भूकम्पको ६ वर्षपछि काष्ठमण्डप पुनर्निर्माण सम्पन्न

भूकम्पको ६ वर्षपछि काष्ठमण्डप पुनर्निर्माण सम्पन्न

Hollywood Khabar December 29,2021 Comments

विसं २०७२ को भूकम्पका कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम सकिएको छ । उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको रु ११ करोड ५० लाख सहयोगमा स्थानीय उपभोक्ता समिति मार्फत निर्माण भएको हो ।

आगामी माघ २ गते भूकम्प दिवसका दिन उद्घाटनको तयारी भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । उद्घाटनकै दिन काष्ठमण्डपको ऐतिहासिक महत्व र पुनर्निर्माणका क्रममा भएको जानकारी समावेश गरिएको पुस्तक प्रकाशनको तयारी रहेको शाक्यले बताए । 

भूकम्पका कारण पूर्णरूपमा क्षति भएको उक्त सम्पदा ६ वर्षपछि पुनर्निर्माण गरिएको हो । विसं २०७५ वैशाख १६ गतेदेखि पुनर्निर्माणको काम समितिमार्फत सुरु गरिएको थियो । पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा काठबाहेक ढुङ्गा, माटो, इँटालगायतका सामग्री प्रयोग गरिएको छ ।

त्यसैगरी भूकम्पका कारण क्षति भएका विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रको हालसम्म ३० सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । यहाँ ७० सम्पदामध्ये १२ मा भूकम्पले क्षति गरेको थिएन । भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २५ को पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।  रासस