-बालुवाटार

बालुवाटारको सरकारी जमिन बेच्ने भूमाफिया फरार 

Hollywood Khabar April 14,2019 Comments

३बैशाख,काठमाडौं।बालुवाटारस्थित ललितानिवासको सरकारी जमिन बेच्ने भूमाफिया फरार भएका छन्।ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूहनै  फरार भएका हुन् ।

ललितानिवास हिनामिनाबारे छानबिन गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले   ‘भूमाफिया’ भनेर किटान गरेको ललितानिवासको सरकारी जग्गा हडप्नेमध्ये मुख्य योजनाकार डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीको परिवार नै फरार भएको छ।डा. शोभाकान्त, उनकी पत्नी उमा तथा छोरा सन्दीप मोबाइल नम्बर बन्द गरेर भागेको तथा अर्का भूमाफिया रामकुमार उनकी पत्नी माधवी र छोरा विवेककुमार पनि सम्पर्कविहीन अनुसन्धान स्रोतले बतायो।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृतहरू कलाधर देउजा, टीकाराम घिमिरे, मालपोत अधिकृत हुपेन्द्रमणि केसी तथा उनीहरूलाई सघाउने अन्य कर्मचारी पनि भागेको ब्युरो स्रोतले बताएको छ ।  सरकारले ५४ वर्षअघि मुआब्जा दिएर अधिग्रहण गरेको ललितानिवासको जग्गा  राजनीतिक नेता, मन्त्रिपरिषद्का सदस्य, मन्त्रालयका सचिव, मालपोतका कर्मचारी, व्यापारी र भूमाफियाको मिलेमतोमा ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हडपिएको हो ।