-नेपाल जाँदै हो? त्रिभुवन बिमान स्थलमा ५-६ घण्टा कुर्नुपर्छ, ट्रली लिएर भर्याङ्गबाट झर्नुपर्छ

नेपाल जाँदै हो? त्रिभुवन बिमान स्थलमा ५-६ घण्टा कुर्नुपर्छ, ट्रली लिएर भर्याङ्गबाट झर्नुपर्छ

Hollywood Khabar October 20,2021 Comments

कृष्ण के सी, काठमाण्डौ, अक्टुवर २०, २०२१

अक्टुवर १६, २०२१ शनिबार बिहान ११:०० बजे प्यास्फिकी समयमा घरबाट निस्केको म नेपालको समय सोमबार बिहान करिब ९:०० बजे बिहान त्रिभुवन विमान स्थाल, काठ्माण्डौ उत्रिएँ। करिब ३२ घण्टा भन्दा लामो त्यो जमिन र आकासको समयपछि म त्रिभुवन विमान स्थलमा ओर्लिएँ।

कतारको दोहा हुँदै आएको मेरो फ्लाइटको ढोकाबाट पितृभूमिको जमिनमा टेक्दा म कन्फ्यूजमा थिएँ। मेरो दोश्रो ह्याण्ड क्यारी दोहाबाट उनीहरुले काठ्माण्डौमा लिनु भनेर स्टिकर लगाएर लगेका थिए। म जस्ता अरु धेरै यात्रु थिए। त्यो अचम्म थिएन तर अन्य ठाउँमा फ्लाइटबाट निस्कँदा जहाजको ढोकाको केहि फिट पर लिन सकिन्छ। यो पटक यहाँ त्यो संभावना थिएन। उसो त हामीलाई हिंड्दै सुन्दर वेलकम गेटतिर प्रवेस गर्न इसारा दिंदै थिए। एकजनालाइ सोधें मेरो दोश्रो ह्याण्ड क्यारी कता पाइन्छ ? त्यो पनि सुटकेससंगै भन्ने जवाफ पाएपछि म उनैका कुरा मान्दै गएँ तर पनि कन्फूज चाहिं थियो।

पहिलो फ्लाइटमा मेरो संगैको सिटकी यात्रुलाई फोबिया र दोश्रो फ्लाइटमा मेरो पछाडिको सिटकी यात्रुलाई हाइली क्रिटिकल हेल्थ कण्डिशन आएको थियो। दोश्रो घटना दोहाको टेकअफको लास्ट सेकेन्डमा भएकोले, जहाजले हाइट नलिए सम्म उहाँलाइ क्र्यूले हेल्प् गर्न ४/५ मिनेट जति समय लग्यो। उहाँहरु दुबै सकुशल काठमाण्डौ उत्रनुभयो। एक यात्रुलाई मैले एयरपोर्टमा लाइनमा देखे दोश्रोलाइ देखिन या चिनिन। जे होस्, उहाँहरुको सुस्वास्थ्यको कामना गर्दछु।
जहाजबाट करिब १५०-देखि २०० कदम हिँडेर वेलकम गेटमा पुगियो। गेटबाहिर देखि यात्रुको ४ लाइन सुरुभयो तर रहेछ २ लाइन मात्र बस्नुपर्ने। साइडमा प्रहरी र अन्य व्यक्तिहरु त थिए तर त्यसलाई ब्यबस्थित गर्ने कोहि थिएन। उनीहरु केहि पनि भन्दैनथिए। यात्रु लाइनमा केहि साना-नानी बोकेका महिला, केहि सिनियर सिटिजन पनि हुनुहुन्थ्यो। हामी यात्रुहरु आफैंले उनीहरुलाइ साइड दियौं। त्यो लाइन किन थियो हामी मध्ये धेरैलाइ थाहा नै थिएन। हामीहरु आ-आफैं अनुमान गर्दै, कोभिड टेष्ट रिपोर्ट, भ्याक्शिन रिपोर्ट, एनआरएन कार्ड, पासपोर्ट इत्यादी मिलाउँदै थियौं। करिव ३० मिनेट जतिमा मेरो पालो आयो। केवल २ कुरा चाहिने रहेछ। कोभिड टेस्टको प्रिन्ट कपि र कोभिड भ्याक्शिन लगाएको कार्ड देखाउने। अनि हेल्प डेस्कमा कोभिड टेस्ट कपिमा स्टाम्प लगाउने रहेछ।

