-प्रेम लामा

लघुकथा-मित्रता र मिर्गौला

Hollywood Khabar March 21,2019 Comments

एउटा गाउँमा रामे र श्यामे थिए । दुबै जना एकदमै गरीव थिए। दुबै जना एकदमै मिल्थे। एक अर्कामा सुख दु:ख साटासाट गर्थे। गाउँ नजिकैको खोलामा माछा मारी बजारमा बेचेर जीवन गुजारा चलाउने गर्थे।

गाउँमा धेरै खोला थिएन । दैनिक खोलामा माछा मार्दा खोलाका माछा नै निख्रिन पुग्यो। खोलाको माछा निख्रिए पछि उनीहरुको दैनिकीमा समस्या उत्पन्न हुन थाल्यो । गाउँ छाडेर मुग्लान पस्ने निर्णयमा पुगे।

मुग्लानमा दुबै जनाले एकदमै मेहनतका साथ काम गर्न थाले। दुबैको मेहनतले लाखौ रकम जम्मा गर्न उनीहरु सफल भैसकेका थिए। गाउँ फर्केर राम्रो घर बनाउने र विवाह गर्ने निष्कर्षमा उनीहरु पुगे। तर अचानक काम गर्दा गर्दै श्यामे वेहोस हुन पुग्यो ।

श्यामेलाई बोकेर रामे हक्कानिदै अस्पताले पुगे। श्यामेको दुवै मिर्गौलाले काम नगर्दा उनी बेहोस भएका रहेछन् । एउटा मात्रैमिर्गौलाला दिने कोही भए श्यामेलाई बचाउन सकिने चिकित्सकले रामेलाई सुनाए। रामेले गह भरी आँशु झार्दै श्यामेलाई बचाउन डाक्टरको खुट्टा समाउन पुगे।

डाक्टरले रामेलाई भन्यो, एउटा मिर्गौला तिमी दिन सक्छौ भने श्यामेलाई बचाउन सकिन्छ । मिर्गौला झिक्दा तिमीलाई खतरा पनि हुन सक्छ । श्यामे बचाउन एउटा होइन मेरो दुबै मिर्गौला दिन तयार छु डाक्टर साहेव। प्लिज मेरो श्यामेलाई छिटो बचाउनुस् भन्दै रामे मिर्गौला दिन तयार भए।

अस्पतालको एउटा बेडमा श्यामे मरेतुल्य अवस्थामा सुतिरहेको थियो। अर्को बेडमा रामेको मिर्गौला निकाल्न डाक्टरको टोली व्यस्त थिए। रामेको मिर्गौला श्यामेमा प्रत्यारोपण गर्न डाक्टर सफल भए। श्यामेमा क्रमिक सुधार हुँदै गयो। श्यामेमा आएको सुधारले रामेको आँखाबाट आँशु बगिरह्यो। साथीलाई बचाउन सकेकोमा उसको आँखाबाट आँशु झरीरहेको थियो ।

तर रामेको स्वास्थ्य अवस्था झन् झन् बिग्रँदै गयो। रामेको बाँकी रहेको एउटा मिर्गौलाले काम गर्न छाडिसकेको रहेछ। श्यामे पहिल्यैको अवस्थामा फर्किए। तर श्यामेले आफ्नो साथी रामेलाई बचाउन सकेनन् ।