-घटाल थानमा विसु जाँत

सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपिठ घटाल थानमा आज विसु जाँत (मेला)लाग्दै 

Hollywood Khabar April 13,2019 Comments

२,बैशाख डडेल्धुरा।डडेल्धुरामा पर्ने सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपिठ घटाल थानमा विसु जाँत (मेला) सोमबार लाग्दै छ।विशु जातमा धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्दछन्।धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १०/१२ मुठि जति मुखभरीको बालुवा पानीसँगै घुटुघुटु खाने गरेको स्थानीयहरुले बताउने गरेका छन्।घटाल बाबा संग कसैले केहि मागेमा मनोकामना पूरा हुने र मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन रहदै आएको छ । 

डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी खेलाको पुछारमा रहेको घटाल क्षेत्रमा वर्षेनि नयाँ वर्षको दोस्रो दिन विसु जाँत धुमधामका साथ मनाउने गरिन्छ।किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ । पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ ।

विशु जाँतको ९ दिन अघि चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान नजिकै अशिग्राम मन्दिरमा र्पुयाइने र विसु जात हुनु भन्दा एक दिन अघि  अशिग्राम मन्दिरबाट देउरो घटालस्थानमा आएपछि विशुजात सुरु हुने घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णप्रसाद बोहराले जानकारी दिए ।विसु जाँत मेलामा डोटीखोला ,खलंगा तथा कैलाली र कञ्चनपुरबाट समेत ठूलो संख्यामा भक्तजनआइ घटाल बाबाको पूजागरि काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्कने गर्छन् ।