Krishna KC, hollywoodkhabar.com

NRNA: चाडपर्व-सम्मेलन मात्रै गतिबिधि हो र अध्यक्ष भट्ट महोदय ?

Hollywood Khabar June 29,2018 Comments

कृष्ण के सी/अमेरिका
हुन त गैरआवासीय नेपाली संघका अध्यक्ष भबन भट्टज्यूलाइ सँस्थाबारे कुरा गर्ने मेरो औकातले भ्याउँदैन होला। कहाँ उहाँ बर्षौ देखि संघमा सेवा गर्दै, लाखौँ-करोडौ रकम समेत योगदान दिएको व्यक्ति कहाँ म २०१० तिर बाट अलिकति संलग्न हुँदै २०१३ देखि सकृय भएको व्यक्ति। तर पनि यो पटक मामाका कथा आमासँग भनेको जस्तै आफ्नो अभिष्ट पूरा गर्ने प्रयास गर्दैछु अध्यक्ष भबन भट्ट महोदय।  

उसो त गैरआवासीय नेपाली संघको कुरा गर्ने हो भने विश्वका आधा जमिन ढाक्न सक्ने गरी ७६ देशहरुमा एफिलेशन छन। अनि उनीहरुको घर मानिएको संघको दिनचर्या भनेको चाडपर्व, पिकनिक, सभा-सम्मेलन, अधिवेशन, चुनाब र गण-उपगणमा बस्नु मात्र भएको छ, अध्यक्ष ज्यू !

अध्यक्ष महोदय; संघको रिपोर्टमा ७६ वटा एफिलेट अर्थात राष्ट्रिय समन्वय परिषद (NCC) छन भनिएको छ। यो आरोप त होइन तर पनि केहिलाइ छोडेर हेर्ने हो भने सबैको दिनचर्या एनकेन प्रकारेण कार्यकाल पूरा गर्ने मात्रै हो। एउटा स्ट्याण्डर्ड बिधान दिएर बेसिक मापदण्ड सहित कसेर लैजानु पर्ने हो भन्ने कता-कता यो छोटो कदको खोटो दिमागमा लागेको छ महोदय।

५-७ जनाको मनिटरिङ् एण्ड इभ्यालूएशन कमिटी बनाएर मनिटरिङ् गर्दा बढी राम्रो नतिजा पो आउंथ्यो कि त अध्यक्ष महोदय ? कम्तिमा पनि एउटा/एउटा NCC ले एक वर्षमा एक/एक मात्र काम गर्ने हो भने ७६ वटा काम हुनेथिए अध्यक्ष महोदय। नेपालका ७५ जिल्लामा एउटा जिल्ला पनि नछोडे पनि ७६ ठूला-साना काम हुनेथियो।   

अध्यक्ष महोदय; यहाँको नेतृत्वको संघको निर्णयले बनाइएका कमिटीहरु गन्न पनि कफी नै पिउनु पर्ने अवस्था आएको छ। ५६ वटा कमिटीहरुले के काम गर्छन त्यो त हजुर आफैं जानिफकार हो। तर पनि उनीहरु मध्ये धेरैजनालाइ त आफू किन त्यो कमिटी राखियो थाहा छैन। संयोजक स्वयंले संघलाइ नै बुझेका छैन भने बनाइएका कमिटीमा आफ्नो काम त्यसको औचित्य कसरी बुझ्लान र अध्यक्ष महोदय। जसलाई खानाको स्वाद नै थाहा छैन म उसलाई मिठो-नमिठो कसरी सोधौं अध्यक्ष महोदय। अब यहाँले छान्नु भएको मेन्यू अनुसारको खानाको स्वादको भागिदार यहाँ आफै हो महोदय। ति सबै कमिटी यहाँकै प्लेटमा छन्।

