साङ्केतिक तस्बिर

एकै परिवारका १८ जना कोरोनासंक्रमित निको भएर घर फर्के

Hollywood Khabar May 23,2020 Comments

१२ जेठ वीरगञ्ज पर्सा।कोरोनाभाइरसबाट संक्रमित भएका २ महिने शिशु र १० बालबालिका सहित १८ जना अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनबाट आइतबार राति ११ बजे डिस्चार्ज गरिएका १८ जना, एउटै परिवारका हुन्। अस्पतालका मेसु डा.मदन उपाध्यायका अनुसार, वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई आइतबार राति डिस्चार्ज गरि घर पठाइएको हो ।

आइतबार राति डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन्।परिवारका ३७ वर्षीय पुरुषलाई बैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यही दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उनको कन्ट्याक्ट ट्रेसीङ गर्दा बैशाख २४ गते उनको परिवारका अरु १७ जना सदस्यमा पनि संक्रमण देखिएपछि १७ जनालाई पनि बैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

अस्पतालमा ल्याएर राखिए पछिको लगातार २ पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्यमा कुनै समस्या पनि नदेखिएकाले १८ जनालाई आइतबार राति ११ बजे डिस्चार्ज गरी घर पठाइएको मेसु उपाध्यायले जानकारी दिए ।

यसअघि शनिबार पनि नारायणी अस्पतालबाटै ९ जनालाई डिस्चार्ज गरिएको थियो । आइतबार राति १८ जना डिस्चार्ज भएपछि वीरगन्जको आइसोलेसनमा अब ७१ जना मात्रै संक्रमीत उपचाररत रहेको मेसु उपाध्यायले जानकारी दिए ।

वीरगन्जको नारायाणी अस्पतालको आइसोलेसनमा ४४ र गण्डक हस्पिटलको विशेष कोरोना अस्थायी अस्पतालमा २७ जना संक्रमितहरु उपचाररत रहेको मेसु उपाध्यायले बताए ।