साङ्केतिक तस्बिर:साभार वेब

पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात

Hollywood Khabar January 15,2020 Comments

३ माघ,काठमाडौं।मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।शुक्रबार बिहान नेपालको पश्चिमी, मध्य भूभागमा र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको छ।गए राति देखि नै काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा झरी परेको छ।

नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो ।त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भूभागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बिहीबार साँझदेखि जुम्ला, हुम्ला, मनाङलगायत हिमाली भेगमा भारी हिमपात भइरहेको छ भने मध्य पहाड, पूर्वी पहाड र तराईमा वर्षा भइरहेको छ,” मौसमविद् बरुण पौडेलले भने, “वर्षा गएसँगै तराईमा लागेको हुस्सु भने हटेको छ ।”

देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न हुन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ :
माघ ३ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ ।देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।
रातीः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको छ।
माघ ४ गते (शनिबार)
दिउँसो : देशभर आन्शिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।
माघ ५ गते (आइतबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।