Rita Sanjel

फुर्सदको भेट्ने कुरामा छिपेको रहश्य र अण्डा बेचेर रेडबुल किन्नेहरू

Hollywood Khabar January 09,2019 Comments

रीता संजेल

बिदाको दिन छ। काम त कहिले सकिदैन । कति हिजो अस्ति गरियो कति भोलि गरौंला भनेर बिदा मनाउने चलन पनि कायमै छ । अनि सामाजिक संजाल नेट-ईन्टरनेटमा झुन्डिएर रहने चलन त चौपट्टै बढी रहेछ। हुन त बिदा नहुँदा पनि फुर्सद नै थियो।

आजको योजनामा कतै केहि अवसर मिले नछाड्ने सोचमा थिएँ म। मेरो सोच फुर्सदले कुनै सभा समारोहमा गएर त्यहाँका अनेकौं मानिस र उनीहरुका अनेकौं कुरा थाहा पाउने थियो। केहि ज्ञान हासिल गर्ने र त्यही कुरा अरु एकदुइ जनामा फेरि फुर्सद हुँदा गफ गर्ने बाटो बनाएर समय बिताउदै बाडौला भन्न्ने सोच पनि थियो।

सायद नेपालमा आजभोलि बक्वासका टोले र झोले अज्ञानीका ज्ञानी भेला हुन छाडेछ क्यारे। कतै केहि कार्यक्रम रहेनछ हाम्रो क्षेत्र वरिपरि। त्यतिकैमा कसैको म्यासेज आयो। भनिएको थियो, सन्चो बिसन्चोको सोधाई पश्चात् फुर्सदमा छौ ? मैले जवाफमा भनें, अह्ह ! त्यसो भए हामी किन नभेट्ने ? मैले हुन्छ भनें।

कसैले भेट्न बोलाउँदा हुन्छ भन्नु गफै त होनी। यसमा नाइँनास्ती गरेर कुरा लम्ब्याउनु ठिक होइन जस्तो लागेको थियो। एकपल मलाई अहिले नै भेट्न जाउँ जस्तो पनि लाग्दैथ्यो। कुरा अलि बढ्दै गयो, चिया कफि खाजाका कुरा समेत भयो। मलाई अब उ सम्म पुग्नु थिएन। किन कि मैले भेट्ने भन्ने शब्दको अर्थ भेट्ने मात्र बुझ्थेँ। जब किन ? भन्ने प्रश्न आफैंभित्र जन्मियो। मनैमन सवाल जवाफ गर्दै थिएँ । अनि त्यहाँ कुरै कुरामा थपिएका कुराले यता भेट्ने कुरालाई घटाएर नभेट्नेमा पुगें म।

अनि सोचें अन्जान हर कोहि मान्छेसंग भेट्ने कुरामा सजिलै हुन्छ भन्ने हल्कट होइन। हुन त सोझो जवाफ दिने मेरो विश्वास पनि होला यो। सायद त्यो नयाँ जानेका चिनेका मान्छेहरु र तिनाका प्रवृत्ति बुझ्ने उत्सुकता पनि हुन सक्छ। सधैं मान्छेहरुको भिडमा रहे पनि म भिडभन्दा टाढा नै हुन्थें। कहिले काहिँ त अपसोच पनि हुन्छ। चिनी पानी जस्तै भिडमा घुलमिल हुन नसकेको सम्झदा। तर गलत पनि त गरेको छैन, त्यसबाट केहि पनि हानी नोक्सानी भएको छैन। जे भयो त्यो अनि जे हुन्छ त्यो पनि ठिक नै हुन्छ। अब सभा हैन कोहि एकजनाबाट पनि त धेरै कुरा जान्न सकिँदो रहेछ भन्ने त प्रष्टै भयो।

फेरि एकैछिनमा खटपटेको चटपटे मन जस्तै म फुर्सदिला मान्छेको बारेमा सोच्न थाल्छु। त्यसपछि मलाइ लाग्यो आजकल मान्छेहरु धेरै नै फुर्सदिला भएछन्। मैले गलत बुझ्दै रहेछु जस्तो लाग्यो। आजभोलि मान्छे कसैको वास्ता गर्दैनन् साह्रै स्वार्थी छन् आमाले भन्नु हुन्थ्यो। मान्छे स्वार्थी हुदै छन्, भनेर गुनासा र बोझिला भाव सुनेका प्रसङ्ग मलाई विश्वास गर्नै मुस्किल हुन्छ।

फेरि त यति जाति कुरा गर्दैछ्न् मान्छे। एकैछिन त अलमलमा पर्छु म। मेरी आमा मलाई गलत त बताउँदै छैनन् ? शङ्का पनि लाग्यो। अनि हैन आमा गलत त हुन्नन् भन्दै मैले मन-मनै स्वीकारें। बरु मैमा भ्रम होला, अबुझपना होला आमा गलत त हुँदै होइन। फेरि पनि त मान्छे जो कोहिसङग पनिं भेट्छन। ज्यादै फुर्सदिला भएछन।

