लैङ्गिक समानताका लागि मदरल्याण्ड नेपाल

0
shares

by KRISHNA KC | Updated: 30 Apr 2018

315 views

कपिल काफ्ले
स्थापनाकालसँगै चर्चित बनेको लैङ्गिक समानता पत्रकारिता पुरस्कार २०७४ को घोषणा भइसकेको छ। पत्रकारिताको माध्यमबाट लैङ्गिक समानता कायम गर्न योगदान दिने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले मदरल्याण्ड नेपालले स्थापना गरेको यस पुरस्कारको सञ्चालन १५ हजार पत्रकारको अभिभावक संस्था नेपाल पत्रकार महासंघले गर्दै आएको छ। यही मे ३ तारिक विश्व प्रेस स्वतन्त्रता दिवसका दिन यस वर्षको पुरस्कार वितरण गरिंदैछ।

लैङ्गिक समानतातथा सामाजिक सहभागिता (जेसी) अवधारणालाई आत्मसात् गरेर सहभागितामूलक लोकतान्त्रिक अभ्यासलाई प्रवद्र्धन गर्न पत्रकारिताको उल्लेख्य योगदान रहने सत्यलाई यस पुरस्कारले स्वीकार गरेको छ। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा गएका बेला यस पुरस्कारको स्थापना आफैमा ऐतिहासिक बनेको छ। किनभने परिवर्तनको सफलता सरकारले नीतिबनाएर मात्र हुन्न आमजनताले त्यसमा समाहितहुने तत्परता देखाउन सक्नुपर्छ। मदरल्याण्ड नेपालले यस पुरस्कारको स्थापना गरेर र पत्रकार महासंघले यसको व्यवस्थापन गरिदिएर लैङ्गिक समानताको अवधारणाका साथ नेपालको परिवर्तनलाई जनस्तरबाट सघाउने कार्यमा ऐक्यवद्धता जनाएका छन्।

नेपालको संविधान २०७२ ले जेसी अवधारणालाई आत्मसात् गरेको छ। कुनै एक धारामा मात्र यसको प्रावधान राखेर केबल औपचारिकता पूरा गरिएको छैन। ठाउँ–ठाउँमा यसको उल्लेख छ। लैङ्गिक समानता तथा सामाजिक समावेसितालाई लोकतान्त्रिक अभ्यासको आधार बनाउने प्रयास भएको छ । यसरी हेर्दा सरकार वा नीतिगत स्तरमा काम भएको छ तर नागरिकले चाहिं यस अवधारको कार्यान्वयनका लागि के भूमिका निर्वाह गरिहेका छन् त्यो आत्ममूल्यांकन गर्नु आवश्यकभएको छ। लैङ्गिक समानताका पक्षमा केही उल्लेख्य सफलताहरु पनि देखिन्छन् ।

छोरा छोरीलाई विद्यालयमा पढ्न पठाउने कार्यमा नेपालीले साँच्चिकै प्रगति गरेका छन्। विगतको दशकलाई दाँजेर हेर्दा यसमा प्रष्ट प्रगति भएको देखिन्छ। यस प्रकारको प्रगति कसरी सम्भव भयो भनेर हेर्दा सरकार र जनता दुवैको चाहना र योगदानले काम गरेको पाइन्छ। नीति मात्र बनाएर नहुने रहेछ। राज्यको मात्र चाहनाले परिवर्तन हुन सक्ने रहेनछ भन्ने उदाहरण बनेको छ। छोराछोरीलाई पैत्रिक सम्पत्ति बराबर बाँड्ने विषय, छुवाछुतको अन्त्य पनि यस्तै तीतो अनुभवको सबाल हो। नागरिकको चेतनास्तर र तत्परता कानुनको आशय सम्म पुग्नसकेको छैन। प्रष्ट छ, हरेक नेपाली नागरिक परिवर्तनका लागि तत्पर नभएसम्म सामाजिक विकासका आयामहरु सफलहुन सक्तैनन्। त्यसैले, लैङ्गिक समानतामा पूर्ण सफलता चाहने हो भने हरेक नागरिकले यसका लागि आ–आफ्नो क्षेत्रबाट योगदानदिनु आवश्यक छ। जस्तो, पछिल्लो उदाहरण लिने हो भने सात महिला पत्रकारले ज्यानको बाजी लगाउँदै सगरमाथा आरोहण थालेको प्रसंगलाई लिनसकिन्छ। सात मध्ये पाँच महिला पत्रकार एक टोलीमा आवद्ध भएर आरोहण गर्दैछन् भने दुई पत्रकारले एक्ला एक्लै यात्रा अघि बढाएका छन्। नेपाल पत्रकार महासंघलाई प्रस्ताव–पत्र पेस गरेर महिला पत्रकार टोलीले आरोहण थालेको हो। महासंघले पनि पत्रकार महिलालाई हार्दिक बिदाई गर्दै प्राविधक सहयोग पनि गर्यो।

