तस्बिर वेब

हप्तौँसम्म नियन्त्रणमा आएन वनमा लागेको आगो

Hollywood Khabar May 15,2019 Comments

२ जेठ डोटी।डोटी जिल्लाका विभिन्न सामुदायिक तथा कबुलियती वनमा हप्तौँ देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।यहाँका वनहरुमा आगलागीबाट सयौँ हेक्टर वन सखाप भएको छ।जिल्लाका ग्रामीण क्षेत्रमा आगलागी हुँदा सामुदायिक तथा कबुलियती गरि करिब ७४५ हेक्टरभन्दा बढी वन सखाप भएको छ।डिभिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत शुरेस चन्द्र डिसीले दिनु भएको जानकारी अनुसार यहाँका सामुदायिक तर्फका कम्तिमा पनि ४५ र कबुलियती तर्फका २ तथा अन्य केही सरकारी वनमा ठूलो आगलागी भैरहेको छ।

वनहरुमा लागेको आगो निभाउने प्रयास गरिपनि आगो नियन्त्रणमा आउन नसकेको सहायक वन अधिकृत डिसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो केही दिन यता पानी नपरेकाले पुरै जंङ्गल सुख्खा छ, आगो निभाउने भरपुर प्रयास भएपनि सकिएको छैन्, निभाउने प्रयास भईरहेको छ ।’ 

डोटीमा ३६६ सामुदायिक र १९६ कबुलियती वनहरु रहेका छन् । धेरै सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र बिरुवा सखाप भएको जोरायल गाउँपालिका-१ काे रानीवन  सामुदायिक वनका धीरबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगोले साना बुट्यान र बिरुवाहरु सखाप पारेको छ, नयाँ बिरुवा उम्रन लामो समय पर्खिनुपर्ने अवस्था छ, गर्मीले गर्दा आगो नियन्त्रणमा आउन सकेको छैन ।’ 

आगलागीकै कारण यहाँका सल्ला जातका आला रुखहरु धमाधम ढल्न थालेका छन् भने करोडौँको नोक्सानी भएको जोरायल गाउँपालिका २ धारापानीका स्थानीय तिर्थराज भण्डारीले बताउनुभयो ।

आगलागीसम्बन्धी जनचेतना जगाउँदा जगाउँदै पनि धेरै वनमा आगो नियन्त्रण गर्न नसकिएको वन कर्मचारीको भनाइ छ । यतिमात्र नभएर वनमा नयाँ घास उम्रने आशाले पनि कहि कतै स्थानियवासी तथा वन उपभोक्ताले नै वनमा आगो लगाउने गरेको स्थानियवासीहरु बताउँछन् ।