जनसम्पर्क अमेरिकाको अधिवेशन टुंगो छैन सभापतिमा दर्जन आकाँक्षी

Hollywood Khabar February 03,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपाली जनसम्पर्क समिति अमेरिका दर्ता भएको बिधानको हिसाबले तीन बर्षको पदावधी समाप्त भैसक्यो। समितिको तेश्रो अधिवेशन २०१७ को अन्ततिर सम्म गरिसक्नु पर्नेथियो त्यो भएन। अधिवेशनको तिथिमिति जुरेको छैन मात्र होइन यस बिषयमा समितिले निर्णय नै गरेको छैन।
लामो समय देखि रोकिएको अधिवेशन गतपटक विष्णु सुवेदीको अधिवेशन तयारी समितिले एकताको दोश्रो अधिवेशन गराएपछि आनन्द बिष्टको अध्यक्षतामा निर्वाचित नेतृत्व आएको थियो। बिचमा पक्ष-विपक्ष र आरोप-प्रत्यारोप मात्र होइन एकै ठाउँमा दुइ-दुइ कार्यक्रमहरुको पनि आयोजना गरियो। अन्तत समितीले २०१७ जनवरीमा टेक्सासमा भएको बैठकले मिलापको घोषणा गरे पश्चात आफ्नो स्थापनाको एक दशक सम्म गर्न नसकेको पहलो साधारण सभा पनि सम्पन्न गर्यो। समितिले पार्टीलाई अधिवेशनको लागि जानकारी पत्र पठाएको छ। अब नेपाली कांग्रेसले गर्ने निर्देशनमा भरपर्छ।
अधिवेशन कहिले हुन्छ, कसरी हुन्छ, कसले गराउँछ आदि प्रश्न प्रमुख रुपमा छन। अधिवेशन कहिले हुने भन्ने कुनै ठेगान छैन। तर पनि सभापतिमा आकांक्षीहरु भने एक दर्जन नाघेका छन्। न ठाउँ न ठहर सभापतिको रहर। अधिवेशन गर्नुपर्छ भन्ने कुरामा भने सबैको मत एक नै पाइयो। यिनै सेरोफेरोमा गरिएको कुराकानी र बिचार यहाँ प्रस्तुत गरिएको छ।
१. समितिका सभापति आनन्द बिष्टले अबको दुइ हप्ताभित्रमा बैठक बसेर च्याप्टर अधिवेशनको तिथिमिति निर्णय गरिनेछ अनि केन्द्रको अधिवेशन हुन्छ भन्नुभयो। सभापति बिष्टलाइ नेपाली काँग्रस पार्टीका सभापति शेर बहादुर देउबाले नेकाँको आमन्त्रित केन्द्रीय सदस्यमा नियुक्ति दिनुभएको छ। कतिपयलाई आनन्द बिष्ट दोश्रो कार्यकालमा उम्मेदवार हुनुहुन्छन भन्ने लागेको कुरा अब टुंगिएको छ। उहाँ अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न तयार हुनुहुन्छ।
२. बरिष्ठ उपाध्यक्ष धनन्जय नर्सिङ् के सीसँग पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन। अधिवेशनबारे उहाँको धारणा के हो त्यो थाहा हुन सकेन। तर पनि सभापतिको आकांक्षी भने पक्का हो भन्ने कुरा आएको छ।
३. उपाध्यक्ष धर्म श्रेष्ठले समितिको अधिवेशन कुनै पनि हालतमा हुनुपर्छ र हामी अधिवेशन गर्छौं भन्नुभयो। साथै उहाँले साथीहरुको सहमति रहेमा आफू सभापतिको लागि आकांक्षी रहेको र पालो पनि आफ्नो नै भएको समेत बताउनुभयो।
