प्रा डा दुर्गा दाहाल
नेपाल अहिले इतिहासमै सर्वाधिक संकटको भुमरीमा परेको छ। एकातिर राष्ट्रिय राजनीतिमा दुहाई दिएर सत्तामा आसीन नेपाल कम्यूनिष्ट पार्टी-नेकपाको सरकारले जनताको आशा र अपेक्षा बमोजिम काम गर्न बिल्कुलै सकि रहेको छैन। उसले एक पछि अर्को गर्दै सरकारी रुपमा नै अपराधीकरण गर्दै गएको छ। अर्कातिर कमजोर प्रकृति र प्रवृतिको प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आफ्नै पार्टी भित्रको आन्तरिक कलहले गर्दा सबल भूमिका निर्वाह नगरेर अन्धो भएर बसी रहेको।
नेपाल कम्यूनिष्ट पार्टी कम्युनिजमको खोल ओढेर राष्ट्रियताको दुहाई दिएर अराष्ट्रिय गतिविधिमा संलग्न रहेको कुरा अहिले आएर छर्लंग भएको छ। आफ्ना कार्यकर्ता र मतदातालाई समेत गुमराहमा राखेर हिन्दु धर्म, भाषा, साहित्य, सँस्कृति र कला-कौशललाई समेत लत्याएर कृष्चियन धर्मको प्रचार प्रसारमा यस दलका शिर्षस्थ नेताहरू घुँडा टेकेर लागि परेका रहेछन।
नेकपाका तथाकथित मुर्धन्य नेताहरूले देशी, विदेशी दलालहरूको उक्साहट र निर्देशनमा जन इच्छा विपरीत कसैले नचाहेको र नमागेको धर्मनिरपेक्षता र संघीयता लादे। अब कसरी डलरको लोभमा सिमित र घृणित स्वार्थको ख़ातिर कुतत्व भित्र्याएछन भन्ने कुराको धेरै व्याख्या गरि रहनु पर्दैन।
नेपाली कांग्रेसका शीर्षस्थ नेताहरूले पनि इमान्दारीपूर्वक भन्नु पर्छ कि उनीहरूसंग चुपचाप बसेर उक्त दुई प्रस्तावहरूलाई समर्थन गर्नु पर्ने बाध्यता र विवशता किन थियो ? नेपाली काँग्रेसका कुन नेताहरूको यस कु-कृत्यमा मिलीभगत थियो या के?
नेपाली कांग्रेसका पिता महामानव बी पी कोइराला, लौहपुरुष गणेशमान सिंह र सन्तनेता किसुनजीले पनि राष्ट्रीयता, धर्म, भाषा र सँस्कृतिलाई ख़तरा रहेको कुरालाई हृदयंगम गरेका थिए। उनीहरुले संवैधानिक राजतंत्रको पक्षमा आफ्नो धारणाहरू राखेका थिए। त्यसैगरी, नेकपा एमालेका तत्कालीन नेता मनमोहन अधिकारी, जननेता मदन भण्डारी लगायतका कतिपय दुरदर्शी नेताहरूले पनि राष्ट्रियता संकटग्रस्त हुने भयले संवैधानिक राजतंत्रकै पक्षमा आफ्ना सारगर्भित विचारहरू राखेका हुन्।
तर विडम्बना ! अहिलेका शिर्षस्थ नेताहरूको अकर्मण्यता, अदुरदर्शिता, नेतृत्वहीनता, दास मनोवृत्ति र दरिद्र मानसिकताले गर्दा नेपाली सार्वभौम राष्ट्रको अस्मिता बलात्कृत भएको छ। जब राष्ट्रनै बलात्कृत भएको अवस्था छ भने जनताको हालत के हुन्छ ? कैयौँ निर्मला, बिमला, रमिला र प्रमिलाहरू दिनहुँ बलात्कार हुने नै भए।
प्रत्येक पार्टीका मुष्टिमेय र अपवादमा परेका नेताहरू बाहेक हरेक दलका नेताहरूले जनता र राष्ट्रियता माथि ग़द्दारी गर्दै आएका रहेछन भन्ने कुराको पोल क्रमश खुल्दै आएको छ। परम देशभक्त र सक्कली राष्ट्रसेवक भन्ने नेताहरू कतिसम्म देशद्रोही र राष्ट्रभक्षक रहेछन भन्ने कार्यहरूको पर्दाफ़ाश हुँदै आएको छ।
मुलुकमा भ्रष्टाचार, अत्याचार, अनाचार, बलात्कार व्याप्त छ। शान्ति-सुरक्षाको स्थिति कहाली लाग्दो छ। सिमा नियंत्रणमा छैन। बजार भाउ अनियन्त्रित र छाडा छ। विधार्थीहरू अपहरण र बलात्कारमा परेका छन। अन्धेर नगरीमा चौपट मंत्रीहरुको अव्यवस्थाको ताण्डव नृत्य विद्यमान छ।
