दिक्षा बस्नेत खप्तडी

सयौं गुण्डा, हजारौं ज्यानमारा, लाखौँ बलात्कारी च्यापेर हिड्छन् अनि विश्वको उदाहरणिय सरकार भन्छन प्रधानमन्त्री

Hollywood Khabar October 03,2018 Comments

दिक्षा बस्नेत खप्तडी
सामान्य रुपमा फेसबुकमा कमेन्ट गर्नेलाइ जेल हाल्ने, बलात्कारी र हत्यारालाइ लुकाउने, हाइ; मेरो देशको सरकार !!

अहिले म मुलुक भन्दा टाढा अमेरिकामा बसेर यी हरफहरु कोर्दै गर्दा मेरा हातका औलाहरू कापीरहेका छन्। भित्रबाट अलिकति चित्कार पनि उठेको छ। यदि मलाइ दुर्गा भगवतीको आशिर्वाध हुन्थ्यो भने त्यो अपराधीलाइ चण्डी रुप धारण गरेर सजायं दिन्थे होला। हुन पनि अचम्मै भएको छ, कहिले काहीं त लाग्छ बच्चा बेलामा राक्षसले गाउँ नै सखाप पारेको भन्ने कथा सुनेको जस्तै।

आजकल त फोन हेर्न पनि डर नै लाग्छ। बलात्कारबाट फ्याट्ट कुन नानीको ज्यान गयो भनेर यी कानले सुन्नुपर्छ होला। थकित शरिर ६/७ घण्टा निधाएर ब्युझिदा एका बिहानै अर्को कुन छोरीलाई बलात्कारीले मार्यो त्यो सुन्नु पर्ने चिन्ताले ब्याकुल बनाउछ। यस्तै यस्तै धेरै कुरा छन् जुन मेरो जीवनमा सबैभन्दा धेरै आजकल सुन्दैछु।

म त्यहि देशकी चेली हु, जुन देशका नेताहरु धक फुकाएर मुलुक हिँसा मुक्त छ, भनेर दुइ तिहाइको छाती फुकाएर ठूलठुला भाषण छाटेर फर्किन्छन। जहाँ मासिक एक सय भन्दा धेरै बलात्कारका घटना रिपोर्टिङ्गमा नै छन्। अझै नखुलेका त कति होलान कति। तर एउटालाई पनि कारबाही भएको छैन/हुदैन। उल्टै उन्मत्त छन् अपराधीहरु।

पहिला पहिला प्रहरीले भन्थे - अपराधी जहाँ गए पनि कहिल्यै पनि उम्कन सक्दैन। त्यसैले अपराधिहरु डराउँथे, अपराध गर्ने मानसिकता कम हुन्थ्यो। तर अहिले त प्रधानमन्त्रीले भन्छन- १२ वर्षमा पनि बलत्कारी समात्न सकिन्न। प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले अपराध घट्छ कि बढ्छ ?

माननीय गृहमन्त्रीज्यू र सम्माननीय प्रधानमन्त्रीज्यू;
हामी सर्वसाधारणलाइ लाग्छ कि अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गर्नु बिल्कुल गलत हो। तर निर्मला पन्तको घटनामा प्रष्ट देखिन्छ, अझ कताकति सुन्दै छु, प्रधानमन्त्रीले अमेरिकाको न्युयोर्कमा आफुलाई त्यो घटनाबारे थाहा छैन सम्म भन्नु भयो रे । यदि त्यो कुरा साँचो हो भने निर्मला एक होइन हजारौं निर्मलाको आत्माले तपाइलाई धिकार्ने छ। सधै तपाई मात्र सत्तामा त पक्कै रहनुहुन्न एक दिन तपाईलाइ पनि अपराधीबाट संकट आउन सक्छ।

नारायाण गोपालको गीत “मुटु माथि ढुङ्गा राखी हाँस्नु प-या छ” भने झैं हामीले तपाइको झुट सुन्नु परेको छ। प्रधानमन्त्रीज्यू को अमेरिकी भ्रमणसंगै संयुक्त राष्ट्र संघ सम्मेलनको प्रस्तुति लगायत विभिन्न मिडियामा भाषण सुन्न पाइयो। नेपाल समृद्द छ, हत्या हिँसा, अपराध,केहि छैन, मुलुकमा शान्ति छ, न्याय छ। कलिला छोरीहरुको आँखामा कति सजिलै छारो हाल्दिनु भयो।

