https://www.youtube.com/embed/B3TltZXGjSU

यमबुद्धको नयाँ म्युजिक भिडियो “पागलपन” सार्वजनिक

Hollywood Khabar May 30,2017 Comments

सुकदेव चापागाईं

युवा पुस्ताका चर्चित -यापर गायक भनेर चिनिएका यमबुद्धको भौतिक शरीर यो संसारमा नरहे पनि उनले गाएका गीतहरु हामी माझ लोकप्रिय नै छन्। उनले पछिल्लो समय गाएका “पागलपन” बोलको गीत आज अर्थात् जेठ १६ गते सार्वजनिक भएको छ । 

हुन त उनी जन्मेको दिन पनि जेठ १६ नै हो । तर उनी यो संसारमा नरहे पनि उनी जन्मेको दिनको अवसर पारेर उनको अन्तिम गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। २०४४ सालमा जन्मेका अनिल अधिकारी अर्थात् यमबुद्धको निधन २०७३ माघ १ गते लण्डनमा भएको थियो ।  

पागलपन बोलको गीतलाई नायक तथा निर्माता रेश मरहठ्ठाले निर्माण गरेका हुन् । त्यसो त अभिनेता रेश यमबुद्धका बहिनी ज्वाईं पर्छन्। यमबुद्धकी बहिनी अश्मी अधिकारी र रेशबीच २०७१ सालमा इन्गेजमेन्ट भएको थियो । 

रेशले यो गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । रेशसँगै यो गीतमा चर्चित नायिका प्रियंका कार्की र अशिमा अर्यालले समेत अभिनय गरेका छन् । यो भिडियोको पोष्ट प्रोडक्सन तथा निर्देशन दिनेश जंग रानाले गरेका हुन् । गीतमा म्युजिक भने शैलेश श्रेष्ठले दिएका छन् भने भिडियोको छायांकन राजेन्द्र समनले गरेका छन् । यो गीतको भिडियो अमेरिकामा छायांकन गरिएको हो। पागलपन बोलको गीतको भिडियोलाई सङ्गस नेपालले यु–ट्युब च्यानलबाट सार्वजनिक गरेको छ । 

नेपाली गीत संगीतको क्षेत्रमा बिल्कुलै फरक विधालाई स्थापित गराई यमबुद्धले युवा पुस्ता माझ हिपहप र -याप गीतसंगीतलाई चिनाएका थिए। नेपालमा -याप ब्याटललाई स्थापित गराउने प्रमुख श्रेय उनलाई नै जाने गर्दछ । सन् २००९ मा उनले गाएको साथी बोलको गीतले नै उनलाई युवाहरु माझ पहिलो पटक चिनाएको हो। 

आज जेठ १६ गते सार्वजनिक भएको -यापर गायक स्व. यमबुद्धको अन्तिम म्युजिक भिडियो "पागलपन"