सजिलै जो कोहिलाई समय र पैसा एकसाथ खर्च गर्न तयार पनि छन् मान्छे। पक्कै पनि मैले पढेको सुनेको भन्दा मान्छे भौतिक र मानसिक दुवै तवरले धेरै सम्पन्न, सहयोगी र सद्भावीला नि भएछन्। एक बखत पानी पनि धारोमा आउथेन। अझै धारो नै पनि जहाँ पनि हुन्थेन। मुस्किलले खोला, कुवा, इनार, पधेरो खोजेर बोकेर पानी ल्याउनु पर्थ्यो।

हामी बिरामी हुदा अनि चिसो मौसममा तातो पानी पनि पुर्याइ-पुर्याइ पिउथ्यौँ। नभए चिसै पनि पिउथ्यौँ। अब त मान्छेका रहर पनि फेरिएछ्न्। चिया कफि कति हो धेरै कति पिउछन। अनि अरुलाई पनि पिउन पिलाउन थालेछ्न्। चिया कफि मात्र हो र अरु पनि पेय पदार्थमा रमाउन थालेछन मान्छे।

मलाई त त्यति नाम आउदैन के के पो हो कुनी- कोक, फ्यान्टा, रेडबुल, वीयर, ह्विस्की, ब्राण्डी, टकिला, भोड्का, खोइला बिर्के के के हो के के। फुर्सद हुँदा पनि नहुदा पनिका पेय पदार्थ रे ! आजभोलि यसरी पिउन नसके बिमारी हुन्छन् रे मान्छेहरु। हामीलाई त जथाभावी पानी पिउदा पनि बिरामी भइन्छ भनेर सिकाउथे। हुँदा हुँदा घरको कुखुराको अण्डा बेचेर रेडबुल पिउन थालेछन। उनीहरुको सोचमा रेड्बुल इनर्जी भनेकोले तागतिलो पिउने कुरा हो। तर के थाहा ८.४ आउंचको रेड्बुल पिउदा ९० मिलिग्राम क्याफिन, ७० ग्राम थप टरिन, B ग्रुपका भाइटामिन र २७ ग्राम चिनी अनि अरु धेरै कुरा समेत खान्छन। यसले ब्लड प्रेसर बढाउने र प्रेशरका बिरामीलाई खतरा समेत गर्छ। १२ वर्ष मुनिका बच्चाले रेडबुल पिउनु नै हुँदैन। अब अण्डा बेचेर रेडबुल पिउनुको अर्थ के होला ?

दुनियाँ परिवर्तन भयो भन्थे सयाद हो रहेछ क्यार। हामी फुर्सदमा घरमा आमाबुबालाई नभए आफन्तलाई अनि छिमेकीलाई सघाउथ्यौँ। मेला जात्रा पर्व हेर्न जान्थ्यौँ। अब त कोहि अन्जानलाई पनि चिया कफि खाजा खुवाएर सहयोग गर्ने चलन आएछ। सायद परिवर्तन यहि होला।

मेरी आमा स्वार्थी मान्छेहरु भन्नुहुन्छ । तर यहाँ त मान्छे कति सहयोगी भैसकेछ्न् । अब सबै कुरा आमालाई सुनाउँछु। यता बिरामी हुँदा अप्ठ्यारो असजिलो पर्दा कसैले सहयोग गर्दैनन् यतिकै छ्ट्पटिएर मर्नुपर्छ भन्ने मेरि आमालाई सुनाउछु। एकैछिन भए पनि खुशी हुन्छिन कि ?

आमा मान्छे र मान्छेका मन व्यबहार फेरिएका छन् भनेर सुनाउछु। अनि जन्ती मलामी जोड्ने भनेर घरमा बिजोग हुँदा पनि अरुकोमा धाउने मेरा बुबालाई नि भन्छु। अब सबै पाइने रहेछ नि बुबा। बिरामी हुदा अस्पताल, भोक लाग्दा पसल....।

यहाँ हर कोहि अन्जानबाट त चिया कफिको निम्ता पाइन्छ। हामीलाई आमाबुबाले मान्छे जोडेर राख्न खुब सिकाउनु हुन्थ्यो। मान्छे त सबै आफ्ना हुनेरहेछ्न्। बरु धन सम्पत्ति चाही जोड्नु पर्ने रहेछ। बिना कामको झमेलामा अल्झाउने बुबा पनि के मान्छे होला ? भरे सोध्छु र एक भकारी गुनासो पोख्छु।

हजुरआमा पनि बारम्बार मलाई सुनाउनु हुन्थ्यो। के यी मलाई चिया कफिमा बोलाउनेले मेरा आमाबुबा र हजुरामालाई बोलाउदैन थिए होलान ? यताउता हेर्छु एक्लै रहेछु। अब घरमा आएपछि सबैलाई भन्छु अनि सोध्छु पनि।

सामाजिक सम्बन्धमा धेरै बदलाव आएको छ। मेरो अभिभावक भने सधैं उस्तै उहि भावना सहयोग र कर्मका कुरा सिकाएर उल्टो पाल्टो जस्तो पो कुरा भन्दै रहने रहेछन क्यारे।