-नेपालको पात्रो अमेरिकामा मिल्दैन, अमेरिकामा दशैँ टीका अक्टुवर ७ मा पर्छ

नेपालको पात्रो अमेरिकामा मिल्दैन, अमेरिकामा दशैँ टीका अक्टुवर ७ मा पर्छ

Hollywood Khabar August 18,2019 Comments

चाडपर्व र तिथि उल्लेख भएका नेपालको पात्रो अमेरिकाको लागि उपयुक्त र सही नभएको धारणा ज्योतिषीहरुको रहेको छ। यस वर्ष बडादशैंको टीका समेत नेपालको भन्दा अघिल्लै दिन गर्नुपर्ने अवस्था तिथिले गराएको समेत उहाँहरुले उल्लेख गर्नुभएको छ ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को समन्वयमा टेक्ससको डलासमा भएको अन्तरक्रिया कार्यक्रममा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. माधबप्रसाद भट्टराईले नेपालको क्यालेण्डरलाई अमेरिकामा हु–बहु लागु गर्न नमिल्ने धारणा राख्नुभयो ।

उताबाट देखिने सूर्य, तारा, ग्रहको गतिमा आधारित रहेर नेपालको भूगोलको हिसाब गरेर बनाइएको हो त्यो पात्रो। गौरीशंकर हिमालको देशान्तरलाई आधार मानेर बनाइएको हो नि, डा भट्टराईले भन्नुभयो। उहाँले जसरी नेपालको संविधान अमेरिका लगायत अरु देशमा लागु हुन सक्दैन त्यसैगरि नेपालको पात्रो हु–बहु रुपमा अमेरिकामा लागु नहुने बताउनुभयो ।

अमेरिकाको लागि यहाँको सूर्योदयको समय, देशान्तर, ग्रह, नक्षत्रलाई हिसाब गरेर छुट्टै क्यालेण्डर (पात्रो) आवश्यक रहेकोमा जोड दिनुहुँदै डा भट्टराईले त्यसो नभएमा तिथिप्रधान पर्वहरु ९५ प्रतिशत फरक पर्ने बताउनुभयो। नेपालको भूगोल, ग्रह, नक्षत्रलाई आधारमा मानेर तयार पारिएको क्यालेण्डरमा ११/१२ घण्टा समय पछि पारेर अमेरिकामा तिथिप्रधान चाडपर्व, तिथि श्राद्ध गर्दा ९५ प्रतिशत फरक पर्छन, ५ प्रतिशतमात्र यदाकदा मिल्छन् उहाँले भन्नुभयो ।

नेपालको पात्रो नेपालकै भूगोलभित्रका लागि मात्र हो । नेपालको पात्रोलाई नेपाल बाहिर सन्दर्भ सामग्रीका रुपमा त लिन मिल्छ । तर अरु देशमा हुबहु लागु गर्दा तिथि उल्टोपुल्टो पर्छन्’ उहाँले स्पष्ट रुपमा भन्नुभयो ।

अमेरिकाको नेपाली समुदायमा नेपाली चाडपर्व, तिथिका बारेमा पछिल्लो समयमा चासो र चिन्ता बढ्दै गएकोले ड्यालसको नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (पशुपतिनाथ तथा बुद्ध मन्दिर) ले आउँदो वर्षदेखि छुट्टै क्यालेण्डर बनाएर प्रयोगमा ल्याउने भएको छ । त्यसका लागि तयारी समेत सुरु गरिसकेको छ ।

ज्योतिषविद्यामा आधा गणित र आधा धर्मशास्त्रको हिस्सा रहने उल्लेख गर्नुहुँदै पूर्ब नायव बडागुरुज्यू समेत रहनु भएका डा भट्टराईले कित पञ्चाङ्ग निर्णायक समितिले बनाएको पात्रोलाई मान्दिन भनेर अघि बढ्नुपर्यो, नभए पात्रोले भने अनुसार चाडपर्व मनाउनुपर्नेमा विशेष जोड दिनुभएको थियो ।

उहाँले नेपालको क्यालेण्डरलाई थपक्क टिपेर अमेरिकामा मात्र होइन युरोप, अष्ट्रेलियामा रहेका नेपालीहरुले समेत प्रयोग गरिरहेकोमा त्यो ठीक नभएको उल्लेख गर्नुभयो। अमेरिकामामात्र होइन, युरोप र अष्ट्रेलयामा पनि फरक परिरहेको छ। सूर्योदय र ग्रह नक्षत्र अनुसार मिलाउनुपर्छ’ उहाँले भन्नुभयो ।

