NRNA Official Seal/LOGO

NRNA: हराएको मिडिया कमिटी र पत्तो नभएका कमिटी सदस्यहरु

Hollywood Khabar October 05,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघको गतिबिधि, समाचार, सूचना, बिज्ञप्ति इत्यादी कुरा आम रुपमा गैरआवासीय नेपालीहरुबीच पुर्याउन एउटा मिडिया कमिटी बनाइन्छ। हाल सम्मको चलन अनुसार प्रवक्ताको संयोजकत्वमा हरेक क्षेत्रीय स्तरबाट प्रतिनिधित्व हुनेगरी, पत्रकार र संचारकर्मीहरुको एउटा मिडिया तथा पब्लिकेशन कमिटीको पूर्णता दिने गरिएको छ।

यो पटक गैरआवासीय नेपाली संघका अध्यक्ष भबन भट्टले प्रवक्ताको रुपमा भूषण घिमिरेलाइ नियुक्त गर्नुभयो। त्यसपछि घिमिरेले २३ सदस्य मिडिया एण्ड पब्लिकेशन कमिटी बनाउनुभयो। उहाँहरु कुन रुपका र कस्तो विज्ञताका हुनुहुन्छ त्यसको ज्ञान म जस्तो अल्पज्ञानीलाइ हुने कुरा होइन। तर पनि कमिटीले नियमित रुपमा गतिबिधिहरु आम-संचार समक्ष पुर्याएको छैन त्यो भने सत्यो हो।

साँच्चै भन्नुपर्दा, कहिले काहीं बिज्ञप्ति प्रबक्ताबाट आउँछ। अनि एक्जना चिरन शर्मा बाहेक अरु कसैले संघको बारेमा लेखेको, बोलेको या समाचार बनाएको, प्रचार-प्रसार गरेको देखिको जस्तो लागेको छैन। हुन त मैले नदेखेको पनि होला, तर पनि कम्तिमा अमेरिकाबाट प्रतिनिधित्व गर्नेहरुको हकमा त थाहा हुनु पर्ने हो, थाहा भएको छैन।

यो समय संघको बिशेष गतिबिधि भएका र हुँदै गरेको बेला छ। धेरै इस्यूहरु उठेका छन्। बिधान सभाको कुरा छ, बिधानको परिमार्जनको कुरा छ। त्यसमाथि बिज्ञ सम्मेलन गर्ने भनेर झ्याली पिटेको कुरा त अर्कातिर छँदै नै छ। अजिवकै कुरा मान्नुपर्छ, आयोजक संयोजकलाइ नै त्यो बिज्ञ सम्मेलनबाट प्राप्त कार्यपत्रहरु के गर्ने भन्ने थाहा छैन। त्यसको पनि विधिगत कुरा उपाध्यक्ष कुमार पन्तसंग छलफल गरेर यो पंक्तिकारले नै पस्किदिनुपरेको हो।

लामो समय भयो, प्रवक्ताको अत्तो-पत्तो छैन। कतिपय पटक अपडेट के हो भनेर सोध्नुपर्छ। हामी सबैलाई थाहा छ, ऐलेको समय भनेको सूचनाको समय हो। आफ्ना कुरा आमरुपमा पुर्याउनु पर्छ। गुगल, फेसबुक जस्ता विश्व स्तरका कर्पोरेटले त आफ्ना अपडेट आमरुपमा पुर्याएका छन्। हाम्रो संघको संचार-प्रसार चाहिँ किन नियमित नहुने भन्ने मेरो जिज्ञासा हो।

आधिकारिक सामाजिक संजालमा कथा र कबिता अनि माया पिरतीका कुरा आउँछन्। तर नीतिगत कुरा, सूचना, संघका समाचार कम छन्। अक्टुवर भनेको NRNA को बिशेष महिना हो। थुप्रै गतिबिधि हुन्छन, भएका छन्। तर आधिकारिक अपडेट खै ? मिडिया कमिटी हराएर होला कहिले अध्यक्ष भबन भट्टले आफै फेसबुकमा प्रचार गर्नुहुन्छ। अनि तेस्तै सिको डा हेमराज शर्माले पनि बिज्ञ सम्मेलन भन्दै गर्नुभयो। सूचना र अपडेट यति धेरै ठूलो संस्थाले सबैका भाग-भागमा पुग्ने गरि पस्कनु पर्छ। कमिटी सदस्यहरु त्यसका लागि परिचालित हुनुपर्छ, काम गर्नुपर्छ होइन भने हट्नुपर्छ भन्ने मेरो बुझाइ सयद गलत पो रहेछ होला।