अध्यक्ष महोदय; सायद म अलिकति डिरेल पो हुँदैछु होला, टिम्मुर जस्तो पर्पराउने कुरा गर्दैछु होला तर पनि कुरा त भन्नै पर्नेभयो। मिडिया, फिनान्स र बिधान कमिटीका निश्चित काम छन्। ती कमिटी बाहेक अरु कमिटीहरुलाई हेर्ने हो भने हरेकले कम्तिमा दुइ बर्षे कार्यकालमा २ काम गरे भने १०६ वटा थप काम हुनेछन अध्यक्ष महोदय।

वर्तमान अवस्थामा कति प्रोजेक्ट छन् मलाइ ज्ञान छैन र संघले रिपोर्ट सार्वजनिक गरेको छैन या मैले पाइन त्यो थाहा भएन महोदय। एनसीसीहरुको ७६ काम र कमिटीहरुको १०६ काम जोड्ने हो भने १८२ वटा प्रोजेक्ट हुनेथियो अध्यक्ष महोदय। त्यो भएको छैन महोदय, घाटा भएन र महोदय ?  

उसो त मलाइ कसैको कामको मापन मेरो डोरीले गर्नुछैन। म त्यो दर्जाको एनआरएनएको अधिकारी पनि होइन। तर पनि संघकै कुरा गर्ने हो भने लहै-लहैमा एकाथरी व्यक्तिहरु पद पाउन मरिमेट्ने र पाएको कुरा छोड्दै नछोड्ने छन्। कुहिएको आलु भएपनि ठुसा ठुसा गनाउँदै त्यो आलु बोकेर बस्छन महोदय। अनि अर्काथरीको कुहिएको आलुको बोराबाट टाढा रहने, शान्त बस्ने,  संघप्रति वास्तै नगर्ने अवस्था छ अध्यक्ष महोदय। एनआरएनए संस्था भनेको नेपाल बाहिरका सबै नेपालीको हुनुपर्नेमा त्यसो नभएको आभास भएको छ अध्यक्ष महोदय।

धेरै एनसीसीहरु बिचलित र ट्रयाक आउट भएका छन् महोदय। एनसीसी अमेरिकाकै कुरा गर्दा, अमेरिकी हेजिमनि बुझेर संसारलाइ उदाहरणिय काम गरेर शशक्त हुनुपर्नेमा सबैभन्दा दुर्गन्ध फैलाउने फुटेको हाँडी जस्तो एनसीसी भएको छ महोदय। केहि भन्यो भने तेरो लाइभ मेम्बरशिप खाइदिन्छु, तँलाई कार्यसमितीबाट सस्पेन्ड गर्दिन्छु भनेर पत्र काट्छन महोदय यहाँ त अचम्मै भएको छ नबोले इज्जत जाने बोले गाली खाने भएको छ महोदय अन्याय होइन अत्याचार नै भएको छ ।

हार्डड्राइभकै भए पनि १४/१५ हजार रजिस्टर्ड मेम्बर भन्छन तर फ्रीमा आइसीसीले दिएको मेम्बर आइडि दिने प्रचार गरेको एक वर्ष भयो तर ऐले सम्म ४०० जनाले पनि निशुल्क कार्ड लिएनन महोदय। अब रियल मेम्बर कति होला त महोदय ? यस्तो कुरा उठायो भने संघको बिरोधी भनिन्छ, लाइभमा आएर भुक्छन, अध्यक्ष जस्तो मान्छेले फलानो र धिस्कानोलाई डिपोर्ट गराइदिन्छु भन्छन रे, कुनी कता-कता मानव तस्करी पनि गर्छन रे महोदय, यो बिन्ति पुराण लेख्दै गर्ने व्यक्ति अमेरिकी नागरिक हो, संघका जिम्मेवार व्यक्ति मातृभूमी जाँदा डिल्ली जिल्ला कि लाल-किला हुँदै जान्छन उल्टै मलाइ डिपोर्टेशनको धम्की दिन्छन महोदय, भनौ भने के भनौ, नभनौ के नभनौ, हासौं भने म त्यो उच्च दर्जाको पटमूर्ख परिन तर पनि यहाँ त बाँच्नै पो गारो छ, एउटा एनसीसीले यसरी नै काम गर्ने हो र अध्यक्ष महोदय ?        

