नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसीङ

अँध्यारोलाई इतिहास र प्राधिकरणलाई नाफा गर्ने संस्था बनाएँ- कुलमान

Hollywood Khabar September 14,2019 Comments

३० भदौं,काठमाडौं।नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको तीन वर्ष पूरा भएको छ।मैले जिम्मेवारी सम्हाल्दा वर्षामा समेत ८ घण्टाको लोडसेडिङ ब्यहोरिरहनु परेको थियो।प्राधिकरण झण्डै ९ अर्ब रुपैयाँ वार्षिक खुद घाटामा थियो। हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो ।

तर, प्रधानमन्त्री, ऊर्जामन्त्री, ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्यहरु, राजनीतिक तथा प्रशासनिक नेतृत्व, आम कर्मचारी र आम उपभोक्ताको साथ र सहयोगमा सम्झँदै कहालीलाग्ने त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै अहिले उज्यालो युग सुरुवात गर्न सफल भएका छौं ।

एकातर्फ लोडसेडिङ इतिहासमा विलय भई नियमित विद्युत् आपूर्ति हुन थालेपछि पछिल्ला वर्षमा मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक छ भने अर्कोतर्फ प्राधिकरणले सम्पूर्ण क्षेत्रमा सुधार मात्र होइन, उल्लेखनीय फड्को पनि मारेको छ ।

तीन वर्षअघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिब १५० युनिट रहेकोमा अहिले नियमित विद्युत् आपूर्ति हुन थालेपछि बढेर करिब २४५ युनिट पुगेको छ।विभिन्न कारणले रुग्ण बनेका जलविद्युत् उत्पादन, प्रसारण र वितरणका आयोजना निर्माण सम्पन्न भएका छन्। तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन,अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणले ठूलो सफलता हात पारेको छ । आफ्नो आम्दानी बढाउँदै लगेर प्राधिकरण मुलुककै सबैभन्दा बढी आम्दानी गर्ने संस्था बनेको छ ।