४. उपाध्यक्ष सिपी पौडेल यो समिति गत नोवेम्बर २०१७ देखि अबैधानिक भएको छ। यसलाई कि त पार्टीले म्याद थप्नु पर्यो कि अधिवेशनका लागि अर्को तयारी समिति बनाउनु पर्यो अन्यथा हुँदैन भन्नुहुन्छ। तर पनि पौडेल आगामी अधिवेशनमा सभापतिका प्रत्यासी रहेको कुरा भने घुमाउरो पाराले स्विकार्नुहुन्छ।
५. भगवान मैनाली समितिको उपाध्यक्ष हुनुहुन्छ। मैनाली भन्नुहुन्छ कानुनी रुपमा यो समितिको अवधि समाप्त भयो। नेपाली कांग्रेससँगको संबन्धबिना यो समितिको अर्थ छैन। अधिवेशनका लागि अब पार्टीले के निर्णय गर्छ त्यो कुर्ने मात्र हो। इन्फ्याक्ट जनसम्पर्क समितिक अमेरिकाको अधिवेशनको गाँठो अब पार्टीको हातमा छ। अधिवेशनमा उम्मेदवार हुने भन्ने कुरा ऐले बेला भएको छैन। परिस्थितले के ल्याउँछ त्यो अनुसार चल्ने हो मैनाली घुमाउरो जवाफ दिनुहुन्छ। तर पनि समितिको अभियानबाट बाहिरिने कुरा भने इन्कार गर्नुभयो मैनालीले।
६. महासचिव मुनिन्द्र नेम्बाङ् निर्वाचित महासचिव हुनुहुन्छ। कृयाशिल सदस्यता, च्याप्टरको अधिवेशन अनि केन्द्रिय अधिवेशन लगायत बिषयमा निर्णय गर्न बैठक बोलाउँदैछौं उहाँले भन्नुभयो। अधिवेशनबारे पार्टीमा पनि जानकारी पठाइएको छ जवाफ आएपछि सार्वजनिक गरिनेछ। ऐले सबैलाई मिलाएर अधिवेशन सफल बनाउने भन्ने आफ्नो मुख्य काम भएकोले उम्मेदवारीबारे कुनै सोच बनाइसकेको छैन। समिति मजबुत बनाउनु पहिलो कुरा यो। जब संस्था बलियो हुन्छ नेतृत्वमा जो गए पनि केही फरक पर्दैन। म आफू सभापतिको आकाँक्षी हुने या नहुने पछिको कुरा हो। उम्मेदवार हुने निर्णय गर्न एक्लो व्यक्तिले रहर गरेर हुने कुरा होइन। समितिका साथीहरु, पार्टी र सबैको साथ र समर्थन चाहिन्छ। त्यो पनि ऐले त अतिनै छिटोभयो महासचिव नेम्बाङ्ले भन्नुभयो।
७. बिष्णु सुवेदी समितिका निवर्तमान संयोजक तथा नियुक्त गरिएका केन्द्रिय सदस्य हुनुहुन्छ। उहाँले यो कार्यसमितिको पदावधी समाप्त भएकोले पार्टीले अधिवेशन तयारी समिति बनाउनुपर्छ। त्यो समितिले अधिवेशन गर्नपर्छ सुवेदीले भन्नुभयो। यो कर्यसमितिले अधिवेशन गर्यो भने आफू सहभागी नहुने मात्र होइन पार्टीमा त्यो गल्ति सकार्नको लागि अनुरोध गरेर अधिवेशन तयारी समिति बनाएर नै छाड्ने कुरा गर्नुभयो। तीन शब्दमा भन्दा यो समितिले अधिवेशन गर्न मिल्दैन, सक्दैन र मान्दैनौ अनि दिन्नौं पनि। अधिवेशन तयारी समतिले गरेको अधिवेशनमा भने आफू सभापतिको उम्मेदवार रहने कुरा स्पस्ट रुपमा भन्नुभयो।
