NRNA: अन्तराष्ट्रिय कार्यकारी सचिवालयका तर्फबाट प्राप्त पछिल्लो अपडेट

Hollywood Khabar January 15,2018 Comments

आदरणीय प्रमुख संरक्षक तथा सरक्षकज्युहरु,
सल्लाहकार तथा  अनररी काउन्सिलका सदस्यज्युहरु,
कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु,
पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु,
नमस्कार ।
हाम्रो वर्तमान कार्यसमितिले कार्यभार सम्हालेको करिब तीन महिना हुन लागेको छ। संसारभर छरिएर रहेको र दिनानुदिन विस्तार हुँदै गैरहेको हाम्रो गैरआवासीय नेपाली संघलाई विधानत तोकिएका पदहरुको परिपूर्ति, विभिन्न समिति तथा टास्क फोर्सहरुको निर्माण र नेपालस्थित सचिवालयलाई बढी भन्दा बढी सक्षम र चुस्त बनाउनु लगायतका आन्तरिक कामहरुमा हाम्रो अहिले सम्मको समय बढी खर्च भैरहेको छ । अव यी कामहरु मुलत सकिएका छन् । संस्थाको विस्तारसँगै संस्थामा गर्नु पर्ने चयन र मनोनयन पनि जटिल बन्दै गैरहेको महशुश हामी सबैले गरेकै विषय हो । त्यसकारण आफूले सोचेको ठाउँ वा पदमा रहेर काम गर्ने सबैको अपेक्षा पुरा नभएका हुनसक्छन् तर अभियान साझा र निरन्तर अघि बढ्ने विषय भएकाले हामी सबै एकजुट भएर अगाडि बढ्न सबैमा हार्दिकतापूर्वक अनुरोध गर्दछौं।
यतिखेर हाम्रो ध्यान संघले अघिबढाएका र पुरा हुन बाँकी रहेका आयोजनाहरुलाई सम्भव भएसम्म छिटो सम्पन्न गरेर हस्तान्तरण तथा उपयोग गर्ने तर्फ केन्द्रित छ । यसका लागि अध्यक्षज्यूको नेतृत्वमा संघका पदाधिकारीहरु सहितको टोली लागिपरेको छ र कामहरुलाई द्रुत गतिमा अघि बढाइरहेको छ । अव विभिन्न समिति र टास्क फोर्सहरुले काम सुरु गरेपछि नयाँ कामहरुले पनि गतिलिने विश्वास हामीले लिएका छौं।
पूर्व कार्यकालमा अधुरो रहेको लाप्राक नमुना बस्ती, संघको सचिबालय भबन तथा संखमुल पार्क निर्माणमा हामीले बिशेष जोड दिएका छौं| पहिलो प्रत्यक्ष्य बैठकमा नै ठेक्केदार, परामर्श दाता सहित लाई निम्त्याएर कार्यकारी निर्देशक संग यी तिनै प्रोजेक्टको गतिबिधि अध्ययन गरिएको थियो| हाल अध्यक्ष्यको नेतृत्वमा सचिबालय भवनको उपाध्यक्ष कुमार पन्त, संखमुल पार्कको उपाध्यक्ष कुल आचार्य तथा लाप्राक नमुना बस्तीको महिला उपाध्यक्ष सपिला राजभण्डारीले संयोजना गरि रहनु भएको छ|यी सबै प्रोजेक्टहरुको स्टेरिंग कमिटी गठन भइ तदारुकताका साथ कार्य संचालन भइरहेको छ|
