-Ram Prasad Niraula

कविता र म

Hollywood Khabar July 05,2020 Comments

-रामप्रसाद निरौला, सुकेधारा , काठमाडौँ/७/६/२०

खै के को छ प्रवाह यो हृदयमा, के को छ आकर्षण ?
खै को ! प्रेरित गर्छ लेख्न कविता ? यी शब्द संप्रेषण !
धर्तीमा म स्वयम् बनेर कविता आऊँ कि झैँ लाग्दछ
मान्छेको दिलभित्र लेख्न कविता जाऊँ कि झैँ लाग्दछ ।१।

आविर्भाव भएर भित्र कविता जान्छिन् कता हो कता ?
सम्झी भाव बुझेर मात्र कविता के लेख्न सक्थेँ म ता !
बग्दा बन्दछ भव्य दिव्य झरना सिर्जेर सिर्जिन्न त्यो
माया भित्र कता कता छ मनमा आल्हाद बेग्लै छ त्यो ।२।

तिम्रै दिव्य स्वरूप घुम्छ मनमा खोजी नयाँ सिर्जना
देखाओस् जसले अपार सुखको सौहार्द सम्भावना
बर्साओस् सबमा खुसी रहरका सन्तुष्ट होऊन् जन
बिर्सून् दु:ख सबै , सदा सफल होस् संसारमा जीवन ।३।

हावामा , वनमा , पवित्र मनमा छोएर जान्छिन् यिनी
हाम्रा दु:ख र आर्तनादहरूमा रोएर जान्छिन् यिनी
भाषामा रस बग्दछन् अमृतका ओर्लेर आए यिनी
गाना बन्दछ दिव्य जीवन- कला संसार घुम्छिन् यिनी ।४।

मेटाऊन् सब अन्धकार मनको अज्ञान चारैतिर
देखाऊन् झलमल्ल मार्ग कविता लम्की उज्यालोतिर
लैजाऊन् सुख-स्वर्गभित्र कविता होऊन् उनी साथमा
वार्तालाप छँदै छ प्रेममय यो एकान्तको रातमा ।५।

मेरो जीवनमा कठोर तपकी जो साधना छ्यौ तिमी
मायाकी प्रतिमूर्ति दिव्य रचना आराधना छ्यौ तिमी
दिन्छ्यौ जागृति नित्य भित्र मनमा उत्साह भर्छ्यौ तिमी
तिम्रै साथ म हुन्छु यो हृदयमा छ्यौ भित्र आफैँ तिमी ।६।