बैंक तथा वित्तीय संस्थाका सीईओ र सञ्चालकको उमेर हद तोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

0
shares

by Soni Sharma | Updated: 13 Aug 2019

52 views
सर्वोच्च अदालत काठमाण्डौं

२८ साउन काठमाण्डौ।सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकको उमेर हद तोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख भएको सीईओ र सञ्चालकको उमेर हद तोक्ने निर्देशन कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो।प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायणदास मानन्धरले राष्ट्र बैंकको परिपत्र कार्यान्वन नगराउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

यसअघि साउन २० गते राष्ट्र बैंकले निर्देशन जारी गर्दै ६५ वर्ष नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त,पुनःनियुक्त हुन योग्य नहुने र ६९ वर्ष नाघेको व्यक्ति सीईओमा बहाल रहन नसक्ने जनाएको थियो।यस्तै ७० वर्ष नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक पदमा नियुक्त,पुनःनियुक्त र मनोनित हुन अयोग्य हुने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।यस्तै ७४ वर्ष पुगेको व्यक्ति सञ्चालक पदमा बहाल रहन नपाउने पनि राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।