NRNA: एउटा व्यक्तिको काम र ब्यबहारले परिस्थिति उल्टिन्छ

Hollywood Khabar November 23,2017 Comments

कृष्ण के सी/अमेरिका
कुरा हो गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको। इतिहासलाइ फर्केर हेर्ने हो भने २०१३/१४-२०१५ कार्यकाल नै संघको गोल्डेन एरा हो। जिरोबाट मिडियामा पहुँच, सिस्टमको सुरुवात, नेटवर्कको बिकास, संस्थागत बिकास, दर्ता देखि अन्तराष्ट्रिय संवन्ध सबै कुराहरुमा छोटो समयमा गर्नुपरेको थियो। अबश्य पनि घटी-कमी, कमजोरी धेरै भए होलान तर पनि काम भने भएको थियो।
त्यो छोटो समयमा राम्रो अस्थित्वमा आएको संघ २०१५-२०१७ कार्यकालमा स्थापित रुपमा हुनुपर्ने थियो। संसारका सबै एनसीसी भन्दा शक्तिशाली र लिडिङ्ग गर्ने अमेरिकी Hegemony भनौ या अमेरिकी गौरवलाई कायम गर्नुपर्ने थियो तर भएन। अब यसका पछाडीको चुंगी-पुंगी गर्ने पक्षमा म छैन। तर एउटा व्यक्तिको ब्यबहार र ब्यबासायिकताले धरै फरक पार्छ। संचार भनेको खरिद गरेको भजन होइन व्यवसायिकताको क्रेज हो भन्ने कुरा उठाउन लागेको छु।
२०१४ सम्म मिडियाले एनआरएनए एनसीसी अमेरिकालाइ गुगल त के फोन गरेर खोज्ने व्यक्ति को हो र कसलाई भन्ने अवस्था थियो। २०१४/१५ नै त्यो समय हो सम्पूर्ण नेपाली अमेरिकी मिडियाले संघलाइ सम्मानजनक स्थान दिएको थियो। यसमा जम्मा-जम्मी तीन कारण थिए:
१. आम संचारको ज्ञान विशेष गरेर मल्टिमिडियाको प्रयोग, संघ-संस्थाको ज्ञान-सिप र आवश्यक्ता अनुसारको कोअर्डिनेशन सुरुहुनु त्यसै अनुरोप सबै मिडिया र संचारकर्मीहरुले सघाउनु
२. संस्थाको अपडेट संस्थाको बैठक, आन्तरिक नेटवर्क, सोसल मिडिया, वेबसाइट र इमेल सबैबाट तुरुन्त-तुरुन्त सुसुचित गर्नु
३. मिडिया नेटवर्क र सम्पर्क नियमित गर्नु
त्यो सुरुवात मात्र थियो। बिना संकोच भन्ने हो भने २०१५-२०१७ कार्यकालमा सँस्था ज्यामितीय रुपमा बढ्नु पर्नेमा तेही रुपमा ह्रास पो हुनगयो। गौरव र खुसीले छाती पिट्ने बेला धारेहात लगाउँदै सराप्नु पर्यो। संचारका साथीहरुले प्रशंसा गर्दै दुइशब्द लेख्ने धोको कहिलै पाएनन, कुर्दाकुर्दै उनीहरुको मसी नै सुकीगयो। किबोर्ड, सेल, ट्याबलेट, सामाजिक संजालको वालमा पाँडे पजनी जप्नुपयो। सम्मानको फुल माला नै उन्न नपाउँदै ओइलाए, पवित्र मन्त्रले भरिएका खादा खुसी हुँदै ओढाउने मौका नपाउँदै आल्मारीमै थन्किए।
सबैजना महाराजा, सँस्थाको योजना नै थिएन, खै त योजना महासय भन्दा, छ उ तेतै हेर्नु भन्ने जवाफ पाइन्थ्यो। कुनी कसले हो बनाएको संस्था स्थापना गर्दा आवश्यक्ता पर्ने खाले कन्सेप्ट पेपर थियो। त्यसैलाई योजना भन्दै भजन गाउँदै बसे। आफ्नो टिमलाई प्रेरित गर्दै चलाएर काम गर्ने प्रयास भएन, काखा र पाखा गरियो। कालान्तरमा गरेको काम गन्ने र भन्ने केही पनि भएन। घोषणा पत्रको मुताविक काम त के त्यसको संझना नै गरिएको थिएन। वेबसाइटमा भएका सुचना र इतिहास थप्ने र दुरुस्त गर्नुभन्दा पनि भएका कुरा मेटाउने र हटाउने, गायब गर्ने काम भयो।
पछिल्लो २०१७ को कार्यसमितिको कुरै गरिसक्नु भएन। असनको साँढे जस्तै भयो, कुनै कुरा आलोचना गर्यो या  खराब कुराको विपक्षमा लेख्दा उल्टा दागा धरियो। यहाँ सम्मको लाचार कि बिधान नै नपढी बिधान बिपरित पत्रकाटेर थार्काउने कामभयो। च्याप्टरको अध्यक्षकै निर्वाचन लेडेका व्यक्तिलाइ पंजीकृत सदस्यबाट हटाइयो। लिस्टमा निस्केका र शुल्क तिरेका व्यक्तिलाई डेलिगेट्स हुनबाट बन्चित गरियो। त्यो सबै कुराको बिरोध गर्दा के भयो त्यो सबैले देखेको कुरा हो। आफुलाई काम गर्न आउँदैन अरुलाई गाली गर्ने कामभयो। यही प्रवृतिले गर्दा एउटा सँस्थालाइ मायाँ गर्ने भन्दा गाली गर्ने धेरै भए। बिकास यस्तो हुन थाल्यो कि सँस्था जित्नेको मात्र हो। हार्नेजति सबै एनआरएन नै होइनन, उनीहरुलाई सँस्था सुन्ने पनि अधिकार छैन, दुलो भित्र कोचिएर बस्नुपर्छ।