त्यसपछि कता जाने कसैले पनि केहि भन्दैनथिए, ढोकाको दाहिने तिर क्यूयस्क मशिनहरु छन्। केहि बिग्रेका केहि चल्ने, ढोकाको छेउवाल मशिन २०१९ मा आउँदा पनि बिग्रेको थियो अझै बनेको रहेनछ या बारबार बिग्रन्छ, थाहा भएन। त्यो क्यूयस्क मशिनमा फर्म भर्ने संसारको सबै भन्दा कठिन मशिन रहेछ। प्राय ठाउँमा पासपोर्ट स्क्यान गर्दा सबै सूचना आउँछन, चेक गरेर फाइनल गर्ने अनि फोटो लिन्छ, प्रिन्ट गर्ने या आफैं प्रिन्ट हुन्छ। करिब १ मिनेट भन्दा कम समयमा काम सकिन्छ। प्रबिधिको प्रयास त गरेको हो तर म्यान्यूयल भन्दा ढिलो हुने मशिन। यहाँ एउटा त कन्फूज इन्फर्मेशन छन् दोश्रो कतिपय सूचना कि भर्न मिल्दैन, कि चल्दैन कि के हुन्न। कतिपय सूचनाहरु आवश्यक नै छैनन तर पनि किन हो कुनी भर्नुपर्ने, किन हो थाहा भएन तर पनि भरियो प्रिन्ट नै हुन्न रहेछ। अन्तमा हातले लेखेको सूचना रहेछ, प्रिन्टर बिग्रेको छ स्क्रिन शट लिनुहोला र इमिग्रेशन डेस्कमा देखाउनु।

इमिग्रेशनका कतिवटा डेस्क छन् त्यो त मलाइ थाहा भएन तर लाइन चाहिं ६/७ वटा थिए, पुरै भरिएका। मैले र्याण्डम गन्दा ६ लाइनमा करिब २०० जना जति प्रति लाइनले १२०० भन्दा धरै जति यात्रु हुँदा हुन्। त्यो संख्या कुनै पनि एयरपोर्टको लागि सामान्य हो। यो संख्या अन्य देशका एयरपोर्टमा करिव ३०/४० मिनेट जतिमा क्लियर हुन्छ।

९:०० बजे बिहान काठमाण्डौ एयरपोर्ट ओर्लिएको मैले करिब ३ घण्टापछि १२:०० बजे इमिग्रेशनको १ नम्बरको डेस्कमा पुगे। सधैं जस्तै मैले टुरिष्ट भिसाको ९० दिने भिसा अनुरोध गरेको थिएँ। प्रिन्टर बिग्रेकोले स्क्रिन शट पनि लिएको नै थिएँ। तर भर्नुपर्ने रे ग्राटिस भिसा। यो ग्राटिस भिसा के हो मलाइ थाहा थिएन। घर पुगेर गुगल गरे, निशुल्क भिसा भनेको रहेछ। मन्त्रालयको साइटमा ९ थरि भिसामा त्यो ग्राटिस भिसाको क्याटगरी नै छैन। बल्ल-बल्ल एउटा नोटिस भेटियो मे ९, २०१९ मा दिएको सूचना रहेछ। (This is to inform that the existing provision of Gratis Visa (waiver of visa fees) to children (American Passport holders) below 10 years of age has been terminated as per the amendment decision made by the Ministry of Home Affairs on May 09, 2019. Fees shall be applicable to both tourist and non tourist visa effective from 14 May 2019.)

