‘भ्यु टावर’ बनाउने प्रवृत्ति राम्रो भएन : पर्यटन विज्ञ

भ्यु टावर’ बनाउने प्रवृत्ति राम्रो भएन :पर्यटन विज्ञ

Hollywood Khabar February 12,2022 Comments

दृश्यावलोकन स्तम्भ ‘भ्यु टावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गरेका छन् ।  त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एसोसिएशनद्वारा आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक छलफलमा सहभागी विज्ञहरुले दृश्यावलोकन बनाउने लगानी पर्यटन प्रवर्द्धनका अन्य क्षेत्रमा  लगाउन पालिकालाई आग्रहसमेत गर्नुभयो ।  

निजी क्षेत्रसँग समन्वय गरी प्रदेश र पालिकामा रहेको बजेटमार्फत पर्यटन क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माण गर्न सकिने उहाँहरुको भनाइ थियो । उहाँहरूले नेपालमा पर्यटन विषय अध्यापन गराउन दर्जनौँ शिक्षण संस्था सञ्चालनमा रहे पनि आवश्यक जनशक्ति उत्पादन हुन नसकेको, त्रिवि र अन्य शिक्षण संस्थाले दिने प्रमाणपत्र र बजारको मागका बीचमा ठूलो खाडल रहेको पनि औँल्याउनुभयो ।  पर्यटन क्षेत्रमा नयाँ–नयाँ सीपयुक्त जनशक्ति आवश्यक पर्नेमा त्यसअनुसारका जनशक्ति उत्पादन हुन नसकेको र यस सम्बन्धमा शिक्षण संस्था र पर्यटन व्यवसायीबीच छलफलसमेत हुन नसकेको भनाइ उहाँहरूको थियो ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रमा नयाँ–नयाँ अवधारणा आइरहे पनि त्यसअनुसारको नीति र कोभिड पछाडि पर्यटन क्षेत्रलाई अगाडि बढाउने नयाँ रणनीतिका बारेमा समेत छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो,ुमहामारीले पर्यटन क्षेत्रलाई पारेको असरलाई माथि उठाउन सबैको ध्यान जानुपर्छ । सरकारले विशेषरूपमा निजी क्षेत्रलाई सहुलियत प्रदान गरी थप लगानीमैत्री वातावरण तयार गर्दै जानुपर्छ ।

पर्यटन मन्त्रालयका पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले सरकारले कोभिडका कारण रुग्ण बनेका पर्यटन क्षेत्रका उद्योगका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,ुआर्थिक समृद्धिको आधार नै पर्यटन क्षेत्र भएकाले यसलाई माथि उठान विशेष नीतिका साथ कार्यक्रम ल्याउन जरुरी छ ।

प्रा डा रिदिश पोखरेलले वैदशिक मुद्रा आर्जनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने सम्बन्धमा राज्यले पर्याप्त लगानी नगरेको बताउनुभयो । - रासस