जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टको अपिल

Hollywood Khabar February 28,2017 Comments

नेपाली जनसम्पर्क समिती अमेरिकामा आवद्ध सम्पूर्ण साथीहरु;
जय नेपाल
यस समितिको प्रथम वार्षिक साधारण सभा आगामी अप्रिल २२, २०१७ शनिवारका दिन भर्जिनियाको मनासासमा सम्पन्न गर्न लागिएको हामी सम्बन्धित सबैलाई सहर्ष जानकारी गराउन चाहन्छौं। यसका लागि अहिले साधारण सभा मूल व्यवस्थापन समितिले प्रारम्भिक कार्य सुरु गरिसकेको छ।

यो साधारण सभा नेपाली जनसम्पर्क समिति,अमेरिकाको इतिहासमा एउटा नयाँ अध्याय हुनेछ। सन् २०१४ को नोभेम्वरमा टेक्सासमा भएको केन्द्रीय अधिवेशनपछि नेपाली जनसम्पर्क समिति,अमेरिकाका सबै च्याप्टर र केन्द्रका पदाधिकारी र सदस्य एवं शुभेच्छुक साथीहरु हामी यही साधारण सभामा फेरि  प्रत्यक्ष भेटघाट गर्दैछौं।यही साधारण सभाले समितिको भावी कार्यदिशा समेत तय गर्नेछ। समितिको विधान,सांगठनिक गतिविधि,स्वरुप र संरचनामा आवश्यक थपघट र परिमार्जन गर्ने लगायत समितिको अर्को अधिवेशनका लागि च्याप्टरहरुको अधिवेशनको मितिमा एकरुपता दिने,च्याप्टर गाइडलाइनलाई पास गर्ने,केन्द्रीय अधिवेशनको मिति तय गर्ने र संगठनका सबै विषयलाई सम्बोधन गर्ने एकमात्र थलो यो साधारण सभा हुनेछ। यसका लागि मातृपार्टी नेपाली कांग्रेसका सभापति आदरणीय श्री शेरबहादुर देउवाज्यू आफैं सहभागी हुन उत्सुक समेत हुनहुन्छ। उहाँले नै साधारण सभा उद्घाटन गर्ने गरी तयारी प्रयास जारी राखिएको छ।

समितिलाई अमेरिकी कानुन अनुसार कसरी परिचालित गर्ने, अमेरिकाको नेपाली समुदायको हितका लागि समितिले कसरी सेवा प्रदायक काम गर्ने, मातृभुमि नेपालको लोकतन्त्र,मानव अधिकारको सम्वर्द्धन र प्रवर्द्धनमा हाम्रो योगदान के कस्तो रहने, मातृभूमिको आर्थिक विकासमा हाम्रो भूमिका र योगदान कस्तो हुन सक्ने, नेपाल र अमेरिकाबीचको जनस्तरको सम्बन्धमा समितिको योगदान कस्तो हुने,समितिलाई भावी दिनमा कुन दिशामा लैजाने जस्ता विषयहरु पनि यो साधारण सभाका छलफलका विषय हुनेछन्। यही साधारण सभाले नै समितिको भावी स्वरुप र संरचना तय गर्नेछ।
त्यसैले, आउनुस् हामी सबै पहिलोपटक हुन लागेको समितिको यो वार्षिक साधारण सभामा सहभागी भएर संगठन निर्माणमा योगदान गर्न जुटौं। साधारण सभा संगठनमा क्रियाशील रहने सबैका लागि उत्तिकै महत्वपूर्ण छ। यो नै एकमात्र आधिकारिक थलो हो हाम्रा आन्तरिक विषयहरुमा छलफल र बहस गरी संगठनलाई कस्तो स्वरुप दिने भन्ने बारे निर्णय गर्न। तसर्थ हामी सबै जुटौं,हातेमालो गरौँ र नेपाली जनसम्पर्क समिति,अमेरिकाको संगठन निर्माणको यो थलोमा सहभागी बनौं।

जय नेपाल

आनन्द विष्ट
सभापति एवं नेपाली जनसम्पर्क समिति, अमेरिका परिवार