कथा ट्याक्सी स्टायाण्डकी युवती !

0
shares

by Soni Sharma | Updated: 31 May 2020

184 views
  कथाकार अभिमन्यू दिपक 

साउनको अन्तिम सातातिर होला सायद शुक्रबारको दिन सञ्चयकोषको अफिसको कामले रातको नौ बज्यो । अफिसबाट तल ओर्लिएँ । अघिपछि ठमेलमा छ्यासछ्यास्ती भेटिने ट्याक्सी आज शुन्य थियो । घरसम्म पुग्नलाई माइक्रो, अनि साझाबस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर कहिले पुग्ने चावहिल,पैदल यात्रा गर्ने दुस्साहस गर्न सकिन । त्यसकारण, ट्याक्सीको पखाईमा त्यहि अफिस मुन्तिरको पेटीमा उभिरहें । आडैमा एउटी युवती आएर उभिई । ठमेलको झिलीमिली उज्यालोमा उसको सुन्दरता सहजै नियाल्न सकिन्थ्यो । उ मतिर पुलुक्क हेरेर मुसुक्क मुस्कुराई । म पनि मुस्कुराएँ। उसले सोधी – “दाई ट्याक्सी कुर्नुभएको?”“हजुर ।” मैले जवाफ दिएँ । "म पनि ट्याक्सी कुरीरा’को हेर्नु न अहिलेसम्म एउटा ट्याक्सी देखिएको छैन ।” "म नि अघिदेखि ट्याक्सी कुरीरा’छु" भन्दै सोधें– “कहाँ जानुपर्ने हजुरलाई?”“धेरै टाढा त हैन, चावहिलसम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी ।उसको मुखबाट चावहिल फुत्कनासाथ म खै किन प्रफुल्ल देखिएँ।म मा नजानिदो उत्साह देखियो । भनेँ – “ए, हो र ? म पनि त चावहिल भाटभटेनी जाने हो नि !” “ए ! हो र ? उसो भए त रमाईलो हुने भो नी,आधा पैसाले घर पुगिनी भैयो ! हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त ! एक्लै जाँदा त ६०० जान्थ्यो ।” उसले यसरी खुशी ब्यक्त गरी मानौ उसलाई कुनै लोटरी पर्यो ।

मैले नि,"हो त नि !" है भन्दै फुरुङ्ग परेझैं गरेर टाउको हल्लाए । अनि यतिखेरसम्म ठमेलमा ! उसको कामको बारेमा जान्न मन लाग्यो कि खासमा ऊ के काम गर्छे ? र सोधे हजुर के गर्नु हुन्छ नि?उसले संक्षेपमा – “कलेज पढ्छु ।” भनेर दिएको जवाफ भुईंमा झर्न नपाउँदै मैले सोधें “ कतिमा पढ्नु हुन्छ नि ?” ।उसको सरल जवाफ पाएँ –“ यसै साल एम.बि.ए.ज्वाईन्ट गरेको ।” “केहि जबसब ?” "भर्खर बिश्वविद्यालय ज्वाईन्ट गर्याछु, पढाई सकाएर गर्नुपर्ला ।"उसले जवाफ दिई । "म चाहि यहि सञ्चयकोषमा लोन डिपार्टमेण्ट प्रमुखको काम गर्छु ।" उसले नसोधीकनै मैले आफ्नो काम भनिदिएँ।उसले मेरो जवाफ सुन्नासाथ संक्षेपमै जवाफ फर्काई उसले –“ म चाहि खास्सै कुनै जव गर्दिनँ !”यसरी जवाफ दिइरहदा मुसुक्क मुस्कुराई उ । “अनि चावहिल चाँहि किन जान लाग्नुभएको ?” मैले सोधेँ ।
उनले ,“मेरो डेरा नै उतै हो नि त त्यसैले।” भनी नसक्दै उनको बारेमा अझ बढि जान्न मन लागेर सोधें– “को को बस्नु हुन्छ नि डेरामा?” सहज जवाफ थियो-“म एक्लै !” “साँच्चै केहि जव गर्नु हुन्न?दिनभर घरमा दिक्क लाग्दैन ?” उनको कामका बिषयमा जान्न जबको कुरालाई जोड दिदै सोधेँ-“अँऽऽऽऽऽत्यस्तो खासै केहि काम त छैन । विश्वविध्यालय ज्वाईन्ट गर्याछु । कलेज फि तिर्न, यहाँ बस्ने खर्च चलाउन र घरमा बुढा बाबु आमालाई औषधी घरखर्च र भाई बैनीको पढाई खर्चमा थोरै भएनि सघाउनलाई अनकल पार्टटाईम सानो काम गर्छु ।” सरसर्ती उसले बताई । उनको त्यस्तो सबै कुरा धान्ने “ सानो काम ?” के रहेछ?, मैले आश्चर्य मान्दै उनलाई हेरिरहें ।

