तस्बिर वेब

खानेपानी मन्त्री कै जिल्लामा खानेपानीको अभाव: आर्सेनिक र आइरन युक्त पानी पिउन बाध्य

Hollywood Khabar May 18,2019 Comments

५ जेठ कञ्चनपुर।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका स्थानीय बासिन्दाका घर नजिकै सार्वजनिक धारा बनाइएका छन् तर,स्थानीय बासिन्दाले अझै हातेपम्पकै आर्सेनिक र आइरन युक्त पानी पिउनु परेको छ।

फुलेली खानेपानी आयोजना निर्माण भएको २४ वर्ष बितेको छ।आयोजना निर्माण भएपछि दुईपटक मर्मतसमेत भएको छ।अझै पनि धारामा पानी आइपुगेको छैन।आयोजनाको दुईपटक उद्घाटन गरिए पनि धारामा एक थोपा पानी पाउन नसकिएको स्थानीयवासी लक्ष्मीदत्त जोशीले बताए।

‘खानेपानी आयोजना निर्माणपछि सहजरूपमा पानी पाउने आशामा थियौँ’उनले भने,‘धारामा पानी नआउँदै उद्घाटन गरियो।पानीपछि आउँछ भन्थे, अहिलेसम्म आएको छैन।’शुद्ध पेयजल उपलब्ध नहुँदा हातेपम्पको असुरक्षित पानी पिउनु परेको उनले बताए।
विसं २०५२ मा स्थापना भएको खानेपानी आयोजना निर्माणमा रु ८३ लाख रकम खर्च गरिएको थियो।धारा पानीमा रहेको खानेपानीको बाँध बाढीले बगाएपछि पुनःरु ४० लाख खर्च गरेर गिठेमा बाँध बनाई पानी ल्याउने भन्दै कार्य अगाडि बढाइए पनि बस्तीसम्म पानी पुग्न सकेन।‘खानेपानी आयोजना मर्मतका लागि वर्षेनी बजेट आउँछ भन्ने सुनिएको छ, त्यो कुन ठाउँमा खर्च हुन्छ थाहा हुँदैन’,स्थानीयवासी पवन हमालले भने।

फुलेली चुरे नजिकैको ठाउँ भएकाले हातेपम्प गाड्नसमेत धेरै रकम खर्च गर्नु पर्दछ।आर्थिकरूपमा विपन्न परिवारले हातेपम्पसमेत गाड्न नसक्दा खानेपानीका लागि अरुकै भर पर्नुपर्ने बाध्यता छ।‘खानेपानी आयोजनाका पाइप खेत भएर गाड्न थालेपछि निकै उत्साहित थियौँ’,स्थानीय बिजुलीदेवी धामीले भनिन्, ‘घर नजिकै धारा बनाइँदा सहजरूपमा खानेपानी पाउने भयौँ भनेर खुशी थियौँ,धारा निर्माण भएको वर्षौं बितेपनि पानी नपाउँदा निराशा मात्रै हात लागेको छ।’फुलेली खानेपानी आयोजना निर्माण समितिको म्यादसमेत धेरै अघि नै सकिएको छ।

वडाध्यक्ष बहादुरसिंह महराले मर्मतका लागि वर्षेनी आउने बजेटबारे आफूले पनि सोधखोज गरिरहेको बताए। ‘मर्मतका लागि आएको बजेट दुरुपयोग भएको रहेछ भने कारवाही प्रक्रिया अगाडि बढाउन तत्पर छु’,उनले भने। यस्ता खानेपानी आयोजना भूस्खलन, बाढीलगायतका कार्यले बढी क्षति हुने भएकाले मर्मतका नाममा रकमको दुरुपयोग बढी हुने गरेकाले यसको विकल्पमा भूमिगत खानेपानी आयोजना निर्माणको काम अगाडि बढाइएको उनले बताए।‘पिउने पानीको अभाव पूर्ति गर्न दुई खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइरहेका छौँ’, उनले भने, केही वर्षभित्रै आयोजना निर्माणको कार्य पूरा गरी सर्वसाधारणलाई शुद्ध पानी उपलब्ध गराउँछौँ।’