लाप्राक नमूना वस्ती निर्माणका लागि अध्यक्षज्यूकै पहलमा नेपाली सेनाका ५० जवान बढाउने काम भएको छ र हाल प्रयोग भैरहेका निर्माण सामग्रीहरुमा थप सुधार गर्दै कामलाई द्रुत गतिमा अघि बढाइएको छ । सचिवालय भवन निर्माणको काममा कामदार संख्या बढाएर थप गति प्रदान गरिएको छ । सकेसम्म छिटो निर्माण कार्य सम्पन्न गरी आफ्नै भवनबाट सचिवालयको कार्य सम्पादन गर्ने दिनको प्रतीक्षामा वर्तमान कार्यसमिति रहेको छ । गैरआवासीय नेपाली संघले निर्माण गरिरहेको शंखमुल पार्कमा प्रयोग भैरहेका सामग्रीहरुको गुणस्तर कमसल देखिएकाले स्तरीय र मजबुत सामग्रीहरुको प्रयोग गरेर बनाउने गरी संघकै तर्फबाट आन्तरिक प्राविधिक इन्जिनियर समेत व्यवस्था गरी उहाँकै निरिक्षणमा काम भैरहेको छ । यो काम पनि आगामी केही महिना भित्रै सम्पन्न हुँदैछ । संघको कार्यालय साधुरो देखिएको र त्यही स्थानमा थप ठाउँ नभएकाले कर्मचारीहरु सहितको आग्रह अनुसार सार्नु पर्ने निचोडमा पुगेर कार्यकारी सचिवालयको निर्णय अनुसार र्निर्माणाधिन भवनको अनुगमनका लागि पनि सहज हुने गरी टेकुबाट गैरीधारमा सारिएको छ |
महाभूकम्पको समयमा राहत वितरण कार्यक्रम सन्चालनको लागि पनि उक्त कार्यलय प्रयोग गरिएको थियो| अध्यक्षज्यूले उपलब्ध गराउनुभएको उक्त कार्यलय प्रयोग बापत संघले भाडा तिर्नु नपर्ने र संघलाई आर्थिक भार नपर्ने पनि जानकारी गराउन चाहन्छौं|
गैर आबासीय नेपालीहरुले बिभिन्न देशबाट ठुलो मेहनतले उठाएर संचित भएको कोषप्रति हामी अत्यन्त सचेत छौं र हाम्रा सबै कोषहरु पारदर्शी छन र अन्तरास्ट्रिय मान्यता अनुसार अडिट हुने जानकारी गराउन चाहान्छौं | हालसम्म संघको बैंक अफ काठमाडौं, सानिमा बैंक, प्रभु बैंक, माछापुछ्रे बैंक तथा मेघा बैंकमा खाता रहेको छ| उक्त सबै बैंकहरु संग प्रपोजल मगाई संस्थाको कोषमा जम्मा भएको रकमलाई बढी भन्दा बढी ब्याज आउने बैंकमा जम्मा गर्न कार्यकारी समितिको बैठकले कोषाध्यक्षलाई जिमेवारी दिएको छ र सचिबालय तथा कोषाध्यक्षले यसमा काम अगाढी बढाएको जानकारी दिन चाहान्छौं| यसबाट संघले करीब तीन प्रतिशतसम्म बढी ब्याज पाउने देखिएको छ|
यस अवसरमा सचिवालयमा नयाँ कार्यकारी निर्देशक नियुक्त गरिएको विषयमा केही प्रष्ट गर्नु पर्ने महशुश भएको छ । संघका यस अघिका कार्यकारी निर्देशकसँगको सम्झौता २०१७ डिसेम्बरको अन्तिममा समाप्त भयो । हालको कार्यसमितिलाई बिभिन्न अधुराकामहरु पुरागर्नु तथा धेरै नया कामहरु गर्नुपर्ने चुनौतीछन| सचिबालय लाई अझ बढी चुस्त र प्रभाबकारी बनाउनु पर्ने महसुस भएकोले संघमा नै विगतमा काम गरिसक्नु भएका डा. हेमन्त दवाडी काम गर्न तयार हुनुभएको र उहाँको काम र क्षमता विगतमा समेत परीक्षण भैसकेकाले र गैरआवासीय