मेरो आश्चर्यचकित प्रश्नको जवाफमा उनले “ म मान्छेहरुको आमन्त्रणमा उनीहरुलाई जीवनको खुशी र सन्तुष्टी दिने सेवा पुर्याउँछु ।प्रष्टभाषामा भन्ने हो भने आई एम ए कर्लगर्ल !” बिना हिचकिचाहट जवाफ थियो उनको । अहँ ! अलिकतिनि लज्जा वा हिनताबोध वा आत्मग्लानीबोधको सानो धर्सा पनि उनको मुहारमा झल्किएको देखिनँ मैले । अचेलका युवतीहरु यति बोल्ड र स्ट्रोङ छन् है मनमनै सोच्दै म उनलाई हेरेको हेर्यै भएँ । धेरैबेर चुप लागेर बसेको देखेपछि उनले आफै सोधीन – “ मेरो कुरा सुनेर हजुर त बोल्नै छाड्नु भो पत्याउनु भएन ? म अहिले पनि यहाँ कसैले बोलाएर आएकी थिएँ तर यहाँ आईसकेपछि बोलाउने मान्छेलाई अलि सञ्चो भएन रे ! अनि कफी खाएर, हाफ सर्भिस चार्ज लिएर फर्किएँ । त्यसैले डेरामा फर्किन लागेको अहिले ।” उनको कुराले म नाजवाफ भएँ मसंग बोल्ने कुनै शब्द भएनन्, निशब्द रहेँ । दरबार मार्गतिरबाट एउटा ट्याक्सी हुत्तिदै हामीतिरै आयो । युवतीले आवाज दिईन् – “ट्याक्सी..” ट्याक्सी हामी अगाडी आएर रोकियो हामी ट्यक्सीमा चढ्यौं। “ हजुरको घर नै त्यहि हो र ?” ट्याक्सीभित्र बस्नासाथ युवतीले प्रश्न गरीँ । जबाफमा मैले भनेँ –“यता हैन । खासमा मेरो घर पाल्पा हो, ५ बर्ष भो यहाँ घर बनाएको ।”ट्याक्सी चालकले युवतीलाई हेर्दै सोध्यो – “कहाँसम्म जानुपर्ने हव हजुर ?” मैले जवाफ फर्काएँ – “चावहिल !” ट्याक्सी गुड्दासाथ उसको कामको विषयमा मलाई उनको कानमै सानो आवाजमा फुसफुसाउन मन लाग्यो । उनको कामको कुराले मलाई घोत्लिन विवश बनाउँदै थियो । त्यहि खसखसका बीच मैले सोधेँ –“यस्तो कामलाई मान्छहरुले राम्रो दृष्टीले हेर्दैनन् । हिनताबोध हुन्न हजुरलाई ?” मेरो छुद्र प्रश्नमा उनले हल्का झोक्किए झैं गरि जवाफ दिईन् र भनीन् – “ किन हिनताबोध हुनु ! छाड्नुस दुनियाँका कुरा,थोरै दुनियाँले मलाई पाल्छ , अनि मैले किन हिनताबोध फिल गर्नुपर्यो?” अधवैंसे जस्तो देखिने ट्याक्सी चालकले हामीतिर कौतुहलतापुर्वक पुलुक्क हेर्यो । 

“ क्षमा पाउँ है! मैले अलि बढी नै कोट्याए, हजुरको कामको बारेमा र हजुरलाई हर्ट गरे हैं ? आई एम भेरी भेरि सरी !” उसले मेरो टिठ लाग्दो भाव झल्किएको मुहारमा दृष्टीपात गर्दै माफ गरे झैं भाव झल्काई र भनी – “हैन हैन ठिकै छ ! केहि छैन ! हजुर मात्र हैन, धेरै भद्र मान्छेहरुलाई जब म मेरा सत्यताहरु लुकाउँदिन हजुरले जस्तै उनीहरु मति प्रश्नहरुको बर्षात गर्छन् – तिमीलाई हिनताबोध आत्मग्लानी हुँदैन ?” 

