-परमाधिपतिको प्रमुख आतिथ्यतामा महाशिवरात्री तथा नेपाली सेना दिवस सम्पन्न

परमाधिपतिको प्रमुख आतिथ्यतामा महाशिवरात्री तथा नेपाली सेना दिवस सम्पन्न

Hollywood Khabar March 03,2019 Comments

२०७५ फाल्गुन २० गते का दिन टुँडिखेलस्थित सैनिक मञ्चमा विविध रोचक कार्यक्रमहरुका साथ महाशिवरात्री तथा सेना दिवस २०७५ सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सेना दिवसको शुभ अवसरमा सम्माननीय राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भई वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो । सोहि क्रममा नेपाली सेनाले सम्माननीय राष्ट्रपतिको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

सेना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा व्यानर प्रदर्शन गरिए पश्चात विभिन्न पाटा, षट्कोण फर्मेशन, तथा सेना दिवस २०७५ को आकृति समेत निर्माण गरी राईफल र तोपबाट महाशिवरात्रीको बढाँई गरिएको थियो ।

सोही अवसरमा सैनिकहरुबाट फ्रि-फल जम्प, सशस्त्र सैनिक युद्धकला, मार्च पाष्ट, विभिन्न झाँकी तथा भेषभुषाहरु, सैनिक युद्धकला, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धी विभिन्न हात/हतियार, भेहिकल तथा उपकरणहरुको प्रदर्शन गरिएको थियो ।

महाशिवरात्री तथा सेना दिवस २०७५ कै अवसरमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबाट निशान, ट्रफी तथा पुरस्कारहरु वितरण भएको छ।

प्रधानसेनापति थापाबाट कालिसिद्धि गण (ई) र सेकेण्ड रेन्जर गणलाई निशान झण्डा, सामूहिक तालिममा प्रथम भएको गौरीबक्स गुल्म र रुद्रध्वज गणलाई पुरस्कार, पेशागत प्रतियोगिता २०७५ मा प्रथम भएको कालीध्वज गणलाई प्रधानसेनापति ब्यानर, प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा प्रथम भएको शम्शेर गुल्म र मेहर गणलाई प्रकृति संरक्षण ट्रफी, उत्कृष्ट एवं साहसिक कार्य गरेका सैनिक तथा विभिन्न क्षेत्रका गैह्र सैनिक गरी २३२ जना मध्ये समारोहमा उपस्थित ८५ जनालाई प्रधानसेनापति प्रशंसा निशान, सेना दिवस २०७५ को अवसरमा भाग लिएकामध्ये प्रथम भएको गोरख बहादुर गणलाई पुरस्कार, मानार्थ उप सेनानी दर्जामा पदोन्नति हुनुहुने ८५ जना पदिकहरुमध्ये उपस्थित ३१ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

यसैगरी नेपाली सेनामा पहिलो पटक श्री नं. २४ बाहिनी अड्डाका सुवेदार मनोज कुमार चौधरीलाई सेना प्रमुख सुवेदारको दर्ज्यानी चिन्ह प्रदान, शारीरिक तन्दुरुस्ती परीक्षामा पुरुष तर्फ प्रथम भएका सह-सेनानी नवराज थापा र महिला तर्फ प्रथम भएकी उप सेनानी श्रुती कुंवरलाई पुरस्कार, अमरदल गुल्मका जमदार श्याम कुमार था.म. (अ.प्रा.) लाई प्रधानसेनापती उत्कृष्ट कृषक सम्मान, मध्य पश्चिम पृतना हे.क्वा.का हुद्धा स्वर्गिय राम बहादुर खत्रीको श्रीमती कृष्ण कुमारी थापा खत्रीलाई महिला तर्फ र सैनिक व्याण्डका सिपाही दिलिप कुमार सार्की (अ.प्रा.) लाई पुरुष तर्फको प्रधानसेनापति लघुवित्त उद्यमी सम्मान प्रदान गरिएको छ।

सेना दिवस कै अवसरमा प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिद्वारा नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही बार्षिक २०७५’को विमोचन गर्नुका साथै फ्रि-फल जम्पमा प्रथम हुने सेनानी प्रकाश खड्का र द्वितिय हुने सेनानी धिरेन अधिकारीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

यस्तै, सेना दिवस कै अवसरमा छाउनीस्थित वीर स्मारकमा हिजो मिति २०७५ फाल्गुन १९ गते प्रधानसेनापति महारथी थापालगायत पूर्व प्रधानसेनापतिहरु र बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दले माल्यार्पण गर्नुका साथै प्रधानसेनापति महारथी श्री थापाले वीरगति प्राप्त सैनिकका परिवारलाई सम्बोधन समेत गर्नु भएको थियो ।

सोही अवसरमा प्रधानसेनापति महारथी थापा र सैनिक श्रीमती संघकी अध्यक्षबाट वीरगति प्राप्त सैनिकका परिवारलाई दोसल्ला ओढाई सम्मान, सैनिक श्रीमती संघबाट संचालन हुने स्वरोजगार कार्यक्रमबारे जानकारी तथा कल्याणकारी कोषका हिताधिकारीहरुलाई वीरेन्द्र अस्पतालसम्म आवत-जावत गर्न पहिलो चरणमा चक्रपथ हुँदै बस सेवाको शुभारम्भ समेत गरिएको थियो ।

आज सम्पन्न महाशिवरात्री तथा सेना दिवस २०७५ कै अवसरमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय उपप्रधान एवं रक्षा मन्त्री, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका अन्य विशिष्ट पदाधिकारीहरु, विभिन्न विदेशी दुतावासका महामहिम राजदुतहरु, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, विभिन्न मुलुकहरुका सैनिक सहचारीहरु, सञ्चारकर्मीहरुलगायत ठूलो संख्यामा परिवारजन तथा सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।