मेरो बुझाइमा ग्रटिस भिसा भनेको निशुल्क भिसा हुनुपर्ने हो। एनअरएन कार्ड बनाउँदा ५ सय अमेरिकी डलर तिरेको हो। मैले बुझिने किन मेरो जस्तो एनअरएन कार्ड बोकेकाहरुलाइ ग्रटिस भनेको हो। अनि त्यहाँ म जस्तै दर्जनौ अरु पनि व्यात्रुहरु थिए। सामान्य रुपमा फर्ममा कुनै गल्ति भएमा इमिग्रेशन अफिसरलाइ ओभरराइड गर्ने अधिकार हुनुपर्ने होला। तर त्यहाँ त्यो अधिकार छ या छैन मलाइ थाहा भएन। पशुपतिनाथको कृपाले होला मेरो पालोमा अफिसरले भिसा ९० दिन होइन ३० दिनको भर्नुपर्ने त्यो पनि ग्रटिसमा भन्नुभयो।

मैले अनुरोध गरे अफिसर म पहिला नै ३/४ घण्टा लाइनमा बसेको छु, फ्लाइट समय जोड्दा ३०/४० घण्टा भन्दा धेरै भयो। मैले हरेक देशमा जाँदा त्यो देशको इमिग्रेशन नियम मान्नुपर्छ त्यसमा मेरो दुइमत छैन। म मान्न तयार हुनुपर्छ र छु। तर त्यहाँ त्यो सूचना नै थिएन, मलाइ थाहा भएन। पहिला पहिला आउँदा अनुसार नै मैले फर्म भरेको हो। फेरी गएर अर्को फर्म भर्दा अर्को ३/४ घण्टा लाग्छ, मैले अनुनय विनय गरे।

उहाँलाइ के लागेछ कुनी, म जस्तै अरु ३ जनाको पनि डकुमेन्ट लिएर अर्को अफिसरलाइ भनेर पठाउनु भयो। केहि समय साइडमा कुर्न भन्नुभयो। सायद पहिलो पटक नेपाली इमिग्रेशन डेस्कमा यति धेरै बिनम्र अफिसर देख्दा म एकदम खुशी भएँ, मेरो थकाइ नै हरायो। केहि समयपछि म र अरु केहिको पासपोर्ट र डकुमेन्ट आयो। करिब १ मिनेटमा मेरो काम सकियो। म धन्यवादी हुँदै निस्किएँ।

सामान्यताया सूचना सहि भएमा इमिग्रेशनको काम १ देखि २ मिनेट समयमा सकिने रहेछ भन्ने मोरो बुझाइ रहन गयो। जुन काम मैले धेरै देश पुग्दा भोगेको सरदर समय नै हो। यहाँ पनि गरे त हुने नै रहेछ, सबै यात्रुलाई यस्तो किन भएन त ? सायद यसको जवाफ मैले पाउने होइन होला।

बल्ल सक्कियो भनेर तलामुनि गएँ। बेल्ट, मेटल डिटेक्टर निकालेर स्क्रिन स्क्यानर हुँदै लगेज क्षेत्रमा पुग्दा अचम्म भयो। ट्रली एउटा पनि छैन अनि लिन जाने ठाउँ पनि छैन, वरिपरि पनि देखिंदैन। खोजखाज गर्दा मेरो लगेज भेट्टाएँ। भगवानकै कृपा या के हो कुनी मेरो सबै लगेज सकुशल पाइयो। कुनै एकजना हेल्परले कार्ट ल्याइदिए, ३० फिट जतिको दुरीमा पुग्दा गेट आउने रहेछ। उनले केहि मिले भन्दै हेल्प मागे, मैले खुशीले केहि दिएँ। त्यसमा मलाइ दु:ख लागको थिएन तर कार्ट त्यहाँ किन थिएन प्रश्न चाहिं बल्झी रहेको थियो।

बल्ल निस्कियो भनेर ओरालो ओरालो बाटो म ट्रलीलाइ हल्का ब्रेक लगाएको जस्तो रोक्दै अगाडि बढें। यो बाटो अलि बृद्धहरुको लागि राम्रो छैन। भिरालो-ओराली धेरै छ। भिड धेरै हुँदा कार्ट कन्ट्रो भएन भने अर्कोलाई ठक्कर दिन सक्छ।

