-न्यूयोर्कमा पहिलो पटक गाईजात्रा तथा हास्यव्यंग महोत्सव सम्पन्न

न्यूयोर्कमा पहिलो पटक गाईजात्रा तथा हास्यव्यंग महोत्सव सम्पन्न

Hollywood Khabar August 18,2019 Comments

विजय थापा/न्यूयोर्क

गत अगस्त १७ शनिबारका दिन बिश्वकै सम्राट राज्य अमेरिकाको न्युयोर्कमा पहिलो पटक आयोजना गरिएको गाईजात्रा तथा हास्यव्यंग महोत्सव ऐतिहासिक रुपमा सम्पन्न भएको छ।

अमेरिकाको न्यूयोर्क तथा छिमेकी राज्यमा रहेका कलाकारहरुद्वारा प्रस्तुत गरिएको उक्त महोत्सव नेपाली समुदायको खचाखच भिड रहेको थियो ।

पहिलो पटक र फरक शैलीको कार्यक्रम भएको कारण दर्शकहरुको उत्सुकता बढेको कारण कार्यक्रम हुनु भन्दा २ साता अघि नै टिकट बिक्री सकिएको थियो। तोकिएको समयमा शुरु हुने र तोकिएकै समयमा समापन गरिने अभियानको रुपमा आयोजना गरिएको गाईजात्रा महोत्सवको उक्त अभियान सफल रहेको, र कार्यक्रममा मनोरंजनको साथसाथै सचेतनामुलक प्रस्तुतिहरु रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा प्यारोडी गीतमा कलाकारहरु बिमल डांगी; न्हुच्छे डंगोल; अभय ढुंगेल; संगीता मुखिया छोचूँ; राम श्रेष्ठ; पूजा न्यौपाने; अर्जुन दाहाल; केशव दाहालको प्रस्तुति रहेको अद्वितीय रहेको थियो। योगेश डंगोल र राम पन्तको हास्य नृत्यले दर्शकहरुलाई थप मनोरंजन गराएको थियो ।

यसै गरि अमेरिकी प्रवासमा साना छोराछोरीलाई शिशुपालिका (बेबि सिटर)को भरमा छोडेर नेता बन्न हिड्ने आमाबाबुलाई ब्यंग्य गर्दै बालकलाकारहरु श्रीनीति रिजाल; सलज रिजाल; र अष्टिन आचार्यले रोचक शैलीमा र्याप नृत्य प्रस्तुत गर्दा दर्शकहरुले निकै स्वाद मानेका थिए ।

यस्तै गरि अर्को प्रस्तुतिमा संचारकर्मी सच्ची मैनाली र नुन चिनी पानी अमेरिकाका अर्जुन दाहालको पत्रकार र पत्रुकार बिचको फरक कुराकानीलाई दर्शकहरुले खुब रुचाएका थिए ।

यसै गरि बसन्त डान्स सेन्टर न्यूयोर्कका संचालक एवं नृत्य निर्देशक विजय नकर्मीले ससाना नानीहरुलाई समेटेर तयार गरेको “घिन्ताघिसी ट्याड०” नेवारी नृत्य निकै आकर्षक रहेको थियो । उक्त नृत्य भक्तपुरमा गाईजात्राको दिन सडकमा गाईजात्रा संगै प्रस्तुत गरिने प्रसिद्ध नृत्य हो ।

कार्यक्रमको अन्ततिर प्रस्तुत नदिया लिबाड० र संगीता उप्रेतीको प्रहसन “राज-नीति” ले दर्शकहरुलाई हसाउदा हसाउदै रुवाएको थियो भने उनिहरुको भावपूर्ण अभिनय एवं सम्बादले दर्शकहरुको शरिरमा काँडा उमारिदिएको थियो । दर्शकहरुले उक्त प्रहसनलाई खुब मन पराएकोले सामाजिक संजालमा यसै प्रहसन र अभिनयको चर्चा भै रहेको छ ।

टुटुल्को डटकमको परिकल्पना र आयोजनामा अमेरिकामा पहिलो पटक आयोजना भएको गाईजात्रा हास्यब्यंग्य महोत्सव अमेरिका २०१९ लाई समुदायको साथ सदभाव र समर्थन रहेको पाईयो ।

न्यूयोर्कको नर्दर्न ब्लुभार्ड स्थित क्विन्स पब्लिक लाईब्रेरीमा आयोजना गरिएको कार्यक्रम टुटुल्को डटकमका प्रधान सम्पादक ज्योतिकुमार श्रेष्ठ; सम्प्रेषणका निर्माता प्रस्तोता संचारकर्मी शैलेश श्रेष्ठ; र ईनेप्लिज डटकमका आवासिय सम्पादक सच्ची मैनालीले उद्घोषण एवं संचालन गरेका थिए ।

समाजका बिकृति विसंगतिहरुलाई व्यंगात्मक रुपमा प्रस्तुत गर्ने उद्धेश्यले बिक्रम सम्बत २०४० सालमा नेपालको धरानमा स्थापित टुटुल्को मासिक बिगत चार बर्ष देखि अङ्किय पत्रिका (अनलाइन) बाट संचालनमा रहेको छ ।