संविधान एकातिर छ, कामकुरो अर्कातिर छ। सबै राजा र रानी भएका छन। कार्यकर्ताहरू पंगु नेताहरूका ठेकेदार भएका छन। म्यानपावरका दलालकहरू खुल्ला ठेक्का दिएर राजदूत भएका छन। राजनैतिक दलका भागवण्डामा उपकुलपति र प्रबन्धकहरू भएका छन। अदक्षहरु विभिन्न विभागहरूमा अध्यक्ष भएका छन।
यति मात्र होइन विदेशी राजदुतावासहरूले नेपाल मुलुक चलाउँदै छन। नेपाल देशका जनताले मतदान गर्छन तर भारतले प्रधानमंत्री र मंत्रीहरू तोक्छ। यो भन्दा ठुलो दुर्दशा र दुर्गति नेपालको इतिहासमा कहिल्यै भएको थिएन।
कम्युनिस्ट दलभित्र पनि देशभक्त र इमान्दार नेताहरू अझै नभएका हैनन। तर उनीहरू आफ्ना अग्रज नेताहरूका बारेमा बोल्न सक्तैनन। त्यो दलमा वैयक्तिक स्वतंत्रता हुँदैन। व्यक्ति माथि दल र दल माथि प्रमुख नेता हावी हुन्छ। यो दलले जन आस्था र विश्वास गुमाई सकेकाले अब यस्को पतन अवश्यम भावी छ। तर पनि अन्धो भएर बसेको नेपाली कांग्रेसले अलिकति बुझ्नु जरुरी छ।
नेकपा पतनका कारणहरू:
१. प्रधानमंत्री के. पी वलीको दंभ, व्यक्तिगत तथा एकांगी निर्णय र बालहठ
२. निर्मला हत्याकाण्ड
३. वाइडवडी जहाज़ प्रकरण
४. होली वाईन
५. व्याप्त भ्रष्टाचार
६. शुन्य दण्डहीनता
७. ग़लत सल्लाहकार मण्डली
८. सँधै सपना बाँडने, काम कम गर्ने
९. अनावश्यक कुरामा टीका-टिप्पणी गरि आँफै खाल्डामा पर्ने आदि-इत्यादि !
तर पनि जनताले नेपाली कांग्रेसलाई भारी मतले मतदान गर्ने छन भन्ने बिश्वास नेपाली कांग्रेसले दिलाउन सकेको छैन। कांग्रेसले जनचाहना र भावना बमोजिम काम गर्नु पर्ने कुरा अझै भुलेको छ।
यसका लागि नेपाली कांग्रेसले:
१. बी पीद्धारा प्रतिपादित राष्ट्रियता, प्रजातंत्र र (गणतंत्र ) समाजवादको आधारमा नीति-निर्माण र परियोजनाहरू बनाउने
२. अबको महाधिवेशनमा धार्मिक स्वतंत्रता सहितको हिन्दुराष्ट्रको पक्षमा जनमत बनाउने
३. संघीयता खारेज गर्ने निर्णय गर्ने
४. आधुनिक तथा वैज्ञानिक कृषि प्रणाली मार्फ़त मुलुकलाई औद्योगिकरण गर्ने
५. नेतृत्व बदल्ने र युवापुस्तालाई हस्तान्तरण गर्ने
६. देशमा घरेलू उत्पादन बढ़ाई स्वदेशी कल-कारख़ाना निर्माण गर्ने
७. राष्ट्रिय पूँजीको निर्माण गर्ने
८. पार्टीगत व्यापक संगठन र प्रशिक्षण कार्यक्रम संचालन गर्ने
९. भ्रष्टाचार रहित शान्तिपूर्ण र सुरक्षित समाजको निम्ति युद्धस्तरमा आफ्ना कार्यकर्ताहरू संचालन गर्ने
अन्यथा, जनता कुनै दलका र नेताका पेवा हुन्नन र सँधैभरि मूर्ख पनि रहँदैनन भन्ने कुरा नेपाली कांग्रेसले बुझ्नुपर्छ। जनता जनार्दन हुन्छन अनि केहि समय मौन भएर अन्ततोगत्वा तुफानको रूप लिन्छन। संवैधानिक राजतंत्र पुन:स्थापित हुने प्रबल संभावना छ। त्यसो भयो भने पनि राष्ट्र र जनताको वृहत्तर स्वार्थको ख़ातिर नै हुनेछ। कसैले पीर मान्नु पर्दैन।
**लेखक प्रा डा दुर्गा दाहाल नेपाली कांग्रेसका प्राक्तन केन्द्रीय प्रशिक्षक र नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व उपाध्यक्ष हुनुहुन्छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!