Prem Lama

होली कि लोली-होली मनाउने प्रवृति प्रति व्यङ्ग्यात्मक कविता

Hollywood Khabar March 18,2019 Comments

प्रेम लामा

अण्डा फोड्नै पर्ने होली
मोबिल दल्नै पर्ने होली
यस्तो कु-संस्कारले
के होला खै भोली ?

 

हिलो लाइदिनै पर्ने होली
जाँड-रक्सीमा रम्नै पर्ने होली
रङ दल्ने बाहानामा यहाँ
इच्छाविपरित रङ्ग्याइन्छ चोली
फोहोर पानी छ्याप्नै पर्ने होली
गाँजा-भाङमा लठ्ठिनै पर्ने होली
चार हात खुट्टा टेकेरै भए पनि
बेसुरमा नाच्नै पर्ने लुगा खोली

 

लोला हान्नै पर्ने होली
हो-हल्ला गर्नै पर्ने होली
कसैको प्रवाह नगरी
छ्याप्नै पर्ने रसायन घोली
डीजे बजाउनै पर्ने होली
कक्टेलमा झुम्नै पर्ने होली

 

सत्यको जित भाको दिन भन्थे
प्रतिकार नगरी दबाउनु पर्ने बोली
कटुता भुल्ने दिन रे होली
दुस्मनी बिर्सने दिन रे होली

 

यही पाराले त आपसी सम्वन्ध
कसरी प्रगाढ होला र भोली ?

वसन्त ऋतु ल्याउने दिन रे होली
सम्वन्ध रङ्गीन बनाउने दिन रे होली
विकृति-विसंगति अंगालि रहँदा
असम्झदारीले पो भरिने भो झोली