-एनआरएनएको मोबाइल ब्लड बैंक बस सेवा हस्तान्तरण हुँदै

एनआरएनएको मोबाइल ब्लड बैंक बस सेवा हस्तान्तरण हुँदै

Hollywood Khabar December 14,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) का विभिन्न प्रोजेक्टहरु छन्, कति चल्दैछन्, कति पुरा भए र कति योजनामा नै छन्।

यो २०१९-२०२१ कार्यकालका केहि प्रोजेक्टहरु मध्ये दिर्घकालिन असर पार्ने र एउटा नमुनाकै रुपमा सम्पन्न भएको प्रोजेक्ट एनआरएनए मोबाइल ब्लड बैंक बस सेवा हो। गैरआवासीय नेपाली संघका सचिव गौरी जोशीले संयोजन गरेका दुइ महत्वपूर्ण प्रोजेक्ट मध्ये यो मोबाइल ब्लड बैंक बस सेवा दोश्रो प्रोजेक्ट हो।

सचिव जोशीको पहिलो स्मार्ट एनआरएनए प्रोजेक्टले संघको सदस्यता, रेकर्ड सिष्टम, निर्वाचन प्रणालीलाइ अध्यावधिक गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। सो प्रोजेक्टको लोकार्पण पनि गरिसकिएको छ। अब प्रयोग, परिक्षण, स्तर उन्नति गर्नु एउटा नियमित प्रकृया हो। सचिव जोशीले संयोजन गरेको दोश्रो प्रोजेक्ट अर्थात एनआरएनए मोबाइल ब्लड बैंक बस सेवा हो। यो प्रोजेक्ट तयार भएर यसै हाप्ता हस्तान्तरण पनि हुँदैछ।

एनआरएनए मोबाइल ब्लड बैंक बस सेवाको हस्तान्तरण यहि डिसेम्बर १८, २०२० शुक्रबार अर्थात पौष ३, २०७७ का दिन नेपाली समय अनुसार दिनको १२ बजे आयोजना गरिएको छ। संघले सो दिन एनआरएनए मोबाइल ब्लड बैंक बस सेवा भरतपुर महानगरपालीका कार्यालयमा हस्तान्तरण गर्ने भएको छ। संघले सो हस्तान्तरण कार्यक्रममा सम्पूर्ण गैरआवासीय नेपालीहरु, संघका पधाधिकारी, जिम्मेवार व्यक्तिहरु सबैलाई हार्दिक निमन्त्रणा गरेको छ।

सचिव जोशीले यो मानवीय सेवाको प्रोजेक्ट सम्पन्न गरि हस्तान्तरण गर्न सकेकोमा आफू अत्यन्तै खुशी भएको बताउनु भएको छ। साथै यसका लागि उहाँले सम्पूर्ण गैरआवासीय नेपालीहरु, गैरआवासीय नेपाली संघ, सहयोगी र संबद्ध सबैलाई हार्दिक धन्यवाद समेत ज्ञापन गर्नुभएको छ।

कृष्ण के सी

प्रमुख, सूचना तथा संचार

गैरआवासीय नेपाली संघ, मिडिया एण्ड पब्लिकेशन कमिटी

डिसेम्बर १५, २०२०