NCC तालिमको दीक्षान्त

उपप्रधान तथा रक्षामन्त्रीद्वारा दीक्षान्त कवाजको निरीक्षण

Hollywood Khabar February 11,2019 Comments

राष्ट्रिय सेवा दलका सह संरक्षक माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले NCC तालिमको दीक्षान्त कवाज निरीक्षण गर्नुभएको छ।

मन्त्री पोख्रेलले २०७५ माघ २९ गते सेवा दलद्वारा सञ्चालित सि सं १४ सिनियर डिभिजन र सि सं ४५ जुनियर डिभिजन NCC तालिममा सहभागी क्याडेट छात्रछात्राहरुको वार्षिक सामुहिक क्याम्पहरु मध्ये नवलपरासी जिल्लाको हात्तीखोरस्थित राष्ट्रिय सेवा दल, मध्य तालिम शिक्षालयमा सञ्चालन भएको चौथो चरणको सिनियर डिभिजन NCC तालिमको दीक्षान्त कवाज निरीक्षण गर्नु भएको हो।

अनुशासित, मर्यादित, संस्कारयुक्त नागरिक, सामाजिक दायित्व, राज्यका संस्थाहरु प्रति सम्मान, मुलुक प्रति समर्पित, राष्ट्रियताको लागि नेतृत्व तथा व्यक्तित्व विकास, सामान्य सैनिक कला, विपद् व्यवस्थापन र विपत्तिको समयमा स्वयमसेवकको रुपमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले नेपाली सेनाले नेपाल अधिराज्य भरिका विभिन्न निजी तथा सरकारी विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरु सहभागी गराई यो तालिम बि.सं. २०२२ बाट सञ्चालन गर्दै आईरहेको छ ।

सोही अवसरमा उक्त शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी अर्जुन खड्काबाट तालिम सम्बन्धी ब्रिफिङ भए पश्चात माननीय उपप्रधान तथा रक्षामन्त्री श्री पोखरेलले क्याडेटहरुबाट हुने मोटिभेशनल ब्रिफिङ्ग तथा विभिन्न प्रदर्शनीहरुको अवलोकन, क्याडेटहरुलाई दर्ज्यानी चिन्ह प्रदान, शिल्ड तथा पुरस्कार वितरण, विद्यालयहरुलाई प्रशंसापत्र प्रदान गर्नुको साथै क्याडेटहरुलाई सम्बोधन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु लगायत सम्बन्धित विद्यालयका शिक्षक र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

साथै निरीक्षण भ्रमणको सिलसिलामा माननीय उपप्रधान तथा रक्षामन्त्री पोखरेल २०७५ माघ २८ गते उक्त तालिम शिक्षालयतर्फ प्रस्थान गर्नु भई काठमाण्डौं फिर्ता हुनुभएको कुरा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ।