-प्रेम लामा

कविता-हल्ला

Hollywood Khabar April 15,2019 Comments

कपोकल्पित हल्ला !
मनोचिन्ते हल्ला !
जुन गर्भमा रहँदा एउटा मात्रै हुन्छ
बाहिर आइपुग्दा अनेकौँमा विभाजित भैसक्छ
त्यही हल्ला
जसले चाल चल्न थाल्छ जब
शकुनीले जस्तो गरी
म सोचाइमा हुन्छु र ऐकान्तिक बन्छु
जसबाट पल प्रतिपलले पिल्सिइ पनि रहेको छु
जसको नाम सुन्ने वित्तिकै सपनीमा पनि बराबराउने भाको छु
त्यसैले सर्वस्व गुमाएर गन्तव्यविहीन यात्रामा निस्किरहेको
महाकवि देवकोटाको यात्री जस्तै बनेको छु ।

उच्च स्थानमा राखेकैले होला
कत्रो महत्व छ यसको
र त कुइरोको काग बनी सबै पछि लाग्छन्
विवेक र इमान कुल्चँदै
यसैकुराले मलाई झस्कन बाध्य पार्छ
त्रसित पनि हुन्छु
तर, त्रसित हुनुको औचित्य पनि त छैन नि
किन कि !
 
विश्वमान चित्रमा प्रकृतिले सौन्दर्य पोतिदिएकी
यति ठूलो मेरो देश
हल्लै हल्लाको भरमा चलिरहेको छ
कि कर्तव्य विमुख बन्छु
र हुन्छु कुनै बेला चक्रव्यूहमा फसेको
महाभारतको अभिमन्यू जस्तो ।

जसले ठूलो स्वरले रडाँको मच्चाउँछ
उसकै पछि धेरै मानिस लाग्छन्
हल्ला गर्ने कै बोलबोला छ
हल्ला गर्ने कै शिर ठाडो छ
हल्ला गर्ने कै नाक उँचो छ
तर, आज दिनानुदिन
वरदान वनिरहेको छ ।

गौतमबुद्ध जन्मेको मेरो देश
भृकुटी र सीताको क्रिडास्थल मेरो देश
संसारकै अग्लो शिखर सगरमाथाले
चुपचाप हेरिरहेछ मुकदर्शक भएर
विश्वले चिन्ने गरेको स्वर्ग जस्तो मेरो देश ।
हल्ला कै भरमा बन्द हडताल
हल्ला कै भरमा नेता चयन
हल्लाका कारण रोगी बनेको मेरो देश
हल्ला चल्दा पनि मनरोगी निदाए झैँ
मस्त सुत्न बाध्य बनेको छ मेरो देश ।
होसियार !

अब, धेरै हल्ला होइन
सल्लाह गर्नुछ
मेलमिलापको बन्धनले बाँध्नुछ
हल्लाको विरुद्धमा शान्ति फैलाउनुछ
शान्तिले हल्ला निस्तेज पार्नुछ
हल्लाले मनरोगी बनेको मेरो देशलाई
व्यूँताउनु छ, विश्वसामू शान्ति फेरी फैलाउनुछ
समृद्धि र विकासको मूल फुटाउनु छ ।