८ महिने दुधे बालिका देखि ७० बर्षे वृद् बलात्कृत भइ आकुल-व्याकुल अबस्थामा तिनीहरुको चित्कार यहासम्म सुनिदैछ। त्यो थाहा छैन तपाइलाई ? खबरदार प्रधानमन्त्रीज्यू; ती बलात्कृत चित्कारहरुले कुनै दिन आकाशबाणी गर्नेछन, जबसम्म बलात्कारी हत्यारालाई कारबाही गरिदैन।

हिजो देशको मुहार फेर्न भनि थालिएको जनयुद्ले तहसनहस भएको मेरो देश, बुर्जा शिक्षाको धारणाले हजारौ स्कुले केटाकेटी परिक्षा (एसएलसी) दिन छोडेर बन्दुकको निसाना लगाउनमा रमाए। आज तिनै हजारौ युबा-युवती खाडी मुलुकमा मजदुरी गर्दैछन। नापढेकै कारण तेही ठाउँमा तिनै युवाहरु कुरा नबुझ्दा विपद र मृत्यूको संघारमा समेत पुगेका छन्। अनि दुनियाका छोरा-छोरीलाई बन्दुक र बारुद शिक्षा पढाएका शिक्षित व्यक्ति डा बाबुराम र हिसिला आफ्नी छोरीलाई PHD को उपाधि दिलाउँदै थिए। आफुहरु बिकसित मुलुकमा उन्माद हासों छर्दै सैर गरिरहँदा जनतालाई असोभनीय लाग्नु कुनै नौलो कुरा होइन।

पर्खनुहोस, अझै कुरा सकिएको छैन। फुजेलका १७ बर्षीय कृष्ण प्रसादका हत्यारालाई न्यायीक रिहाइ दिलाइन्छ। अनि पिडितको लास ३ वर्षदेखि अस्पतालको मुर्दाघरमा सडेर बसेको छ। अनि यता मुलुका प्रधानमन्त्री अमेरिका जस्तो प्रजातान्त्रीक देशमा आएर आफ्नो पार्टी र सरकारले उल्लेखनीय काम गरेको बताउनुहुन्छ। नेपाल अत्यन्तै सम्बृदी बनिसकेको जानकारी दिइन्छ। गुण्डालाइ सत्ता दीइयो अनि पिडितलाई मर्न बाध्य बनाइन्छ भने न्याय खोज्न अब नेपाली जनताले कहाँ जाने ?
प्रधानमन्त्री महोदय; एउटी बालिकालाइ बलात्कार गरेर हत्या गरिन्छ। अनि उसका हत्यारालाई सुरक्षा दिन्छ तपाइको सरकार, तपाइको प्रशासन। अनि तपाई न्यूयोर्कमा भन्दै हुनुहुन्थ्यो- अझै केहि भएको छैन, यदि हत्या नै भएको रहेछ भने १२ बर्ष पछि अपराधीलाइ समातौला।

हाय; अहिलेको तपाइको सरकार !
प्रहरी प्रशासनलाइ काम गर्न नदिएर कुँजो बनाएर राख्ने तपाइको सरकार। फेरि पुलिसले काम गरेन भन्दै आरोप लगाउने तपाइँ प्रधानमन्त्री। गारो त हामीलाई ऐले हुँदैछ कि धामी को हो र बोक्सी को हो ? सयौं गुण्डा, हजारौं ज्यानमारा, लाखौँ बलात्कारी च्यापेर हिड्छन् अनि विश्वको उदाहरणिय सरकार भन्ने पनि तपाई प्रधानमन्त्री। तपाइको सन्तान नहुनुमा हामी पनि दुखी छौं। तर आफ्ना सन्तान छैनन् भन्दैमा अरुका सन्तानको सुरक्षा अरिंगलले गर्छ भन्ने त्यो कस्तो आदेश र अभिब्यक्ति हो ?

प्रधानमन्त्रीज्यू;
हाम्रो लागि त्यस्तो दिन नेपाली माझ कहिल्यै नआवस कि आफ्ना श्रीमती, छोरी, चेली, जोगाउन सिरानी मुनि भाला, खुकुरी बन्चरो, लिएर हिँसाको बिरुद्द हिँसामा उत्रिन परोस। विवस भएका निहत्था जनताले ती अपराधीहरुको विभत्स हत्या शृंखला अघि नबढाउन। कहिँ कतै एउटा मात्र समुदायले यस्तो घटना गर्यो त्यसैको सिकोमा निर्मलाको हत्यारालाइ जति ताल्चा लगाए पनि पिडितले निकाल्न नसक्लान भन्न सकिन्न। अनि तेही संयुक्त राष्ट्र संघमा अरु कसैले कानुन र न्याय नभएको देश नेपाल भनेर विश्वसामु चिच्याउनु नपरोस !!
जय मात्रीभुमी !!!