घुम्ती पुरा गरेपछि फेरी अर्को लाइन सुरुभयो। मैले सोधे के को लाइन ? जवाफ पाइयो लिफ्टको। किन ? तल जान। यति धेरै खर्च गरेर बनाएको यो एक्जिट डिजाइनरलाइ ट्रली लिएर भर्याङ्गबाट जान सकिन्न, लिफ्टबाट यति धेरै यात्रु जान संभव छैन भन्ने याद रहेनछ कि थाहा भएन। त्यो डिजाइन पास गर्दा बोर्डको आँखामा मोतिबिन्दु भएको पनि हुन् सक्छ, थाहा भएन। फेरी करिब ४०/५० मिनेटको लाइन लागेर ३ वटा लिफ्टबाट यात्रु लडालड, ठेलाठेल गर्दै लिफ्टमा छिरे। मेरो पालोमा अगाडीका यात्रुको लगेज ठुलो थियो। कार्टबाट झरीगयो, बल्ल तानेर मिलाउनुभयो। तल झरियो, ५/६ घण्टामा बल्ल निस्कने भइयो भन्दै लामो सास तान्दै थिएँ।

तर त्यो खुशी फेरी बिलायो। गश; फेरी अर्को लइनमा बस भन्दै प्रहरी अधिकारीको निर्देशन सुने। किन ? केहि भन्दैनन तर लाइन बस भन्थे। लौ भनेर बसे। त्यहाँ फेरी कोभिट टेष्टको रिपोर्ट कपि चाहिने रहेछ, जुन चाहिं वेलकम गेटमा लगाएको स्ट्याम्पवाल पेज देखाउनु पर्ने रहेछ। देखाएँ, जान भने, गएँ। किन ? थाहा छैन। तल पार्किङ्गमा पुग्दा जुन देखेको दृश्य चाहिं आज भनिन।

नेपालमा सबै भन्दा कर्मचारी फुलस्विङ्गमा हुने मात्र होइन नभएको ठाउँमा पनि नियुक्ति दिएर भरिने स्थान नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हो। तर त्यहाँ धेरै डेस्क खाली थिए अनि क्यू घण्टौ थियो। यो केवल त्यो समय मात्र हो या के त्यो भने थाहा भएन। इमिग्रेशन डेस्कमा सबै अफिसर बसिदिए मात्र पनि काम सहज हुने होला। तर धेरै डेस्क खाली थिए।

सूचना सुरु देखि नै यो यो तयार गर्नुहोस भन्दा सहज हुने होला। क्यूस्क मशिन बिग्रंदा विकल्पमा पेपर पनि भैदिए त हुने हो नि। कम्तिमा २/४ सयले एकै पटक पेपर भर्थे होलान बरु। सायद यो मेरो इच्छा होला, तर खै ? अजुवा नै मान्नुपर्छ। खेलबाट फर्केका नेपाली खेलाडीहरु पनि मेरो दाहिने तिरको २ नम्बर डेस्कको लाइनमा देखिन्थे। उनीहरु खेलबाट राष्ट्रिय गौरव लिएर फर्केकोमा भन्दा चेक आउटको झन्झटमा दिक्क देखिन्थे।

यात्रुलाई सूचना:

कृपया आफू नेपाल आउनुपूर्व आफ्नो देशको नेपाली राजदूतावासमा सम्पर्क गरि निम्न सूचना लिनुभए तपाइँको यात्रा सहज होला।

  • आफू कुन स्थितिमा नेपाल जाँदै
  • नेपाली पासपोर्ट या अन्य
  • नेपाल कति बस्ने
  • कुन भिसा लिने, कति दिनको लिने
  • प्रक्रिया के के हुन्छन
  • भिसा लिएर आउँदा के के स्टेप पार गर्नुपर्छ
  • एनआरएन कार्ड भए के के गर्ने
  • टुरिष्ट भिसा लिंदा कहाँ-कहाँ पैसा तिर्ने
  • कुन-कुन सपोर्टिङ्ग डकुमेन्ट चाहिन्
  • ढोकाबाट छिरे देखि निस्कँदा सम्म के के स्टेप पार गर्नुपर्छ
  • लगेज एरिया के कता छ
  • टेक्सी या यातायात के कसरी पाउने इत्यादि

