करार अनुसार नजानु, एक्लै दौडिनु र सामुदायिक भवन बन्छ भन्नुले शंका पैदा गर्छ - थापा

Hollywood Khabar September 19,2018 Comments

राजेश थापा/सान फ्रान्सिस्को
करिव ११/१२ बर्ष पहिला देखि सान फ्रान्सिस्को बे एरियामा नेपालीहरुको धार्मिक, सांस्कृतिक, जीवनकर्म जस्ता गतिबिधिहरुलाई प्राक्टिस गर्नको लागि एउटा सामुदायिक भवनको कुरा चलेको थियो। त्यो कुरा पूरा गर्न भनेर दर्जनौ होइन सयौं बैठक भए होलान, अनगिन्ति प्रयास र विचार गरियो होला अनि पछिल्लो पटक विभिन्न संस्था र व्यक्तिहरुको बीच एउटा करार पनि गरियो।

लामो समयको कस्सा-कस्सी पछि नेपाली सामुदायिक भवन बनाउन कसरी सफल भइन्छ भनेर बिभिन्न संघ-संस्था प्रतिनिधि र व्यक्तिहरु समेत बसेर पाँच बुदे समझदारी गरियो। विगतमा सो भवन बनाउने भनेर गरिएका सबै सहमति र संझौताहरुमा टेकेर त्यो करार भएको थियो। करार सबैलाई समेटेर काम अगाडि बढाउन गरिएको एउटा कदम थियो।

करारको उपादेयता भनेको सबै साझेदार संस्थाहरुको सहमति र सपोर्टमा काम अगाडी बढ्नुपर्ने थियो। तर हाल सम्म भएका मुख्य निर्णयहरुमा कुनै पनि साझेदार संस्थाहरुलाइ थाहा नै दिइएको छैन। चाहे त्यो सामुदायिक भवन बनाउने जग्गा खरिद गर्दा हो या आर्थिक पार्टोको लागि गरिएको पुराण वाचनमा नै किन होस्। अझै भनौ ति सबै जानकारी गराउन आयोजित पत्रकार सम्मेलन जस्ता साना-ठूला कुराहरुमा मै पनि संझौता तोडिएको छ। प्रष्ट भन्नुपर्दा, करारका अर्थात संझौता अनुसारका साझेदारहरुलाई वेवास्ता गरिएको छ। यसर्थ एकल रुपमा पिङ्ग मच्चाउने झड्का र कथा वाचन जति गरे पनि किन बर्षौ सम्म पनि काम भएको छैन त भनेर ऐले आएर बिचार गर्नुपर्ने बेला भएको छ।  

यदि सामुदायिक भवन नबनाउने हो भने भोलि देखि सबैले सामुहिक रुपमा माफी मागौं, ज-जसले आर्थिक योगदान दिएका छन् उनीहरुको रकम फिर्ता गरौँ र सबै चुप लागेर घर बसौ। होइन, त्यसो नगर्ने हो भने संझौता अनुसार गतिबिधि र काम गरौ। काम राम्रो हुन्छ, संस्था सहि रुपमा चल्छ भने पद र नेतृत्वमा जो बसे पनि हुन्छ।

यो अन्तिमको १० बर्षमा कति धेरै नेपाली समुदायमा यस्ता भवन बनिसके र बन्दैछन्। तर हामी भने तिनै कथामा को नेता, कसको नाम आउने र को प्रचारक हुने भन्दैमा अल्झेका छौ। यति मात्र होइन मेरो कुर्सी र पालो नआउला, म खादा ओड्न नपाउँला, माइक समाउन नपाउँला भनेर प्रलोभनमा जाने, करारका साझेदारहरु, सम्मानित व्यक्ति र संचार सबैलाई वेवास्ता गर्ने हो भने यो काम कहिल्यै पनि पूरा हुँदैन।

होइन काम गर्ने नै हो भने, तत्काल ति संझौताका साझेदारहरुको बैठक बोलाउनु पर्यो। सबै गतिबिधि जानकारी गराउनु पर्यो। एउटा बिधान बनाउनु पर्यो, बिधानमा संस्था संचालन, निर्वाचन बिधि, नेतृत्व छनोट प्रक्रिया, आर्थिक नीति, संस्था बिकास जस्ता मुख्य कुराहरु समेट्नु पर्यो।

तेही बिधान अनुरुप साधारणसभा गर्दै नयाँ नेतृत्व चयन गर्नु पर्यो। एउटा निर्वाचित र सम्मानित टोलीले मात्र सबैको कुरा समेट्न सक्छ।

यसमा मेरो व्यक्तिगत कुरा केहि पनि छैन। सफलताको लागि दिने विकल्पको लिस्ट मसंग तयार पनि छ। सबैको विचार र सोच जोडेर एउटा सफलताको गाथा बनाउन सकिन्छ। यो अभियानलाइ संस्थागत रुपमा लैजानुपर्यो मात्र भन्ने मेरो आशय हो।

यसरी व्यक्तिगत रुपमा जानु, गरिएको संझौता अनुसार नजानु र सामुदायिक भवन बन्छ भन्नुले समाजमा झनै शंका पैदा गरेको छ। यति मात्र होइन विश्वासमै संकट आएको छ। त्यसै कारणले गर्दा कालान्तरमा हामी सबै यो अभियानमा असफल हुन्छौ। त्यो बेला असफलताको दोष कस-कसले लिने ? करारका सबैले कि केहि व्यक्ति ले ?