-Sarika Tamang

ढुंङ्गा जस्तै मनकी दरिली कान्छी दिदीको आत्महत्याको कारण अझै अनुत्तरित छ

Hollywood Khabar October 30,2020 Comments

सारिका तामाङ, ललतिपुर/१०/३१/२०२०

मानव भन्ने शब्द आफैंमा कति गहकिलो छ। तर समय र सन्दर्भले कहिले काहिँ यो मानव शब्द पनि फितलो भइदिन्छ। धेरै मानवहरु काम गरेर भन्दा सलिजो तरिकाले लक्ष्य विनाको जीवन जिउन रमाउछन। त्यो मानव म होस् या अरु जो कोहि पनि। मैले पनि आफ्नो पछिल्लो १० वर्षलाइ फर्केर हेर्दा त्यसै गरेको पाएँ। त्यो अन्तरालमा म कति पटक मानव रहें भने कतिपय पटक मानव रहिन।

कहिले काहिँ त यो दुनीयाँ, आफन्त, सन्तान, संगत, छिमेकी सबै अबुझ भएको जस्तो लाग्छ। यहि अनुभव मेरी आमाको हुन सक्छ, मेरो छ अनि मेरा सन्तानको पनि हुन सक्ला। तर त्यो अवस्थासँगै अरु हजार नालीबेली जोडिएको हुन्छ। केवल मलाइ चाह्राएको एउटा मात्र घाउ याद हुन्छ अनि अरु ओझेलमा पर्छन। हुन त हामी समाजको रित र चलनका कुरा गर्छौं। त्यो समयमा सत्य, खुशी, सुख र दुखका हजारौं कुरा हुन्छन। तर पनि हामीलाई कुनै एउटाले पिक गर्छ। हुन त हाम्रो नेपालको भित्री पाटोमा यस्ता अनगिन्ती कहानी लुकेका भेटिन्छ तर तै चुप मै चुपले गर्दा आज कुनै घटना घट्यो भोली विचरा विचरी भन्यो अनि पर्सी बिर्सियो। यसैगरी हाम्रा हजारौं कुरा यसरी नै हराएका छन्, अनुत्तरित छन्।

आज मलाइ पनि एउटा सत्य घटना कोर्न मन लाग्यो। करिव ३/४ वर्षपछि कसैको बारेमा लेख्ने जमर्को गरेकी छु। कतिलाई मन पर्ला कतिलाई गफ नै हो जस्तो लाग्ला। तर पनि यो सत्य घटना भएकोले कसैलाई मन पनि छुन सक्ला। जे जसो भएपनि कुरा चाहिँ अगाडी बढाउने निर्णय गरें।

कान्छी दिदीको सानै उमेरमा विहे भएको हुन्छ। त्यो समय उनको लागि पनि उखर्माउलो थियो होला। तर उनलाई सासु-ससुरा, लोग्ने निर्देशन सबै एकै पटक पर्नगयो। विचरी कान्छी दिदी माया नमोह कसैको काम नियमति थिइन। उनको घरमा लोग्नेको माया भनेको ओछ्यानमा मात्र थियो। गारो सांग्रो भयो भन्ने कोही छैन, मनै कटक्क खान्थ्यो होला। जसरी भए पनि समय त बितिहाल्दो रहेछ। एक छोरा एक छोरीको आमा पनि हुन्छिन् कान्छी दिदी।

समय अलिकति फेरिन्छ। दैनिकीमा दुइ सन्तान पनि थपिए। दु:ख बिर्सिन्छिन छोराछोरीको मुख हेरेर म सुखी छु भन्ने मन हुन्थ्यो। तर दुखीको कर्ममा सुख लेखेको हुदो रहेनछ। बिहे भएको दश बर्षमा नै कान्छी दिदीका श्रीमान जन्डिसले उनीबाट मात्र होइन यो संसारबाट नै बिदा हुन्छन। अब उनलाई हात-मुखको लागि पनि संघर्ष गर्नुपर्ने भयो। छोराछोरीको जिम्मेवारी कसरी निभाउने कान्छी दिदी भित्र-भित्रै आतिन्छिन।

तर अच्चमको कुरा भग्वानले नारीलाई शक्तिवान नै बनाको रहेछ भन्ने पनि लाग्छ। छोराछोरीको मायाले हो वा भगवानको साथले कान्छी दिदीले आफ्नो छोरा-छोरीलाई एउटा असल नागरीक बनाउन सफल हुन्छिन। त्यहि ठाउँमा कान्छी दिदीका श्रीमान् भएको भए अर्को बिहे गरेर अरु थप सन्तान जन्माउँद होलान। तर पनि कान्छी दिदीले छोराछोरीको उन्नत्ति गर्न लागिन। पछिल्लो समय आफ्ना सन्तान हुर्केको देखेर केहि खुशी पनि देखिन्छिन। छोराछोरीको एकै लगनमा विहे हुन्छ। अनि आफ्नो दैनिकी पनि राम्रै चलेको हुन्छ।