दशैंको टीका अक्टोबर ७ माः यसैबीच नेपालमा अक्टोबर ८ मा बडादशैंको दशमी (टीका) को दिन परे पनि अमेरिकामा भने अक्टोबर ७ तारिकमै पर्ने ज्योतिषीहरुले बताए ।

अक्टोबर ७ तारिक सूर्योदयसँगै दशमी तिथि सुरु हुन्छ र अक्टोबर ८ तारिक बिहान साढे ४ बजेसम्म रहन्छ। अक्टोबर ८ तारिक बिहान सूर्योदय नहुँदै एकादशी तिथि अमेरिकामा सुरु भैसकेको हुन्छ। अर्का ज्योतिषी मेघराज निरौलाले भन्नुभयो। बडादशैको टीका दशमीको दिन देवी विसर्जन गरेर लगाउने परम्परा रहेकोले अक्टोबर ७ मै लगाउनुपर्ने भनाई डा भट्टराईको समेत थियो ।

अक्टोबर ८ तारिकमा दशमी तिथिनै छैन अमेरिकामा । बिहान साढे ४ बजेनै दशमी तिथि सकिएर एकादशी लाग्छ । तसर्थ अमेरिकाको लागि बनेको पात्रोलाई ग्रहण गरेर टीका लगाउनुको विकल्प छैन भट्टराईले भन्नुभयो ।

नेपालमा भने अक्टोबर ८ तारिकमा टीका रहेको छ। अमेरिकामा एक दिन अघिनै लगाउनुपर्ने ज्योतिषीहरुको भनाईले नेपाली समुदाय अन्यौलमा परेको छन्।

अन्यौलमा पर्ने कुरानै होइन यो, पात्रोलाइ स्विकार गरेपछि त्यसै अनुसार तिथि र पर्वलाइ पनि स्विकार गर्नुपर्छ डा. भट्टराईले भन्नुभयो। बडादशैंको टीका भनेको आश्विन शुक्ल पक्षको दशमीको दिन लगाउने हो, अमेरिकाको भूगोल, ग्रह, नक्षत्रलाई हिसाब गर्दा ७ तारिकमा मात्र दशमी तिथी छ, उहाँले उल्लेख गर्नुभयो ।

नेपालमा ग्रहण लाग्दा जसरी अमेरिकामा देखिदैन र अमेरिकामा लाग्दा नेपालमा देखिँदैन त्यसैगरि पर्वहरु पनि सुरुवात हुने समय पर्ने तर्क उहाँहरुको थियो ।

अन्तरकृया कार्यक्रममा ड्यालसमा नवस्थापित पृथ्वीनारायण शाह स्मृति तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद पाण्डे दीपकले अमेरिकाको नेपाली समुदायलाई परेको द्विविधालाई हटाउन क्यालेण्डर प्रकाशित गरेर यस वर्षदेखि वितरणमा ल्याएको जानकारी दिनुभयो। चुनाव गरेर पर्व मनाउने होइन, पञ्चाङ्ग निर्णायक समितिले अमेरिकाको लागि तयार पारेको क्यालेण्डरलाई आधार मानेर मनाउनुपर्छ, पाण्डेको भनाई थियो ।

कार्यक्रममा ड्यालसस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरका मुल पूजारी डा शेखर पण्डितले समय पूर्बबाट पश्चिमतिर सर्दै गए जसरी तिथि भने पश्चिमबाट पूर्बतिर सर्दै जाने भएकोले कतिपय तिथिहरु अमेरिकामा पहिले पर्ने गरेको उल्लेख गर्नुभयो। शास्त्रीय रुपको चलन ल्याउन लागेका छौँ, त्यसका लागि समुदायमा भिज्न र बुझ्न केही समय लाग्ने भएकोले अप्ठेरो महसुस भएको छ, उहाँले भन्नुभयो । उहाँले अब विस्तारै मिल्दै जाने समेत उल्लेख गर्नुभयो ।

अमेरिकामा रहेको भारतीय समुदायले पनि अमेरिकाको भूगोल, सूर्योदय, ग्रह, नक्षत्रका आधारमा क्यालेण्डर बनाएर प्रयोगमा ल्याइसकेका छन्। नेपालीभाषी भुटानी समुदायले पनि अलग्गै क्यालेण्डर प्रचलनमा ल्याएका छन्।

नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज भण्डारीले गर्नुभएको थियो। कार्यक्रम आयोजना गर्नुको उद्वेश्यका बारेमा क्षेत्रीय संयोजक रामचन्द्र भट्टले प्रष्ट्याउनुभएको थियो। कार्यक्रममा उपस्थित सञ्चारकर्मी तथा सहभागीहरूले निकै चाखपूर्ण रूपमा जिज्ञासा राखेका थिए ।

सचिव

सुरज भण्डारी

नेपाल अमेरिका पत्रकार संघ