अध्यक्ष महोदय अब अलिकति फरक कुरा गरौँ;

महोदय, हामी सबैलाई थाहा छ यहाँको कार्यकाल गत नोवेम्बर २०१७ देखि सुरुभयो। यहाँले ऐले ८ महिनाको अबधि बिताउनु भएको छ। यो अबधिमा नियमित प्रोजेक्ट बाहेक पद-बहाली, पुनर्बाहाली, गठन-पुनर्गठन, पिकनिक, पजनी, अधिबेशन बाहेक नयाँ काम भएको छ या छैन त्यो थाहा भएन महोदय।

यहाँको महत्वकांक्षी १० अरब रुपैयाँको प्रोजेक्ट पाक्यो कि सुक्यो कुनै अपडेट छैन महोदय। कि त यहाँको मिडिया कमिटीका सहयोद्धाहरु जानुन कि भने यहाँ आफैबाट हृदयमगम होस महोदय। हुन त थुप्रै काम भएका होलान तर पनि मैले कुनै जानकारी पाउन सकिन, एउटा सदस्यको हैसियतले मलाइ त्यो जान्ने अधिकार छ कि छैन थाहा भएन अध्यक्ष महोदय।

प्रत्येक इभन बर्षमा बिधान सभा र अड वर्षमा चुनाब गरौँ भन्ने प्रस्ताव २०१५ को बिधानको छलफल हुँदै गर्दा मैले नै प्रस्ताव गरेको थिएँ अध्यक्ष महोदय। ऐले त्यसै हुने कुराले अलिकति खुसीको टुसो पलाएको छ महोदय।

यति मात्र होइन संस्था ठूलो भयो आर्थिक रुपले पनि कतिन्जेल प्रदाधीकरीहरुको योगदानले धान्ने हो ? त्यसैले अब रिसोर्स डेभलपमेन्ट कमिटी र एकजना रिसोर्श डेभलपर राख्नुपर्छ भन्ने प्रस्ताब पनि २०१५ को विश्व-समेल्लन/अधिवेशनमा मैले नै प्रस्ताब गरेको थिएँ महोदय। त्यसबाट थुप्रै परियोजना र श्रोत बिकास हुन्छ भन्ने अध्ययन मैले गरेको छु अध्यक्ष महोदय। संघका निवर्तमान अध्यक्ष डा शेष घलेको प्रस्तावित NRNA Vision 2020 & Beyond जुन गत विश्व-सम्मेलन/अधिवेशनबाट पास भएको छ। त्यसको पनि धेर-थोर अध्ययन गरेको छु महोदय। अब त्यो हराइगयो जास्तो छ, त्यसको कुरै बन्द गरौँ महोदय।     

मेरो मान्यता भनेको संघ एउटा ब्राण्डको प्रडक जस्तो हुनुपर्छ भन्ने हो महोदय। जस्तो कि संसारमा जता बनाउने कोकाकोला पनि उस्तै स्वाद र डिजाइनको हुन्छ महोदय। कतै नुनकोक, कतै पानीकोक, दुधकोक, दहिकोक र कतै चिनीकोक हुन्न महोदय। गैरआवासीय नेपाली संघ पनि एउटै ब्राण्डको हुनुपर्छ। सबै एनसीसीहरु अर्थात जुन देशमा पनि उस्तै स्वरुपको हुनुपर्छ भन्ने मेरो बुझाइ हो अध्यक्ष महोदय। के हाम्रो संघ पनि त्यस्तो होला त अध्यक्ष महोदय ?

अन्तमा, गैरआवासीय नेपाली संघ भनेको चाडपर्व-सम्मेलन, पिकनिक, ल्होसार र देउसी भैलो मात्रै निरन्तर गर्ने संस्था हो या अरु पनि हो त्यो जानकारी पाइयोस, केहि फरक गर्न प्रयास गरियोस अध्यक्ष महोदय। भन्न त अरु धेरै थियो तर कथा लामो भयो अध्यक्ष महोदय !
आजलाई जादौ !