यस्तैमा एक दिन छोरी घर आई, आमा ज्वाई विदेश जाने रे यहाँ काम राम्रो भएन, दुई लाखले गर्दा रोकिएको छ। जसरी भए नि मिलाउनु, दुई महीनामा म फिर्ता गर्छु। यसरी छोरीले मरिहत्या गरेको देखेपछि आमा नै हो छोराले जग्गा किन्नको लागी राखेको पैसा दिदै भन्छिन, यो भाइले जग्गा किन्न राखेको पैसा हो, जसरी नि दुई महीनामा फिर्ता गरेस है। अब म बुढी पछि यता न उताको होला।

छोरीले सर्त स्वीकार्दै पैसा लिएर गइन। नभन्दै पन्द्र दिनपछि कान्छी दिदीका ज्वाई पनि दुबाई उडे। कान्छी दिदीका सबै बिछोडको दु:खसँगै उज्ववल भविस्य पाउने आशाको खुशी पनि देखिन्थ्यो। तर यो खुशी धेरै दिन रहेन। काम गर्न गाह्रो भयो भनेर दिदीका ज्वाई एक महिनामा नै नेपाल फिर्ता आए। कान्छी दिदी र उनकी छोरी दुवै छानाबाट खसे झैं भए। अब छोराको अगाडी कसरी के गर्ने भन्ने तनाबमा कान्छी दिदीले सुत्दै नसुती रात कटाइन।

भोली पल्ट विहान मन दरो बनाई छोरालाई सबै कुरा भन्छिन। कुरा सुन्ने बितीकै छोरा रनक्क रन्किनछ। छोरोले दिदीलाई फोन गरी तुरून्तै आउनलाई भन्छ। दिदीभाइको ठुलै रडाको पर्छ।कान्छी दिदी टुलुटुलु हेर्न बाहेक केही गर्न सक्दिनन। त्यो सुखी संसारमा अब दैनिक नै आगो बल्न थाल्छ। लाख रुपैयाँ भन्दा पनि छोरीले पैसा फिर्ता गर्न सक्दिन, छोरा रातदिन आमालाई किचकिच गरिरहन्छ। कान्छी दिदी हतास भईन। जिवनबाट वाक्क लाग्न थाल्छ उनलाई। उनको कोहि साथ् र मन फुकाएर कुरा गर्ने कोहि हुँदैनन। मान भारी हुन्छ, रून नि डर छ उनलाई, कतै छोराले गाली गर्ने हो कि भन्ने डर। हुन पनि त छोरालाई नसोधी पैसा दिएर त ब्यवहार बिग्रेको हो। उनलाई दिक्क लाग्छ, घोरिएर बस्ने बानी पर्छ।

उनलाई आजकल निन्द्रा लाग्दैनथ्यो। निकै बेर सुत्न कोसिस गर्दा कहिले निदाउँथिन त कहिले निदाउँदैनथिन। एक दिन ओर्कीने र फर्किने गर्दा-गर्दै बल्ल-बल्ल बिहानको ५ बजे उनि उठेर बस्तुलाई कुँडो पकाइ दिन्छिन। एक कप कालो चिया पिउदै के सोचछिन कुन्नि गाइको दामलो लिएर गोठमा पस्छिन। डोको माथि चडि त्यहि दाम्लोको पासो लगाइ आफ्नो देह त्याग गर्छिन।

९ बजेतिर बस्तुभाउ कराएको सुनेर छिमेकी महिला आइन। भित्र हेर्दा कान्छी दिदीको त्यो अवस्था देख्छिन। हारगुहार गरी सब छिमेकी बोलउछिन। कान्छी दिदीको छोरा पनि आउँछ। आमालाइ देखेर डाको छोडी रुँदै बहिनीतिर पछारिन्छ। प्रहरी बोलाइन्छ, कानुनी प्रक्रिया र अनुसन्धान पछि लास आफन्तलाइ बुझाइन्छ। अनि सबै छिमेकी मेलेर कान्छी दिदीको अन्तिम संस्कार गर्छन।

त्यो दिन एउटा अनर्थको घटना पनि घट्छ। केहि समय अगाडि सम्म दिदीको शरिरमा भएको गहना एकै छिनमा हराइ सकेछ। बिडंमबना, मृत्तको शरिरबाट गहना चोर्ने समाजका तिनै व्यक्तिहरुले जिउँदो हुँदा उलाई कति सताए होलान ?

अन्तमा; जीवन भरी छोरा-छोरी भनिन कान्छी दिदीले, आफ्नो लागि केहि पनि गरिनन् अनि मरेर पनि सुख पाइनन। अझै पनि छोराले पैसा दुबाइन अनि मारिन भन्ने आरोप लगाउँछ अनि समाजले आत्महत्या गरेर हामीलाई दुख दिइ भन्ने समाजको आरोप। त्यसैले अलिकति खुसी र सुख आफूलाई पनि खर्च गरौँ, जसले बाँच्ने आधार जगाई राख्छ। त्यसिले त एउटा प्रशन अझै पनि रहन्छ, त्यो हद सम्मको दुख गरेर आएकी साहसी कान्छी दिदीले आत्मा हत्या किन गरिन ?