८. प्रमोद सिटौला समितिको निर्वाचित केन्द्रिय सदस्य हुनुहुन्छ। यो नेतृत्वलाइ टेक्सास अधिवेशनको म्याण्डेट समाप्त भएको हुनाले पार्टीले अधिवेशन तयारी समिति बनाउनुपर्छ। त्यो स्थितिमा आफू सुरेन्द्र देबकोटासँग पनि सभापतिमा चुनाब लडेको मान्छे, हिजो पनि सभापतिको उम्मेदवार थिएँ र अब पनि साथीहरुको मन जित्न सके भने सल्लाह र सहमतिमा सभापतिको उम्मेदवार हुँ भन्नुहुन्छ सिटौला।
९. निर्वाचित केन्द्रिय सदस्य ज्ञानेन्द्र कार्कीसँग सम्पर्क हुन सकेन। तर उहाँ पनि सरल र शान्त स्वभावका कार्की सभापतिका आकांक्षी रहेको कुरा भने बाहिर आएको छ
१०. सुन्दर गुरुङ निर्वाचित केन्द्रिय सदस्य हुनुहुन्छ। गुरुङ अधिवेशन छिटो भन्दा छिटो गराउन आफूले पहल गरेको बताउनुहुन्छ। अब छिट्टै च्याप्टरको अधिवेशन हुन्छ अनि केन्द्रको पनि हुन्छ गुरुङले भन्नुभयो। अधिवेशनमा सभापतिको आकांक्षी रहेको भन्ने जिज्ञासामा उहाँले भन्नुभयो- साथीहरुको अनुरोध आएको छ तर मैले केही भनेको होइन। यो धेरै पछिको कुरा हो पछि हेरौंला गुरुंङ्ले भन्नुभयो।
११. बेद खरेल सभापतिबाट केन्द्रिय सदस्यमा नियुक्त हुनुभएका मध्यका केन्द्रिय सदस्य हुनुहुन्छ। खरेलले भन्नुभयो अधिवेशन गर्नका लागि समितिले निर्णय गरेर पार्टीमा पत्र पठाएको छ। अब पार्टीबाट जे निर्देशन आउँछ त्यो अनुसार गर्ने हो। खरेलले बिगत तीन बर्ष देखि आफू सभापतिको उम्मेदवार हुँ भनेर घोषणा गरिसकेको छु। त्यो कुरामा कुनै परिवर्तन आएको छैन र आउँदैन पनि।
१२. चित्र के सीसंग धेरै पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन। सुनिएको अनुसार उहाँ पनि सभापतिको लागि आकांक्षी हो।
१३. नारायण थापाको नाम जनसम्पर्क समतिको इतिहाससँग जोडिएको छ। भारत पछि पहिलो जनसम्पर्क समिति जापानको संस्थापक र अमेरिकामा जनसम्पर्क समिति सुरु गर्न पहल गर्ने व्यक्ति पनि नारायण थापा नै हो। अधिबेशन हुन्छ र गर्नुपर्छ। थापाले अधिवेशनमा साथीहरुको सल्लाह र साथभयो भने आफू सभापतिमा आकांक्षी रहेको बताउनुभयो।
१४. भोज घिमिरे जनसम्पर्क समिति इलिनोइ च्याप्टरको सभापति हुनुहुन्छ। एक ब्यबसायी मात्र होइन नेपालका पूर्व जिल्ला शिक्षा अधिकारी समेत रहनुभएका घिमिरेले आगामी अधिवेशनमा सभापतिको आकांक्षी रहेको कुरा पहिला नै बताउनु भएको थियो।
सारांसमा सबैको बिचार हेर्दा जनसम्पर्क समिति दुइ धारमा देखियो। एउटा यो कार्यसमितिले अधिवेशन गराउने र अर्को आफू भए अधिवेशन हुने नत्र नहुने पक्ष। लडाइँ कुन टुंगोमा पुग्ने हो त्यो भने हेर्न बाँकी छ।