नेपाल सरकार र एयरपोर्ट अथोरिटीलाइ अनुरोध

  • नेपालमा कुन कुन खाले यात्रु आउँछन्। कति-कति बेला कुन फ्लाइट आउँछ, सरदर कति यात्रु हुन्छन त्यो यहाँहरुलाई पूर्व जानकारी हुन्छ। त्यो अनुसार छिटो र छरितो ब्यबस्थापन गरियोस
  • इमिग्रेशन अफिसरको सहजको लागि होइन यात्रुको सहजताको लागि ब्यबस्था गरियोस
  • सबै कर्मचारी सक्रिय रुपमा जो जे कामको लागि हो पुरा समय डेस्कमा बस्न लगाइयोस
  • सूचनाहरु सहज बनाइयोस
  • मशिन लगायतका डेस्कहरुमा हेल्पर रहोस
  • स्टेप १,२, ३-- के के हो सहज सूचना होस्
  • कोभिड १९ को नेगेटिभ रिपोर्ट नहुनेले आउन नै पाउँदैन भने फेरी समातेर क्वारिण्टाइनमा जा भन्नु किन? नेपाल आउने यात्रुलाई नेपालमा भन्दा नेपालको सूचना मानेर विदेशमा कडा रुपमा हेर्छन।
  • CCMC फर्म सबै भन्दा भर्न कठिन, भर्दाभर्दै टाइम आउट हुन्छ, दोहोर्र्याउन मिल्दैन, प्रिन्ट हुन्न, बल्ल बल्ल ४/५ पटकमा हुन पनि सक्छ नहुन पनि।
  • यो एक्जिटमा भर्याङ्गबाट ट्रली/कार्ट लिएर जान सकिन्न होला नि? विकल्पमा तुरुन्त अर्को वाकआउट गर्ने ब्यबस्था गरियोस। लिफ्ट त अशक्त र अति आवश्यकको लागि होस, त्यो पनि जम्मा ३ वटाले कति दिन धान्ने होला ? बिग्रिए के गर्ने?
  • फर्महरु सजिला, बनाइयोस, अनावश्यक सूचना हटाइयोस, फर्म पब्लिक गर्नुपूर्व सयौं पोटेन्शियल यात्रु नेपाली मुलकाहरु या बिदेशीहरुलाइ नेपाली राजदूतावास मार्फत टेस्ट गराइयोस अनि मात्र फाइनल गरियोस।
  • ओर्लिएको १ घण्टा या त्यो भन्दा पनि छिटो सबै बिधि पुरा गरेर बाहिर निस्कन सकिएला? यदि त्यो भैदियो भने अत्यन्तै राम्रो हुनेथियो। सयाद २०१५ हो या कहिले एक पटक तेसै भएको थियो। म कत्ति खुशी भएको थिएँ त्यो बेला।
  • हामी विदेशमा बस्ने नेपाली या नेपाली मुलका बिदेशीले गर्ने अरु केहि सपोर्ट छन् भने भनियोस हामी पनि सकेको सपोर्ट गर्छौं। त्यसमा हामीलाई गौरव लाग्छ। जसले अझै सहज होस्।

अन्तमा;

  • यो पटक मेरो भिसा लगाउने इमिग्रेशन अफिसर, नाम याद भएन उहाँप्रति धन्यवाद, उहाँले इमिग्रेशन अफिसरको अधिकारको प्रयोग गरेर, प्रक्रिया अलिकति सहज गरिदिनुभयो।

  • त्यो एक्जिट लंजको बाटो नै नभएको डिजाइन गर्ने डिजाइनर र पास गर्ने बोर्डलाइ हर्जाना स्वरुप पुन:निर्माणमा लाग्ने खर्च भराइयोस

  • इमिग्रेशन सर्भिस यस्तो उत्कृष्ट होसकी हरेक यात्रुले सेवापछि २ शब्द यहाँको सेवाको लागि प्रसंसामा खर्च गारोस। आजकल सोसल मिडिया धेरै चल्छ, त्यहाँ पक्कै पनि लेख्छन। यसले अरु धेरै राम्रो प्रभाव पार्छ।

जय नेपाल !