मेरो कम्जोर बुद्धिले सोचेको त एनआरएनए भनेको सदस्य बन्ने, नबन्ने, हार्ने-जित्ने सबैको घर हो। यहाँ सम्मकी भुटानी नेपाली अमेरिकनको पनि आस्थाको स्थान हुनुपर्ने हो एनआरएनए। अनि जितेर जिम्मेवारी पाउनेले घरमुलीको काम गर्नुपर्ने हो।  घरका सबैलाई बस्ने, खाने र खुसीहुने बातावरण बनाउनु पर्ने हो। अनि परिवारका सबै सदस्यले मेरो घर भन्ने वातारण बनाउने हो। तर त्यो घर ऐले सम्म बनेन, बनेको छैन, यही प्रवृतीको बिकासले त आशा पनि छैन भन्छन सदस्यहरु।
यसै बीच एनसीसी अमेरिकाले झुक्किएर भनौ या अन्जानबस संचारकर्मी तथा आर्टिकल राइटर बाल जोशीलाइ मिडिया कोअर्डिनेटरमा नियुक्त गरेछ। काम गर्ने र असल व्यक्तिलाइ गोली ताक्ने ठाउँमा कालो बादलको घेराबीच चारैतिर हुरी बतास मडारिएको बेला अचम्मले एउटा झिनो टुकी बलेछ। अझै भनौ बर्षौ बाँझो रहेको दुबो र सिरुको रुखो खोरियोमा अलिकति कलिलो झार पलाएछ अनि केही हरियाली हुने आशा पलायो।
मलाइ बाल जोशीको गुणगान गाउनु छैन तर उहाँले सुरु गरेको एउटा नै प्रयासले देखाएको नतिजाबारे भन्नै परेको मात्र हो। कतै अन्धाहरुले हात्ती छामेर होइन आँखाको सर्जरी गरेर देख्ने भएर ब्याख्या गरुन भन्न हो। जोशीले पहिला त मिडिया नेटवर्क सुरु गर्नुभयो, सहयोगको लागि अनुरोध गर्नुभयो, आरोप र आलोचना सुनेर रिसाउने होइन आफुलाई सुधार्नुपर्छ भन्दै आर्टिकल नै लेख्नुभयो। भए गरेका अपडेट सुरु गर्नुभयो। मिडियाका साथीहरुले पनि खुसी हुँदै साथदिए। फलस्वरुप सँस्थामा रुखो बाँसघारीको बतास मात्र होइन अलि-अलि सारौँका बथान पनि कराए, अलिकति आशाको टुसो पलायो।
कता-कता लाग्दैछ, अब अर्को लड़ाइ सुरु हुनेछ। यो सबैको जस खानेको हाना थप हुनेछ। त्यसपूर्व यो पनि भनिदिहालौ यसको जस कसैलाई जाँदैन केवल जोशीलाइ मात्र जान्छ। अरुको पारा त हामीले देखिसकेका छौं “खुट्टी देख्दै चाल पाइयो।” अब जोशीजीको इर्स्या गर्नेहरुले विशेष गरेर उहाँकै कार्यसमति भित्रैबाट जाइ लाग्ने छन्। नाम कसको हुने या को मालिक हुने, जस कसले पाउने भन्ने जस्ता झिना मसिना कुराले ठूलो विवादको स्थान पाउने छ।
महासचिव, मिडिया कोअर्डिनेटर र प्रवक्ताको आपसी कामलाइ कन्फ्लिक्ट उत्पन्न गर्नेछन्। भोगाइको आधारमा भन्नुपर्दा २५ जनाको कार्यसमितीमा मर्यादाको हिसाबले मिडिया कोअर्डिनेटर ११ औं मा पर्छ। तर जिम्मेवारीको हिसाबले तेश्रो नम्बरमा पर्छ भने वर्कलोडको हिसाबले चाँहि एक नम्बरमा पर्छ। अरुले एक सिफ्टको काम गर्छन मिडिया कोअर्डिनेटरले दुइ सिफ्टको काम गर्नुपर्छ। दृष्टान्तमा भन्दा एउटा भान्छेले पकाउने, खुवाउने र किचेन सफा गर्ने जस्तै थप काम गर्नुपर्छ। सँस्थाको कामको प्रकृति नै यस्तै छ। अरु त आउँछन् पाकेको खान्छन जुठो प्लेट पनि छोडेर जान्छन। तर पनि निरन्तर रुपमा बिधान मुताविक आफ्नो कृयटिभ काम गर्दैजाँदा जोशीजी काम र नतिजाको हिरो बन्ने अवस्था भने अवश्य नै देखिएको छ।
संचारका साथीहरुले आफ्नो लाइनको व्यक्ति पाउँदा खुसी ब्यक्त गरेका छन्। यदि उहाँ माथि उहाँकै कार्यसमितीबाट औंकुसे हालिएन भने यसबाट सँस्थालाइ फाइदा हुने देखिएको छ। अरु अरुले पनि यस्तै काम गरुन अनि हामी तुच्छ व्यक्तिले पनि जमेर प्रशंसाका दुइशब्द लेख्न सजिलै पाइयोस, कन्स्टिपेशन निकाल्न नपरोस। उसै पनि तपाइहरुका कर्तुत लेख्दैमा हाम्रा कलम भुत्ते र ठूटे भैसके लौन अब त बुद्धि पलावस, एउटा मात्रै पनि पदिय जिम्मेवार व्यक्तिको काम र ब्यबहारले परिस्थिति उल्टिन्छ !
जय होस !