सगरमाथा आरोहणको इतिहास तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीले मे २९, १९५३ मा लेख्न सुरु गरेपछि आज सम्म हजारौंंले यो काम गरिसकेका छन्। तर महिला पत्रकार टोलीकै सराहना किन आवश्यक बन्यो भने-उनीहरुले लैङ्गिक समताका लागि यो कठिन यात्रा प्रारम्भ गरेका छन् । नागरिक स्तरबाट लैङ्गिक समानताका लागि योगदान भएको छ।

समताका लागि एकीकृत आवाज नाराका साथ थालिएको यस यात्राको लक्ष्य अनुसार यही वैशाख अन्त्यसम्ममा सफल आरोहणको खबर सुन्नसकिने छ। मे महिनाको पहिलो साता सगरमाथा आरोहण गर्ने महिला पत्रकारहरुको कार्यतालिका रहेको छ। प्रस्ताव पत्रको पृष्ठभूमिमा भनिएको छ। मिडियाको काम समाजका लागि आवश्यक तर नसुनिएका आवाज सुनाउनका लागि हो। लैङ्गिक समता र समानताको आवाज सुनिएको छैन, त्यसलाई सुनिने बनाउनका लागि उनीहरुले यो यात्रा सुरु गरेका हुन्।

आइएफजेले २०१५ मा गरेको सर्वेक्षणले एशिया प्यासिफिकमा केबल २४ प्रतिशत मात्र पत्रकार महिला रहेको देखाएको छ । यसरी हेर्दा चारमा एक महिलार तीन पुरुषपत्रकार छन्। नेपालमा पत्रकार महिला निर्णायक तहमा पुगेका छैनन् र जति काम काजीपत्रकार महिला छन् उनीहरु तलब सुविधाका हिसाबले पनि विभेदमा छन्। कार्यस्थलमा पत्रकार महिला यौनहिंसाको शिकार भएका छन् । महिला पत्रकारलाई प्रोत्साहित हुने गरी मिडिया हाउसहरुमा काम गर्ने वातावरण तयार भएको छैन । हजारौं नेपाली सम्पादकहरुको भीडमा केबल ९७ महिला सम्पादक छन्। जाति, धर्म, रंग, वर्ण र सम्प्रदायभन्दा माथि उठेर हामी पाँच महिला पत्रकार लैङ्गिक समता र समानताको आवाज घन्काउन सगरमाथा आरोहण गर्दैछौं। प्रस्ताव पत्रमापत्रकार महिला टोलीले उल्लेख गरेको छ ।

६ करोड वर्ष पुरानो मानिएको ८ हजार ८ सय ४८ मिटर उचाइको सगरमाथा आरोहण जोखिम मोलेर सफलता हासिल गर्ने प्रयोजनले महत्वपूर्ण छ । १३ वर्षका बालकदेखि ७६ वर्षका वयस्कसम्मले आरोहण गरेको सगरमाथाको थाप्लोमा आजसम्म ४ हजार भन्दा बढी आरोहीले टेकिसकेको गुगलविवरण छ । आपा शेर्पा जस्ता २१ पटक आरोहण गर्ने बहादुर, जुनको ताबेई नामकी प्रथम महिला आरोही, पासाङ ल्ह्यमु शेर्पा प्रथम नेपाली महिला आरोही, आङ छिरिङ शेर्पा पहिलो नेपाली पत्रकार, शैली बस्नेत प्रथम नेपालीमहिलापत्रकारआदि सगरमाथाआरोहणसँग सम्बन्धित सयौं रेकर्डहरु फेला पर्दछन्। तर, महिला पत्रकार सगरमाथा आरोहण टोलीभने यसै पटक मात्र हो ।