ट्याक्सी चालकले क्यासेट बजाईरहेको थियो ।उनले चालकलाई भनिनँ – “गुरुजि, भोलुम अलि सानो पार्नु न !” चालकले भोलुम सानो पार्यो । “हैन, किन यस्तो चुपचाप बस्नु भएको ? के भयो ?” मैले शुन्यतालाई चिर्दै सोधें । “हैन केहि भएको छैन ।”भन्दै टाउको हल्लाई ।
एकछिनको छोटो शुन्यता पछि उनले प्रश्न गरीन्– “हजुर म्यारिड हो ?” मैले निर्धक्क भनेँ – “ होईन खै अहिलेसम्म लगन जुर्याछैन । स्टील ब्याचलर्स !” “गर्लफ्रेन्ड नि ?” खै किन यस्तो प्रश्न गरी उसले । तैपनि जवाफ दिएँ –“पहिले थिई, अहिले छैन !” “मेरो जस्तै ठ्याक्कै ! झन मेरो त अफेयर शुरु भएको तीन महिना मै ब्रेकअप भा’को नी।” मैले नसोधीकनै उसले बताई।मैले जान्न चाहेँ –“अनि अहिले’नि ?”
ट्याक्सीभित्रै जिउ तन्काउँदै मुसुक्क मुस्कुराउदै “ सिंगल, टोटल्ली फ्रिडम ! जिन्दगी मस्त!” मलाई मनमनै लाग्यो, केटी मज्जाकी नै रैछे । मान्छे पनि राम्री नै हो । चल्तीका मोडल र नायिकाहरुको भन्दा कम थिइन उ । त्यो रातको समयमा नि मुहार उज्यालो देखिन्थ्यो । लामो कालोकेश ? उन्माद भरिएका बदामी आँखा कति राम्रा नि ! सलक्क परेको नाक खोट लगाउने ठाउँ छैन । मान्छे नि कोकोकोलाको बोतल जस्ती सिनित्त परेकी । तर कर्लगर्ल ! उनको यो सत्यता र वास्तविकता दिमागमा आउँनासाथ झस्किएँ ।

चावहिलचोकमा पुगेपछि ट्याक्सी रोकियो । उनी ओर्लदैं आधा भाडा दिन खोज्दै थिईन् युवतीले तर मैले भनें – “नो, नो, म दिन्छु हजुर जानुस ! ” युवती मुसुक्क हाँस्दै कहिलेकहि सेवा गर्ने अवसर पाउँछु होलानि हाकिम सा’बको । सेवा चाहिएमा सम्पर्क गर्नु होला भन्दै एउटा भिजिटिङ्ग कार्ड मेरो हातमा थमाउँदै, उ चावहिल गणेशथानतिरको बाटोमा बिस्तारै छायँ बन्दै रातको सन्नाटामा विलाई । उनलाई त्यहाँ छाडेर ट्याक्सी चुच्चेपाटीतिर लाग्यो । म उनै कलगर्लको बारेमा मनमनै सोच्दैथिए-"मान्छेहरुका आ-आफ्नै विवशता ! जीवन गुजाराका सबै बाटाहरु भन्दा त्यहि दुनियँलाई नभइ नहुने तर तिनै दुनियाँले घृणा गरेको सहजता पुर्वक गर्न पाईने काम ! सुरा र सुन्दरीका लागि मान्छे जे पनि गर्छन्। उनले ठिकै गरिन या गरिनन् त्यो मैले भन्न सकिन या भन्न चाहिन । तर पनि उनको काँधमा रहेको उनको बुढा बाबु आमा अनि भाई बहिनीको दायित्व र कर्तब्य निर्वाहाका लागि उनले सायद  का खोज्न सबै प्रयास गरिन होला तर अन्तत्वगत्वा केहिसिप नलागेर लाचार भएर उनले आफ्नो सुन्दरता आफ्नो शरिरको दुनियाँमा शानले जिउन जिवनसंग सम्झौता गरेकी हुन सक्छ । उनीसंग त सुन्दर शरिर थियो तर मैले त्यो लोकसेवाको जाँच पास गर्न नसक्या भए त म नि दिनभर गल्लीगल्ली हल्लिने गाँजा चुरोट या मदिरामा डुबाएर बस्थें होला किनकी मसंग उनीसंग जस्तो बिकल्प थिएन । "सर भाटभटेनी आईपुग्यो"-ट्याक्सी चालकको बोलीले मेरो मनको तरङ्ग छुट्यो । "ए हो र !" भन्दै भाडा दिएर रातको करीब दश बजिरहदा त्यो सन्नाटाले भरिएको सडकमा कुकुरहरुका भुकाईका आवाजको तालमा मेरा पाईलाहरु घरतिर लम्किरहेका थिए तर ति युवतीको बिषय भने दिमागमा अल्झिरहे कै थियो एउटा हल हुन नसकको प्रश्नका रुपमा ।