लाप्राकमा जीविकोपार्जन कार्यक्रम गर्न लूथरियन वर्ल्ड फेडरेशनबीच सम्झौत

Hollywood Khabar August 31,2017 Comments

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लाप्राकमा निर्माण गरिरहेको नमूना बस्तीमा जीविकोपार्जन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न लूथरियन वर्ल्ड फेडरेशन र गैरआवासीय नेपाली संघवीच सम्झँैता भएको छ।
शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रममा संघका अध्यक्ष शेष घले र फेडेरेसन नेपाल देशीय निर्देशक डा. प्रविन मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
हस्ताक्षर कार्यक्रममा आफ्नो मन्तब्य राख्दै फेडेरेसनका देशीय निर्देशक डा. मानन्धरले लाप्राकजस्तो विकट स्थानमा संघले नमुना वस्ती निर्माण गर्न लागेकोमा प्रसंसा गर्नुभयो । सुरक्षित घरसँगै त्यहाँ जीविकोपार्जनको ब्यबस्था हुन सके लाप्राक वस्ती साँच्चिकै नमुना हुने भन्दै उहाँले स्थानीय वासिन्दालाई सीपयुक्त बनाउन सहकार्य गर्न लागिएको बताउनुभयो।
पूर्वाधार तथा सीप बिकास र आयआर्जनका क्षेत्रहरुमा फेडरेशनले नेपालमा काम गरेको तीस बर्ष भई सकेको र यसबाट सिकेका पाठ र ज्ञानहरुको उपयोग गर्दै लाप्राकमा पनि गरिने उहाँले बताउनुभयो ।
फेडेरेसनले लाप्राकका स्थानीय वासिन्दालाई जिविकोपार्जनका दिगो उपायहरु अबलम्बन गर्न सक्नेगरी आयआर्जनका क्षेत्रहरु सिर्जना गैरआवासीय नेपाली संघसँग मिलेर काम गर्ने जानकारी दिनुभयो । एनआरएनएजस्तो संस्थासँग सहकार्य गर्न पाएको खुसी ब्यक्त गर्दै उहाँले यसका लागि सहजीकरण गरिदिनुहुने संघका सल्लाहकार डा. गणेश गुरुङ र नवराज गुरुङप्रति आभार प्रकट गर्नुभयो ।
संघका अध्यक्ष घलेले लाप्राकमा केवल वस्ती बनाउनेमात्र नभई स्थानीय वासिन्दाका लागि आयआर्जन र जीविकोपार्जनका लागि दिगो विकल्पहरु पनि सिर्जना गरिदिन संघले पहल गरेको बताउनुभयो । सोही चिन्ता र चासोका कारण संघले लूथरियन वल्र्ड फेडरेशन जस्तो अनुभवी र परिपक्क संस्थासँग सहकार्य गर्न अग्रसर भएको उहाँले बताउनुभयो ।
अध्यक्ष घलेले नेपालमा सहयोग गर्ने पवित्र चाहनाले काम गर्न खोज्दा पनि सहज नभएको तितो यथार्थ रहेको उल्लेख गर्दै त्यो परिस्थीतिसँग फेडेरेसनसमेत जानकार रहेको हुँदा यो सहकार्य दिगो हुने अपेक्षा गर्नुभयो ।
कार्यक्रममा संघका महासचिव, प्रवक्ता, महिला संयोजक, सल्लाहकार तथा अन्य गैरआवासीय नेपाली अगुवा एवं फेडेरेसनका कर्मचारीको पनि उपस्थीति थियो ।
रञ्जु थापा वाग्ले,
प्रवक्ता,
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्
१ सेप्टेम्वर २०१७