अभियानलाई नजिकबाट हेरिरहनु भएकाले पनि हामीले उहाँलाई नियुक्त गर्ने निर्णय गरेका हौं । कर्मचारी नियमावली भर्खरै मात्र लागु भएको, राजेश राणाजीको सम्झौता समाप्त भएको, संघका कामहरुलाई अघि बढाउन कत्ति पनि ढिला गर्न नभएको र सचिवालयको नेतृत्व तुरुन्तै परिपूर्ति गर्नु पर्ने अवस्थाले आइसिसिको पूर्ण बैठकसम्म पर्खेर निर्णय गर्न नसकिएकाले कार्यकारी सचिवालय (आइइएस) को पूर्ण बैठकले सर्बसम्मति बाट निर्णय गरेर आइसिसिबाट अनुमोदन गराउने प्रकृया अवलम्बन गरिएको हो । यो हालै मात्र अनुमोदन भएको कर्मचारी नियमावली भित्रनै रहेर गरेको जानकारी गराउन चाहान्छौं| अब उप्रान्त सचिबालयको सम्पूर्ण कर्मचारीहरु दुई बर्षीय करार सम्झौता अन्तर्गत मात्र नियुक्त हुने र सन्तोषजनक कार्यमुल्यांकन भए मात्र सम्झौता नबिकरण गरिने जानकारी गराउन चाहन्छौं|
हाम्रो वर्तमान कार्यसमितिले कार्यभार सम्हालेको केही दिन देखि नै संघको अभियान, संघका पदाधिकारी र कार्यहरुलाई गलत नियतका साथ निराधार कुराहरु उठाएर अनलाइन मिडिया र सामाजिक संजालहरुमा अनावश्यक भ्रम सिर्जना गर्न खोजिएको देखिएको छ । सचिबालय भबनको बिक्रि तथा लाप्राक नमुना बस्ती ठेक्कामा दिन लागेको भन्ने भ्रमात्मक समाचार हो र यस्तो निराधार तथा संस्थाको प्रतिष्ठा माथि आंच आउने समाचार सम्प्रेसन गर्ने तथा फैलाउने प्रति सचेत रहन अनुरोध गर्दछौ|
गैर आबासीय नेपाली संघको स्थापना काल देखिनै गैर आबासीय तथा अन्य पत्रकार मित्र तथा संचारक्रमि साथीहरुकोको उल्लेखनीय योगदान छ| हामी सबै संचारक्रमि साथीहरुको उच्च मुल्यांकन गर्दै हार्दिक धन्यबाद व्यक्त गर्दछौं| संस्थाको सम्पूर्ण कार्यहरु पारदर्शी गराउने हाम्रो लक्ष्य संचार क्रमि साथीहरुको सहयोगले मात्र पुरा हुनसक्छ| संस्था सम्बन्धि कुनै पनि समाचार सम्प्रेसन गर्नु अगाढी आधिकारिक व्यक्ति अथबा सचिबलायमा सम्पर्क गरि पुस्टि भएपछि मात्र सम्प्रेसन गर्न सहित अनुरोध गर्दछौं |
संघले आगामी दुई बर्षीय कार्यकालमा तय गरेको लक्ष हाँसिल गर्न सम्पूर्ण चुनौती प्रति सचेत रहँदै संमृध्द नेपाल निर्माणको अभियानमा उल्लेख्य भूमिका निभाउन कार्यसमिति प्रतिबध्द छ।
धन्यवाद !
अन्तराष्ट्रिय कार्यकारी सचिवालयका तर्फबाट
१४ जनवरी २०१८

हलिउडखबर नोट: अन्तराष्ट्रिय कार्यकारी सचिवालयका तर्फबाट प्राप्त यो जानकारीमा कसैको पनि पदिय जिम्मेवारी छैन। यसमा संघका महासचिव जिम्मेवार हो या प्रवक्ता त्यो भने अन्योल छ। तर पनि प्राप्त सूचना जस्ताको तेस्तै पोस्ट गरिएको छ।