक्षलाइ मनाउने गरिन्छ। जस्तो कि पाकिस्तानका प्रधानमन्त्री इमरानले भारतीय बायु सेनाका पाइलटलाइ फिर्ता पठाएर गरे। पूर्वीय दर्शनमा यसलाई साम, दाम, दण्ड र भेद भनिएको छ। राजनीतिमा सहि कुटनीतिको प्रयोगलाइ साँप पनि नमरोस लठ्ठी पनि नभाँचियोस भन्ने उखानको रुपमा ब्याख्या गर्न सकिन्छ।

अन्तमा, के नेपाली राजनीतिमा तपाइँ हुनुहुन्छ त ? तपाइँ आफू राजनीतिज्ञ हो त?