मोरङकी रोशा बस्नेत, वर्ष २९, आवद्धता राष्ट्रिय समाचार समितिमा सम्पादक, काठमाडौंकी प्रिया लक्ष्मी कार्की, उमेर २७, आवद्धता न्यूज ट्वण्टीफोर टेलिभिजन, ललितपुरकी कल्पना महर्जन, उमेर ३३, आवद्धता मेघा टेलिभिजन, काठमाडौंकै रोजिता बुद्धाचार्य, उमेर २६, आवद्धता एफएम रेडियो तथा नेपाल टेलिभिजन र पाँचथरकी देउराली चाम्लिङ, उमेर ३५, आवद्धता ब्लास्ट दैनिक, धरान टाइम्स र स्वतन्त्र पत्रकारिता गरी पाँच सदस्यीय टोली लैङ्गिक समानताको नारा घनीभूत बनाउने अभियानमा लागेको छ।

उनीहरुको प्रस्ताव पत्रमा भनिएको छ, महिलाहरु दबाबमा काम गर्न, जोखिम मोल्न, हिम्मतिला काम गर्न र आँट देखाउन सक्तैनन् भन्ने मान्यतालाई परास्त गर्न हामी सगरमाथा आरोहण गर्दैछौं। महिलालाई तिमी सक्तिनौंको अबधारणाबाट तिमी सक्छ्यौंको अवधारणामा ल्याउनु भिजन र हामी समान छौं, हामी सक्षम छौं लाई मिसन बनाएर अघिबढेको यस टोली र अन्यदुई पत्रकार महिला डोमा शेर्पा र पूर्णिमा श्रेष्ठ जो समान उद्देश्यका साथ सगरमाथा यात्रामा छन्। नेपाल पत्रकार महासंघले उनीहरु सबैलाई लैङ्गिक समानता पत्रकारिता पुरस्कार २०७४ प्रदान गर्ने घोषणा गरेको छ।

अमेरिकामा क्रियाशील मदरल्याण्ड नेपाल नामक संस्थाका लागि त्यसका संस्थापक अध्यक्ष अनिल पाण्डेले १० लाख रुपियाँको अक्षय कोष नेपाल पत्रकार महासंघमा जम्मा गरी यस पुरस्कारको स्थापना गर्नु भएको हो। विगत डेढ दशक देखि नेपाली पत्रकारिता र पत्रकारका लागि मदरल्याण्ड नेपालले आर्थिक सहयोग जुटाउँदै आएको सन्दर्भमा २०७३ सालमा यो अक्षय कोष खडा गरेको हो । पहिलो वर्ष चर्चित पत्रकारद्वय धीरेन्द्र प्रेमर्षी र वविता बस्नेत यस पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो भने यस पटक सात महिला पत्रकार पुरस्कृत हुनुभएको छ। लैङ्गिक समानताका लागि योगदान दिनेगरी कलमचलाउने एक महिला र एक पुरुषपत्रकारलाई वार्षिक रुपमा प्रदान गरिने यो पुरस्कार यस पटक विशेष अवस्थाका कारण सात महिला पत्रकारलाई प्रदान गरिएको हो। निर्णायक मण्डलमा रहेको एक सदस्यका हैसियतले यो पक्तिकार पनि पुरस्कारका लागि उपयुक्त पात्रहरुको छनोट गर्न पाएर प्रसन्न छ ।

निष्कर्षमा, लैङ्गिक समानताको अवधारणा सफल पार्ने हो भने यसरी नै नागरिक स्तरबाट पनि योगदान दिनुपर्छ भन्ने यस आलेखको आशय हो। मदरल्याण्ड नेपालका अनिल पाण्डे हुन् वा सगरमाथा आरोही सात पत्रकार महिला पत्रकार महासंघ जस्ता संस्थाहरु, सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्नैपर्छ। संविधानमा छ। कानुनमा लेखियो र अन्तर्राष्ट्रिय महासन्धिहरुमा हस्ताक्षर गरियो भनेर मात्र लक्ष्य हासिल हुन्न, पुरस्कृत गर्ने अभ्यासले पनि लैङ्गिक समानताको अभियानलाई सघाउने छ ।